दुई दशकभित्र चीनले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने

विश्व आर्थिक महासम्मेलनमा चिनियाँ अर्थशास्त्रीहरूले विश्वकै ठूलो अर्थतन्त्रमा चीनले अमेरिकालाई आगामी एकदेखि दुई दशकभित्र उछिन्ने प्रक्षेपण गरेका छन् ।
चीनका प्रसिद्ध अर्थशास्त्री स्कुल अफ इकोनोमिक्स एन्ड म्यानेजमेन्ट (एसईएम) का डीन क्विवान यिङ्यीले क्रयशक्ति समताका आधारमा २०२०अगावै चीन निश्चित रूपमा विश्वकै ठूलो अर्थतन्त्र हुने दाबी गरे ।
अन्तर्राष्ट्रिय आर्थिक संघ (आईईए) को १६ औं विश्व सम्मेलनको क्विवानले उक्त कुरा बताएका हुन् । यो सम्मेलनमा विश्वका सुप्रसिद्ध अर्थशास्त्रीहरू जोसेफ ई स्टिगलिज, इरिक मास्किन, मासाहिको अकी र वु जिङलिन सहभागी छन् ।
२००९ मा चीनको अर्थतन्त्र अमेरिकाको ३५ प्रतिशत अर्थात् झन्डै ४.९ ट्रिलियन अमेरिकी डलर थियो । सो अमेरिकी अर्थतन्त्रको आकार १४ ट्रिलियन डलरको रहेको थियो ।
चीन र अमेरिकाबीचको वृद्धिदर फरक कम्तीमा पनि ५ प्रतिशत रहेमा र अमेरिकी डलरको तुलनामा युआनको वार्षिक वृद्धिदर २ प्रतिशत रहेमा चीनले अमेरिकालाई १६ वर्षअगावै अर्थात् २०२५ मा उछिन्ने क्विवानको प्रक्षेपण छ ।

चीन २०१० मा जापानलाई उछिन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको थियो । जापानलाई उछिन्नु पाँच वर्षअगाडि चीनको अर्थतन्त्र जापानको ठ्याक्कै आधा थियो ।
विगत ३२ वर्षको अवधिसम्म चीनको अर्थतन्त्र वार्षिक ९ प्रतिशत भन्दा माथिको हाराहारीमा वृद्धि भएको छ ।
क्विवानका अनुसार चीनको आर्थिक वृद्धिमा बृहत् अर्थतन्त्रको स्थायित्वलगायत प्रशस्त संख्याका तत्वहरूले सहयोग गरेको छ । यसमा उच्च सेवा दर, लचक श्रम बजार र खुला नीतिहरू रहेका छन् ।
यो वृद्धि बाबजुद पनि चीनको प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा अझै एकतिहाइभन्दा कम रहने उनले बताए ।
२००७ को  अर्थशास्त्रका लागि नोबेल पुरस्कार विजेता इरिक मास्किनले १९८० देखि १९९० को दशकसम्म हार्भाड युनिभर्सिटीमा क्विवानको कामलाई अनुगमन गरेका थिए ।