मेड इन चाइना

सस्तो चिनियाँ उत्पादनको सहज उपलब्धताले मध्यम र निम्न आयका नेपालीका लागि नयाँ फेशन र प्रविधिको उपयोग रोजी-छाडी बनाइदिएको छ। शहर-बजारदेखि दूरदराजसम्मका नेपालीको आङमा आज युरोप-अमेरिकामा चलेका पछिल्ला डिजाइनका पहिरन, हात-हातमा मोबाइल सेट र नाडीपिच्छे नयाँ मोडलका घडी तथा घर-घरमा रेडियो, टीभी र रेफ्रिजेरेटर जस्ता इलेक्ट्रोनिक उपकरणहरू छन्। नेपाली बजारमा इलेक्ट्रोनिक उपकरण, रेडिमेड कपडा, घरायसी सामान र फर्निचरको ८० प्रतिशत हिस्सा चिनियाँ उत्पादनले नै गटेको छ। खासाको सामान भनेर नाक खुम्च्याउनेहरूका लागि मेड इन ताइवान, जापान भनेर बजारमा उपलब्ध अधिकांश सामान पनि चिनियाँ नै छन्। ती सामान आज कोलकाता, हङकङ वा ब्याङ्ककक्बाट समेत नेपाल भित्रिरहेका छन्।

दुई दशकअघि श्याम-श्वेत टेलिभिजन सेटलाई रु.३०/४० हजारसम्म पर्ने समयमा ज्याकेट, जुत्ता र जिन्स प्याण्ट धेरै नेपालीका लागि कल्पनाको कुरा हुन्थ्यो। विश्वव्यापी बन्दै गएको सुलभ मूल्यका चिनियाँ उत्पादनहरूलाई धन्यवाद दिनै पर्छ, आज यी सबै सामानको उपभोग न्यून आयका नेपालीका लागि पनि सामान्य भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार, आर्थिक वर्ष २०६७/६८ मा चीनबाट रु.४५ अर्ब ६४ करोड बराबरको सामान आयात भयो। त्यसअघिको आवको आयात रु.३९ अर्ब २१ करोड बराबरको थियो। नेपालबाट भने यी दुई आवमा क्रमशः रु.७५ करोड र रु.१ अर्ब १ करोड बराबर सामान मात्र चीन निर्यात भयो। यसरी चीनसँगको व्यापार घाटा रु.४५ अर्ब पुगेको छ, जुन नेपाली अर्थतन्त्रमा छलफलको अर्को पाटो हो।




ल्हासामा सुन छ, कान मेरो बुच्चै भन्ने उखान त्यसै चलेको हैन। भृकुटी र अरनिकोले जोडेको नेपाल-चीन सम्बन्धमा लामो व्यापारिक परम्परा छ। ल्हासामा सन् १६०० मै नेपाली व्यापारिक कोठी खुलेको थियो। उहिले नेपालबाट ठूलो परिमाणमा खुर्सानी, अदुवा, मरमसला, दाल, चामल, घिउ आदि चीन जान्थ्यो र उताबाट सुन, नुन, ऊन, लत्ताकपडा आदि आउँथ्यो। सन् १९८५-१९९२ को अवधिमा चीनमा म्यानुफ्याक्चरिङ वुम भएपछि भने इतिहासका अनेक उतारचढावहरू पार गर्दै आएको नेपाल-चीन व्यापारले नसोचेको आकार लियो, त्यो पनि फेसन र इलेक्ट्रोनिक्सको क्षेत्रमा। चीनबाट भित्रिएका थरीथरीका रेडिमेड कपडाकै देन हो, आज गाउँघरमा समेत टालेका लुगा लगाउनेहरू देखिन छाडेका छन्। भारतबाट आउने थान कपडा किनेर एक जोर सर्ट-प्याण्ट हाल्न दशैं नै पर्खनुपर्ने धेरै नेपालीका लागि चिनियाँ कपडा वरदान नै सावित भएको छ।
चीनको खासाबाट काठमाडौं भित्रिने थान कपडा, रेडिमेड, जुत्ता तथा रेडियो, वाकमेन, क्यालकुलेटर जस्ता इलेक्ट्रोनिक्स उपकरणहरू देशका ७५ जिल्ला पुग्न थालेपछि नेपालीहरूको जीवनशैली बदलियो। ती सामान नेपालहुँदै भारततिर पनि निकासा हुन थालेपछि पश्चिम तराईको कृष्णनगर, पूर्वको धुलाबारी र पशुपतिनगर जस्ता बजारहरू पनि चम्किए। उतिबेला राजधानीका फूटपाथमा चिनियाँ सामानहरू बिक्री गर्ने पौरखीहरू पनि अहिले मालामाल भएका छन् ।


विस्तारित बजार चिनियाँ सामानका लागि पहिला बाह्रबिसे, तातोपानी र खासासम्म पुग्ने नेपाली व्यापारीहरू अहिले चीनको इयु, ग्वाञ्जाउ, सेञ्जेन र हङकङमै अखडा जमाउन पुगेका छन्। १०/२० हजारदेखि २/४ लाखको कारोबार गर्नेहरू महाबौद्धको होलसेल पसलदेखि तातोपानी र खासासम्म पुग्छन् भने रु.१० लाखभन्दा बढी पूँजी भएका व्यापारीहरू सीधै चीन जान्छन्। २०/३० टिसर्ट, ज्याकेट र ट्राउजरहरू राखेर काठमाडौंका फूटपाथहरूमा दुईघण्टे पसल थापेर दैनिक राम्रो आम्दानी गर्नेेहरू पनि प्रशस्तै छन्। राजधानीको महँगीमा १०-५ को जागिर खाएर घरव्यवहार झ्ेल्न मुस्किल परिरहेकाहरू त्यही फूटपाथमा पुगेका हुन्छन्, आफ्नो आवश्यकताका कपडा किन्न। यसले चिनियाँ उत्पादनहरू नेपाली व्यापारी र ग्राहक दुवैलाई फापेको देखाउँछ।

२०४७/४८ पछि खुलेको खासाको व्यापार २०५५/५६ पछि चीनको व्यापारिक शहर ग्वाञ्जाउसम्म फैलिएको हो। २०४७ सालतिर सिन्धुपाल्चोकका गाउँलेहरूले भन्सार सहुलियतमा ल्याएको कपडा किनेर काठमाडौं महाबौद्धमा ल्याउने व्यापारीहरूले निकै हण्डर खानुपरेको थियो। यत्रो सम्भावना भएको क्षेत्र पत्ता लगाउने ती व्यापारीहरू राजस्व विभागको तारोमा परेपछि रुवयनाथ कोइरालाको अध्यक्षतामा नेपाल व्यापार संघ स्थापना भयो। पछि सीमा र ढुवानी समस्या कम गर्न तातोपानी व्यापार सहयोग संघ स्थापना भयो, जुन आज हिमालय सीमापार वाणिज्य संघ बनेको छ। १५ सय सदस्य रहेको संघको काठमाडौं बुद्धनगरमा रु.१५ करोडमा निर्मित आफ्नै साततले भवन छ।

संघका अनुसार, चिनियाँ सरसामानको हब मानिने महाबौद्ध क्षेत्रमा अहिले ६ हजार पसल छन्। पहिला महाबौद्ध आसपासको फूटपाथमा खासाको माल बेच्नेहरूले अहिले नजिकैका घरहरूमा सटर लिएका छन्। २०५३ सालतिर खुलामञ्चमै ६ हजार फूटपाथे पसलहरू थिए, जुन फराकिलो ठाउँ खोज्दै भृकुटीमण्डपमा सरेको १५ वर्ष भयो। असुरक्षित नै भए पनि एउटै छानामुनि रहेको भृकुटीमण्डप बजारका १२ सय पसलले निम्नदेखि मध्यम वर्गसम्मका नेपालीको आवश्यकता पूरा गरिरहेको छ। महाबौद्धमा चिनियाँ सामानको होलसेल व्यापार थेग्नै नसक्ने गरी बढेपछि केही व्यापारीले २०५८ सालमा सुन्धारा नजिकै चाइना टाउन खोलेका थिए। करिब २०० व्यापारिक पसल र कार्यालयहरू रहेको चाइना टाउन खास गरेर चिनियाँ सामान खोज्ने भारतीयहरूमा चर्चित छ। ७ वर्षदेखि चाइना टाउनमा व्यापार गर्दै आएका ज्योति मुडवरी अब नेपालीहरूको पनि भीड बढ्न थालेको बताउँछन्।

चीनको सांघाई, ग्वाञ्जाउ, सेञ्जेन लगायतका शहरबाट ८ देखि १२ दिनमा तातोपानी आइपुग्ने सामान ११४ किलोमिटर टाढाको काठमाडौं ल्याउन शुरुका दिनमा अनेक चेकपोष्ट, चुङ्गीकर र अन्य धेरै सास्ती थियो। तर, बजार बढेसँगै सरकारले चिनियाँ वस्तुको व्यापारलाई महत्व दिन थालेपछि समस्याहरू पातलिँदै गए। दिनानुदिन व्यापार बढ्दा त्यस अनुसार बजार व्यवस्थित भने भएको छैन। खासा र तातोपानीमा पार्किङको समस्या छ। कन्टेनर र ढुवानी व्यवसायीहरूको कार्टेलिङ यथावत् छ। ढुवानी व्यवसायीलाई प्रतिट्रक रु.१ लाखसम्म तिर्दा पनि समयमै सामान काठमाडौं आइ नपुग्ने व्यापारीहरू बताउँछन्। हिमालय सीमापार वाणिज्य संघका आर्थिक संयोजक रमेश बराल भन्छन्, “सरकारले पार्किङ, ढुवानी र बजार व्यवस्थापनमा उचित ध्यान दिएको अवस्थामा सर्वसाधारणले अहिलेको भन्दा सस्तोमा चिनियाँ सामान पाउने थिए।”

चिनियाँ सामानहरूमा भरपर्दो ब्राण्डिङको अभाव पनि समस्या नै भएको छ। मोबाइल, घडी, टेलिभिजनहरूको स्थानीय ब्राण्ड बन्दै गरे पनि चीनमा खुल्लमखुल्ला बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्डका हुबहु नक्कल गरिएका तयारी पोशाक र जुत्ताहरू ल्याउँदा व्यापारीहरूले ठूलै जोखिम मोल्नुपर्छ। केहीअघि हरि पाण्डेले ल्याएको रु.६० लाख बराबरको सामान चिनियाँ अधिकारीले ब्राण्डिङकै निहुँमा सिज गरिदिएका थिए।   
 हिमाल