खेलाडी पलायन सरकार जिम्मेवार वा खेलाडी ?


हाम्रो देशमा लाखौँ युवा प्रति वर्ष उच्च अध्ययन र आकर्षक रोजगारीको चाहना राखेर अमेरिका, बेलायत, अस्ट्रेलिया, खाडीलगायत विभिन्न देशमा पलायन भएका छन् । काम जति नै गाह्रो भए पनि र आफन्तजनबाट वर्षौँ टाढा बस्नु परे पनि आकर्षक तलब र उच्च जीवनस्तरको चाहना नेपालीहरू विदेश पलायनका हुनाका प्रमुख कारण हुन् । पलायनको क्रममा देशबाट उचित मानसम्मान पाएका खेलाडीहरू पनि थुप्र रहेका छन् ।
नेपालमा खेलकुदमा लागेर के नै हुन्छ र ? यो नेपाली खेल जगत्मा गुञ्जिरहने गरेको आमगुनासो हो । यही नकारात्मक सोच र असन्तुष्टिले कतिपय नेपालीलाई बेलामौकामा दुस्साहसीसमेत बनाउने गरेको छ । नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको क्रममा देश र खेलजगत्कै प्रतिष्ठालाई तिलाञ्जलि दिएर विदेशमै लुक्ने गरेका छन् । खेलाडीहरूको पलायनले अत्यन्त नकारात्मक टिप्पणीको जन्म भएको छ- नेपालमा खेलाडी बन्ने भनेको नै विदेशमा पलायन हुन सहज बनाउन बाटो खोलिदिने हो ।
सन् १९९४ को विश्वकपका लागि एसियाली समूहको छनोट चरण खेल्न जापान पुगेका नेपाली फुटबलरमध्ये राजेश थापा, सौगेश श्रेष्ठ, बबिन विष्ट र नरेन्द्र श्रेष्ठ नेपाल फर्केनन् । यो नेपाली खेलकुद वृतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा खेलाडी लुकेको पहिलो घटना थियो । त्यसपछि बुसान एसियाडमा त नेपालकै बेइज्जत नै भयो । दक्षिणकोरियाको बुसानमा खेल्न गएका एक दर्जन नेपाली खेलाडी स्वदेश फर्केनन् । बक्सिङका आठ खेलाडीमध्ये रामचन्द्र थापा मगर, रमेशदास श्रेष्ठ, सुवर्ण सापकोटा, तेजबहादुर थापा मगर, अर्जुनकुमार तामाङ, रमेश श्रेष्ठ र कुमार अधिकारी तथा जुडोका सम्पूर्ण खेलाडी नरेन्द्र डङ्गोल, मोहन सुनुवार र हरिकुमार लामा मात्र होइन सुटिङकी माया सुनुवार, भारोत्तोलनका रोशन नकर्मी, एथलेटिक्सका सीताराम महतो, उसुका वीरेन्द्र विक तथा श्याम विष्ट पनि उतै गायब भए । तीमध्ये कति त खेल खेल्न रिङसम्म पनि पुगेनन् । यी दुई घटना नेपाली खेलाडी पलायनका दुई दाग हुन् ।
सम्भवतः त्यसैले गत महिना भलिबल खेलाडी मञ्जु गुरुङलाई दक्षिणकोरियामा आयोजित सम्मान कार्यक्रममा बोलाउँदा दक्षिण कोरियाली राजदूतावासले उनलाई भिसा दिएन । सम्मान कार्यक्रमको आयोजक थियो, दक्षिणकोरिया पलायन भएका नेपाली खेलाडीको समूह ।
यसैगरी, नेपालका सर्वश्रेष्ठ खेलाडीको रूपमा रहँदा एथलेटिक्स खेलाडी निर्मला भारती र कान्छीमाया कोजू पनि नेपालको प्रतिनिधित्व गर्ने क्रममा जर्मनी र जापानमा लुकेका थिए । यद्यपि कोजू नेपाल फर्किसकेकी छिन् ।
दुई वर्षअघि मात्र नेपालका शीर्ष खेलाडी बलराम थापा, पशुपति पनेरू र सुमिना श्रेष्ठ एकैपटक अमेरिका पलायन भएपछि नेपालको ब्याडमिन्टन अहिले धेरै पछाडि धकेलिएको छ । यिनीहरू त केही उदाहरण मात्र हुन् ।
नेपालीले आप्रवासका लागि सबभन्दा पहिले अमेरिकालाई नै रोज्छन् । नेपाली खेलाडीको पहिलो रोजाइ पनि अमेरिका बनेको छ । तेक्वान्दोका मात्र ३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका नेपाली प्रशिक्षक तथा खेलाडी अमेरिकामा छन् । दक्षिणकोरियामा सन् १९८८ मा ओलम्पिक खेलमा नेपाललाई प्रदर्शन खेलमा भए पनि काँस्य पदक दिलाउने एक मात्र खेलाडी विधान लामा र एसियन गेममा नेपाललाई रजत पदक दिलाउने प्रथम खेलाडी सविता राजभण्डारीजस्ता खेलाडी अमेरिकामा बसोबास गर्छन् ।
यस वर्ष विधान लामाले स्वदेश र्फकंदा नेपाली तेक्वान्दोलाई आर्थिक सहयोग गरेर आफूले अझै पनि नेपाली खेलकुदलाई बिर्सन नसकेको छनक दिलाए । त्यसबेला ओलम्पिकमा पदक विजेता विधान लामाले नेपालका लागि धेरै परिश्रम गरे पनि राष्ट्रले खेलाडीलाई दिनुपर्ने उचित सम्मान दिन नसकेपछि आफू विदेशिएको बताएका थिए । उनले त्यसबेला अमेरिकामा तेक्वान्दो खेलाडीले विदेशमा पनि आˆनो पेसा गतिलै ढङ्गले निर्वाह गरेको जानकारी पनि दिएका थिए । तेक्वान्दो प्रशिक्षक दीवाकर महर्जन मात्र होइन, सीता राई, रेणुका मगर, कुमारी कार्की तथा लव गोर्खाली पनि अमेरिकामा तेक्वान्दो सिकाउँछन् ।
अमेरिकामा तेक्वान्दो मात्र होइन, फुटबल, एथलेटिक्स, कराँते, ब्याड्मिन्टनलगायत प्रायः खेलका राष्ट्रिय खेलाडी छन् । फुटबलका राष्ट्रिय खेलाडीहरू उमेश प्रधान, दीपक अमात्य, देवनारायण चौधरी, राजन रायमाझी, प्रलय राजभण्डारी, वसन्त थापा, प्रशान्त गिरी, राजकुमार श्रेष्ठ पनि लामो समयदेखि अमेरिकामा नै छ । यसैगरी, कराँतेका थानेश्वर राई, समरबहादुर गोल, जनक सुवेदी पनि केही प्रमुख नाम हुन् ।
अमेरिकापछि नेपाली खेलाडीहरूको सबभन्दा बढी जमात दक्षिण कोरियामा भएको मानिन्छ ।
हुन त सबै खेलाडी अन्तर्राष्ट्रिय सहभागिताकै क्रममा विदेश पलायन भएका होइनन् । खेलाडीहरू अन्य विभिन्न बहानामा पनि विदेश छिरेका छन् तर खेलाडीहरूले विदेशमा प्रवेश पाउने प्रमुख पक्ष भने उनीहरूको खेल जीवन नै हो ।
यसैले अहिले विकसित राष्ट्रहरूमा प्रतियोगिता आयोजना हुँदा नेपाली खेलाडीलाई सहभागी गराउन ती देशले दुई पटक सोच्ने गर्दछन् । सहभागिताको क्रममा उतै रोजगारको थलो बनाएपछि खेलाडीप्रतिको दृष्टिकोणमा परिवर्तन आउनु अस्वाभाविक पनि होइन । यसले गर्दा नेपाली खेलाडीहरू धेरै स्तरीय प्रतियोगिताहरूमा सहभागिताबाट वञ्चित हुँदै आइरहेका उदाहरण पनि छन् ।
परिवारको माया, देशले दिएको मानसम्मानलाई लत्याएर खेलाडीहरू किन विदेशमा दुःख गर्न जान्छन् ? यसको जवाफ सहज छ । नेपालमा सुरक्षित भविष्य नदेखेर नै खेलाडीहरू विदेश पलायन हुने गरेका छन् । सरकार सधैँ खेलाडीलाई राज्यको गहना भन्दै भाषण गर्दछ तर उनीहरूको जीवनयापन र भविष्यप्रति सरकारले कहिल्यै गम्भीर ध्यान दिएन । अहिले स्वदेशमा रहेका खेलाडीहरू पनि राष्ट्रले खेलाडीप्रति देखाउने बेवास्ता र आˆनो अनिश्चित भविष्यका कारण विदेश पलायनको अपि्रय निर्णय लिन बाध्य हुने बताउँछन् ।
एकजना खेलाडी उत्पादनमा देशले धेरै श्रम, पसिना, अर्थ र समय लगानी गरेको हुन्छ । त्यसैले खेलाडी पलायनले देशलाई ठूलो धक्का पुगिरहेको छ । यसबारेमा सरकारी संयन्त्रको मौनता आश्चर्यजनक विषय बनेको छ । खेलाडीले पनि प्रतिष्ठा र नामलाई नभई दामलाई प्राथमिकता दिइरहेको देखिन्छ । यद्यपि नेपालमा दीपक विष्ट र सङ्गिना वैद्यजस्ता 'सुपरस्टार' खेलाडी पनि छन्, जसले 'पलायन' का पर्याप्त सम्भावना/अवसरलाई नकार्दै नेपाललाई नै कर्मभूमि बनाइराखेका छन् । यसमा पनि डरलाग्दो पक्ष छ, उनीहरूमा विदेश पलायन हुने खेलाडीप्रति कुनै गुनासो नहुनु ।
ओलम्पियन सङ्गिना भन्छिन्- खेलाडीहरूमा सबभन्दा पहिलो लक्ष्य तक्मा झुन्ड्याउने नै हुन्छ । व्यक्तिगत भविष्यप्रति सचेत हुनुपर्दा नै उनीहरू पलायन हुने गरेको देखिन्छ तर पनि खेलाडीहरूले व्यक्तिगत स्वार्थबाट माथि उठी आफूमाथिको लगानीबारे सोचेको देखिँदैन ।
नेपाली खेलकुदकै सर्वाधिक सफल खेलाडीमध्ये एक दीपक र सङ्गिनालाई विदेशमै बस्ने प्रस्ताव नआएको पनि होइन । "बैंककमा एसियन तेक्वान्दोमा पदक जितेपछि मलाई अमेरिका जाँदा त्यहाँ टेक्सासमा बस्ने प्रस्ताव आएको थियो । म चाहे अहिले पनि जान सक्छु तर मलाई यहाँसम्म पुर्‍याउन राष्ट्रले ममाथि ठूलो लगानी गरेको छ । यसैले म सकेसम्म यहाँ बसेर गुण तिर्न चाहन्छु, सङ्गिनाको भनाइ छ । हुन पनि तेक्वान्दोबाट सन्न्यास लिएपछि सङ्गिना प्रशिक्षकका रूपमा नयाँ तेक्वान्दो खेलाडी उत्पादन गर्ने अभियानमा छिन् ।
नेपाली खेलाडी विदेश पलायन हुनुमा खेलाडीभन्दा सरकार बढी दोषी देखिन्छ । पछिल्लो समयमा युवा शक्ति पलायन रोक्न ठूलाठूला कुरा नभएका पनि होइनन् तर सरकारले सार्थक प्रयास गरेको देखिँदैन । सरकार यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।
यसैगरी, विदेशिने खेलाडीले पनि यस्तो प्रवृत्तिले नवआगन्तुक खेलाडीहरूमा नराम्रो असर पार्छ भन्ने बुझ्नु जरुरी छ ।
युवामञ्च प्रजित शाक्य