भ्रष्टाचारको शिखर आरोहण

-लक्ष्मण गाम्नागे
भ्रष्टाचारको विश्व रेकर्डमा नेपाल १ सय ५४औँ स्थानमा उक्लिन सफल भएकामा हामी नेपाली जनता अत्यन्तै गौरवान्वित भएका छौँ । हामीलाई यो गौरव प्रदान गर्ने हाम्रा परम् आदरणीय नेतागणप्रति हामी नतमस्तक छौँ । हाम्रा नेता र दलहरूको लामो संघर्ष र अनवरत प्रयासले प्राप्त यो महत्त्वपूर्ण सफलतालाई अझै माथि उकाल्दै १ सय ८३औँ नम्बरमा नपुगुन्जेल थकाइ नमार्न पनि हामी उनीहरूलाई अनुरोध गर्छौं । खासमा हाम्रो स्थान अझै उच्च हुनुपर्ने हो । त्यो एमनेस्टी भन्नेले धाँधली गरेको हुनुपर्छ । हाम्रा क्यान्टोनमेन्टमा हराएका तीन हजार र अरू पनि लटरपटर भएका छाया लडाकूहरूलेे गायब बनाएको अर्बौं रुपियाँ सरकारी नगदको योगदानलाई पनि भ्रष्टाचारमै हिसाब गरेको भए हाम्रो देशको स्थान अहिले नै भ्रष्टाचारको सर्वोच्च शिखरमा हुनुपर्ने हो ।

पञ्चहरूका पदचिन्हहरूलाई पछ्याउँदै कांग्रेस, एमाले, सद्भावनाहरूले अघि बढाएको यस महायात्रामा फोरम र माओवादीसमेत सहभागी भएपछि भ्रष्टाचारको अभियानले अब क्रान्तिको रूप लिएको छ । तर, क्रान्ति अझै अधूरै छ । अझै पनि संसारका १९ राष्ट्रहरू यस म्याराथनमा हामीभन्दा अगाडि लागेर हामीलाई असिनपसिन बनाइरहेका छन् । यो हाम्रा लागि लज्जाको विषय हो । त्यसैले नेताहरू, आउँदा दिनमा अझै क्रान्तिकारी, अझै अग्रगामी र अझै चनाखो भएर अगाडि बढ । कुनकुन रहेछन् ती अद्भुत शक्तिराष्ट्रहरू जो नेपाललाई पनि माथ गररिहेका छन्, तिनीहरूको सूची बनाएर तिनीहरूले केके खाएर त्यो सफलता हात पारे त्यसको अध्ययन गर । त्यसका लागि एक जम्बो टोली जेट विमान चढेर अध्ययनका लागि जाऊ, उनीहरूसँग सिकेर, सँगै बसेर खाऊ । जसरी पनि तिनीहरूलाई पछार्नैपर्छ ।

संसारको एक नम्बर बन्न चाहिने पूर्वाधार र तयारी हामीसँग कति हो कति छ । भ्रष्टाचारमा लिप्त कैयौँ मन्त्रीहरूसमेतको आधा सयको झन्डावाल बटालियन हाम्रो आशाको पहिलो र भरपर्दो केन्द्रविन्दु हो । भ्रष्टाचारलाई एक आँखाले पनि देखी नसहने उपप्रधानमन्त्री गच्छदारहरूको साथले बाबुरामलाई थप सहयोग पुग्ने नै छ । बाबुरामले यसै जम्बो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने घोषणा गरसिकेका छन् । यस सरकारमा अब कांग्रेस र एमालेबाट ४०/४० मन्त्री थप गरेपछि यसले राष्ट्रिय सरकारको रूप लिन्छ । त्यस्तो महाजम्बो सरकार भयो भने हामीले अर्को वर्षको एमनेस्टीको रपिोर्ट पर्खिनै पर्दैन । ती १९ राष्ट्रले ६ महिनामै हात उठाउनेछन् ।



सरकारलाई साथ दिन हाम्रो कर्मच्ाारीतन्त्र इतिहासदेखि नै तत्पर छँदैछ । भ्रष्टाचारको विकास गर्न अग्रगामी सरकारहरूको संरक्षणमा कर्मच्ाारी वर्गले ठूलाठूला योगदान पुर्‍याउँदै आएको छ । यस वर्गलाई थप प्रोत्साहन गर्दै जानुपर्छ ।

पशुपति, बौद्ध, गुह्येश्वरी र लुम्बिनीहरूलाई पनि भ्रष्टाचारका केन्द्र बनाएर अघि बढ्नुपर्छ । लुम्बिनीको नेतृत्व गर्न माओवादी अध्यक्ष तयार छन् । कमरेड प्रचण्डले लुम्बिनीमा डलर र युरोको ओइरो लाग्ने घोषणा गरसिकेका छन् । त्यो युरोको पहिरोलाई थाम्न त्यहाँ विभिन्न एनजीओहरू, संघसंगठनहरू आवश्यक पर्नेछ । त्यहाँ ठूल्ठूला ठेक्कापट्टा, सम्झौता र टेन्डरहरू हुनेछन् । लुम्बिनीलाई कमाइ खाने र पैसा जम्मा गर्ने प्रमुख केन्द्र बनाएर नेपाललाई भ्रष्टाचारको खेलमा नम्बर एक मात्र होइन, कहिल्यै कसैले जित्न नसक्ने संसारको एक्लो खेलाडी बनाउनुपर्छ । हामीले यसैगरी शिखर चुम्नुपर्छ । हाम्रो इतिहास र वर्तमानले यही भन्छ