अस्ताए एप्पलका स्टिभ जब्स

-आशिष लुइँटेल
प्रविधि आकाशमा बुधबार साँझ एउटा दुःखद क्षण आयो, एप्पलका सहसंस्थापक तथा अध्यक्ष स्टिभ जब्स यो संसारबाट बिदा भए । उनी ५६ वर्षका थिए । एप्पल विश्वकै सबैभन्दा धनी प्रविधि उत्पादक कम्पनी हो ।
जब्स प्यान्त्रिmयाटिक क्यान्सर पीडित थिए । यही रोगका कारण सन् २००४ मा उनी हस्पिटल भर्ना भएका थिए । डाक्टरको प्रत्यक्ष निगरानीमा उनी कम्पनीको काम गर्दै आएका थिए । दुई वर्षअघि उनको कलेजो प्रत्यारोपण गरिएको थियो । गत जनवरीदेखि उनी पूर्णतः अस्पतालमै भर्ना भएका थिए । त्यसको दुई महिनापछि गत मार्चमा उनले संसारलाई चकित पार्दै कम्पनीको नयाँ प्रविधि आइप्याड टु घोषणा गर्न आएका थिए । 'म उपचारकै क्रममा छु,' घोषणा कार्यक्रममा उनले भनेका थिए, 'आफ्नै कन्सेप्टमा बनाइएको यो (आइप्याड टु) बारे जानकारी दिन नआइबस्न सकिनँ ।' त्यसपछि गत जुनमा उनी सार्वजनिक कार्यक्रममा झुल्किए, अनलाइन स्टोरको नौलो आयाम आइक्लाउड घोषणा गर्न । यो नै उनको अन्तिम सार्वजनिक उपस्थिति रह्यो ।

सन् १९७६ मा कुपर्टिनो काल्फमा स्टिभ वजनायकसँग मिलेर जब्सले एप्पल कम्पनी खोलेका थिए । १९८४ मा ल्याइएको म्याकिन्टोसले कम्पनीलाई स्थापित नै गरायो तर त्यसलगत्तै कम्पनीका तत्कालीन प्रमुख कार्यकारी जन स्कुली र स्टिभबीच तीतोपन आयो, कतिसम्म भने एक वर्षपछि स्टिभलाई कम्पनीबाट निकालियो । त्यसपछिका वर्षहरूमा आफ्ना केही समर्थकहरूको सहयोगमा उनले 'नेक्स्ट' कम्प्युटर कम्पनी खोले, जसले खासै बजार लिन सकेन । लगत्तै उनले लुकासफिल्म कम्पनीको ग्राफिक्स डिभिजन किने र त्यसलाई नै पिक्सार नामक एनिमेसन स्टुडियोका रूपमा विस्तार गरे । १९९६ मा फेरि एप्पल फर्किपछि, उनी उत्पादन प्रमुख बने । र, कम्पनीको छविलाई अझ प्रगाढ पारे । पछि आइपोड, आइट्युन्स, आइफोन र आइप्याडको उत्पादनसँगै कम्पनीभन्दा बढी जब्सलाई कजारमा रुचाउन थालियो । उनको निधन भएको खबरले सारा प्रविधि जगत् स्तब्ध बनेको छ ।
कम्पनीले विज्ञप्तिमार्फत जब्सको निधन भएको खबर सार्वजनिक गरेको हो । 'जब्सको मृत्यु भएको घोषणा गर्नुपर्दा हामी मर्माहत भएका छौं,' विज्ञप्तिमा भनिएको छ, 'स्टिभको बौद्धिकता, लगाव र ऊर्जा अतुलनीय उत्साहको स्रोतका रूपमा लिइरहने छौं र उनले हामी सबैको जीवन सुधारिदिएको कुरा कसैगरी भुल्न सक्दैनौं ।' गत अगस्टमा कम्पनीले जब्स कार्यकारी प्रमुखमा नरहने तर अध्यक्षका रूपमा काम गरिरहने बताएको थियो । अध्यक्ष पद यसअघि कम्पनीमा थिएन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले, 'थोरै अलौकिक अमेरिकीमध्येका एकको निधन' ले आफू दुखित बनेको बताए । माइक्रोसफ्ट सहसंस्थापक बिल गेट्सले 'जब्ससँग काम गर्न पाउनेहरू भाग्यमानी' भनी 'स्टिभलाई सधैं सम्झिरहने' उल्लेख गरे ।
नेपालमा पनि धेरैले उनको निधनमा शोक मनाए र उस्तै सन्देश टि्वटर तथा फेसबुकमार्फत प्रवाहित गरे । पत्रकार सोमेस बर्माले टि्वटरमा, 'स्टिभले कति धेरैलाई जागिर दिलाए होलान् ?' भनी सम्झिए । रेडियोकर्मी आशिष स्याङ्देनले 'सायद स्वर्गमा भगवान्लाई पनि एप्पलका उत्पादन चाहिएकाले स्टिभलाई लगेका होलान्,' टि्वटेका छन् ।