लुम्बिनीमा १४ करोडका विभिन्न योजना बन्दै

बुद्धजन्मस्थल लुम्बिनीमा १४ करोड रुपैयाँबराबरका विभिन्न योजनाको निर्माण कार्य एकसाथ सुरु गरिँदैछन् । लुम्बिनी भ्रमण वर्ष–२०१२ मा लुम्बिनीको प्रचार–प्रसारका साथै विकास निर्माणका कार्यलाई पनि प्राथमिकता साथ अघि बढाउने निर्णयअनुसार योजनाका कामहरू अघि बढेको लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्रबहादुर थापाले बताए ।
लुम्बिनी गुरुयोजनाअनुसार त्यहाँभित्र विभिन्न नौ योजनाको निर्माण प्रकिया अघि बढिसकेको र सबैको विद्युतीय बोलपत्र (ई–टेन्डर) आह्वान भई काम अन्तिम चरणमा पुगेको थापाले जानकारी दिए ।
लुम्बिनभित्र कोषले एकै साथ सौर्य बत्ती, मोबाइल शौचालय, ब्रिक पेबिंग, बाउड्रिवाल, पार्किङ, पिचलगायतका निर्माण योजना अघि बढाएको हो । सोलार र मोबाइल शौचालय छिट्टै जडान हुने र अन्य पूर्वाधारहरू पनि आउँदो बुद्धजयन्तीअघि नै सम्पन्न गर्ने सोचअनुसार काम अघि बढाएका छौं, सदस्य सचिव थापाले भने । नयाँ योजनाहरूमा सर्कुलरलेभी र केन्द्रीय नहरको दायाँबायाँ सौर्यत्रबत्ती जडान, मोबाइल शौचालय, सर्कुलरलेभीको चारैतिर इँटा छाप्ने, मायादेवी मन्दिरबाट उत्तर सर्कुलरलेभीका द्वारसम्म इँटा छाप्ने, न्यू लुम्बिनी भिलेजतर्फ २ हजार ४ सय मिटरको पर्खाल, बसपार्कमा व्यवस्थित पार्किङ तथा पिच र मोनास्ट्रिकजोनतर्फ जाने बाटोमा कालोपत्रे रहेको कोषले जनाएको छ ।
समयमै निर्माण कार्य सम्पन्न होस् भन्दै कोषले पर्खाललाई आठ÷आठ सय मिटरमा तीन भाग र इँटा छाप्ने कार्यलाई पनि दुई भागमा विभाजन गरी निर्माण गराउने जनाएको छ । सबै निर्माण कार्य माघ महिनाभित्रै सुरु हुने कोषले जनाएको छ ।



निर्माणका लागी सरकारले ७ करोड उपलब्ध गराउने र नपुग रकमका लागि गत वर्ष फ्रिज भएको ७ करोड माग गर्ने सदस्यसचिव थापाले बताए । उता लुम्बिनी भ्रमण वर्ष २०१२ लाई लक्षित गरी भैरहवा–लुम्बिनी सडकखन्डमा करिब ७ लाखको लागतमा लुम्बिनी स्वागत तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको कोषले जनाएको छ । त्यस्तैगरी १ हजार ६ सय मिटर लामो केन्द्रीय नहरसमेत निर्माण सम्पन्न भइसकेको छ । १७ करोड ५० लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न नहरको गहिराई ४ फिट, माथिल्लो उचाइ साढे पाँच फिट र चौडाइ १२ मिटर छ ।
मनोरञ्जन शर्मा, कारोबार दैनिक