रुपन्देहीमा एसियाकै ठूलो अस्ट्रिज चराको व्यावसायिक फार्म

रुपन्देहीमा एसियाकै ठूलो अस्ट्रिज चराको व्यावसायिक फार्म स्थापना गरिएको छ । अफ्रिकी मुलुकमा पाइने अस्ट्रिजको व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो फार्म हो ।

गंगोलिया–१ मा १३ महिनाअघि ६ जना व्यवसायीले स्थापना गरेको यस फार्ममा हालसम्म ३० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालकले बताएका छन् । अस्ट्रिज उड्न नसक्ने प्रजातिमा सबैभन्दा ठूलो चरा हो । उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने र छाला, बोसो र प्वाँखलाई विदेशी बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्यसहित फार्म खोलिएको अस्ट्रिज नेपाल प्रालिका सदस्य सिपी शर्माले बताए । व्यवसायी सिपी शर्मा, विष्णुप्रसाद ज्ञवाली, डा. शर्मिला शर्मा तथा चितवनका तिलकराज कँडेल, राजेश्वरी कँडेल र रौनक कँडेलको संयुक्त लगानी रहेको यस फार्मको अधिकृत पुँजी १० करोड र चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । फार्ममा हालसम्म ३० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक शर्माले जानकारी दिए ।
फार्ममा हाल करिब १ हजार अस्ट्रिज चरा छन् । जसमा १३ महिनाका अवधिका १ सय ८० र २० दिनदेखि डेढ महिनाका ८ सय बच्चा छन् । २० बिघा जग्गामा फार्म सञ्चालन गरिए पनि अस्ट्रिज चराको प्रमुख आहारका रूपमा मानिने घाँस उत्पादनका लागि ४० बिघा आफ्नै जग्गा र किसानले छुट्टै सयौँ बिघा जग्गामा घाँस उत्पादन सुरु गरेका छन् । अस्ट्रिजका लागि लेगुम नामक घाँस प्रमुख आहाराका रूपमा मानिएको छ ।
सञ्चालक शर्माका अनुसार अस्ट्रिजको आहाराका रूपमा ६० प्रतिशत घाँस र ४० प्रतिशत दानाको प्रयोग हुन्छ । उड्न नसक्ने सबैभन्दा ठूलो प्रजातिको मानिए पनि अस्ट्रिज चरा प्रतिघन्टा ७० देखि ८० किलोमिटरको गतिमा दौडिन्छ । ८० वर्ष आयु र ५० वर्षसम्म उत्पादन दिन सक्नु नै यस चराको व्यावसायिक आकर्षण भएको शर्माले बताए । ‘पोथीले दुई वर्षमा अन्डा दिन सुरु गर्छ, ५० वर्ष राम्रो उत्पादन दिन सक्ने एउटा पोथी अस्ट्रिजले एक सिजनमा ३० देखि १२५ सम्म अन्डा दिन सक्छ भने जीवनभर करिब ४ हजार अन्डा दिन सक्छ,’ उनले भने ।
अस्ट्रिज अफ्रिकन ओर्जीन जंगली चरा भए पनि यसलाई व्यावसायिक रूपमा पहिलेदेखि नै पाल्न सुरु गरिएको हो । विज्ञहरूका अनुसार अफ्रिकाबाहिर भने १९८० को दशकबाट मात्र पाल्न सुरु गरिएको हो । जसमा अफ्रिकी मुलुकपछि इजरायल पहिलो अस्ट्रिज पाल्ने मुलुकका रूपमा चिनिन्छ ।
त्यस्तै दोस्रो चरणमा उत्तरी अमेरिका, क्यानडा, बेलायत, उत्तरी युरोप, अस्ट्रेलियाका साथै एसियन मुलुकमा चीन, जापान, उत्तर कोरिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकले अस्ट्रिजको व्यावसायिक फार्म सञ्चालन गरेका छन् ।
अस्ट्रिजको मासु रातो र स्वस्थकर हुने, अन्य मासुको तुलनामा सबैभन्दा कम कोलेस्ट्रोल र बोसो हुने कारण यसको विश्वबजारमा क्याटल मिटभन्दा धेरै गुणा बढी मूल्यमा बिक्री हुने गर्छ । यसको प्वाँखबाट हाइटेक डस्टर, कार्निमल ड्रेस, फेसन ड्रेस, छालाबाट उच्चस्तरीय फेसन वेयर, ब्याग, बेल्ट, जुत्ता बनाइने र बोसोबाट उच्चकोटिको स्किन केयरमा प्रयोग हुने र जुन छालाका लागि औषधिका रूपमा काम गर्ने भएकाले यसको माग उच्च छ ।
अस्ट्रिज नेपाल प्रालिले यस वर्ष १ टन, आगामी वर्ष १५ टन, सन् २०१३ मा २ सय टन र २०१४ मा २ हजार ५ सय टन मासु उत्पादन गर्ने लक्ष्य लिएको सञ्चालक शर्माले बताए । अस्ट्रिजको तौल १ सय ५० देखि २ सय ५० किलोसम्म हुने गर्छ । पशु चिकित्सक डा. रेवन्त भट्टराईले जुनुसुकै वातावरणीय प्रभावलाई पनि सहन सक्ने र रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले कुखुरा र अन्य पक्षीजन्य चरामा लाग्ने रोगले अस्ट्रिजलाई कुनै असर नगर्ने बताए ।
बिष्णु पौडेल / बुटवल