मृत्युलाई जित्दै कवि जगदीश

लियो टाल्स्टोयले 'बुढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भने- मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । 'अन्तर्मनको यात्रा'ले मदन पुरस्कार पाएपछि जगदीश घिमिरेलाई भेट्ने लालसा तीब्र भएको थियो । उनलाई भेट्दा लागेको थियो-टोल्स्टोयले भनेजस्तै मृत्युका यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्वरूप नै भिन्नै हुन्थ्यो । त्यसबेला म उनीसँग मृत्यु-संवादको मुडमा थिएँ । सायद, म गलत थिएँ, मृत्युको सिलुएट -पाश्र्वछायाँ) मा उभिएर आफ्नो जीवनको सिंहावलोकन गरिरहेका कविसँग मृत्युबारे चिन्तन गर्नु एउटा अपराध जस्तै थियो तर भेटमा उनी निकै फूर्तिला देखिए । लाग्यो, मृत्युको छायाँले उनलाई सताउन छाडेछ ।
वि.सं. २०६३ वैशाखमा उनी बिरामी भए । विशेषज्ञहरूले जीवनको म्याद तोकिदिए-२-३ वर्ष । बढी भए त राम्रो भो तर घटी भयो भने ? उनी यही सोचेर तर्सिन्थे । 'अब ती कुरा पुराना भए । अब म त्यो मृत्यु-चिन्तन र मृत्यु चिन्तामा छैन । म जीवन चिन्तनमा छु', यो साँझ उनी जीवन चिन्तनमा डुबेजस्ता भेटिए । उनी अहिले मन्थलीमा छन् र बसेर जीवनको आख्यान लेख्दै छन्-'बेपत्ताको डायरी' । जुन उनकै शब्दमा-छिटै प्रकाशमा आउने छ । उनलाई स्वास्थ्यको समस्या छ । अहिले पनि लगातार खाने किमोथेरापीमा छन् ।
जवानीका जोशमा मान्छे खोलाका ठूला जङ्घार पनि तर्छ, दुर्लघ्य पहाड पनि चढ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्दैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छ-यत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहुन्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभङ्गुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । उनी अमेरिकाको ओक्लोहामा सहर पुगेपछि मात्रै थाहा पाए 'मलाईर् मल्टिपल माइलोमा क्यान्सर छ ।' त्यसैदिन उनको ढाड फ्याक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । उनी उपचार गर्न जाँदा जति उत्साही थिए, त्यहाँबाट फर्किंदा त्यो भन्दा हजारौं गुणा दुःखी थिए । शरीरमा थियो-माइलोमा । नशा-नशामा मृत्यु, यो चिसोमा उनी भन्छन्, 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।'

हो, त्यसबेलाको सत्य यही थियो । त्यसपछि उनलाई बिसेक भयो । फेरि बल्झियो । फेरि बिसेक भएको छ तर उनको जीवन सरल रेखामा हिँडेको छैन । यसमा धेरै वक्ररेखा र वृत्त बनेका छन् । गत छ वर्षमा तिनले माइलोमाको धेरै लामो यात्रा तय गरिसकेका छन् । त्यसको केही झल्िको मन्थलीको तामाकोसी सेवा समितिमा देखिन्छ । उनी अहिले पनि त्यही मन्थलीमा त्यसैगरी रमाएर बसेका छन् । उनी मृत्यु सम्झन तयार छैनन्, मात्रै बाँच्न चाहन्छन्-नदीसरि ।
बिगतका खास खास स्मृतिहरू कुनै निश्चित परिवेशमा ब्यँुतिएर सामुन्ने आउँछन् । जसरी समयले बाग्मतीलाई धमिल्याउँदै लग्यो जगदीश पनि चाउँरिँदै गए । समयले बाग्मतीको बगरलाई साँघुर्‍याउँदै ल्यायो, उनका हाड पनि त्यही गतिमा खिइँदै गए । अहिले बाग्मती सुक्दो छ, उनी पनि अस्ताउँदा छन् । जब बाग्मती कञ्चन बग्थ्यो उनमा पनि बाग्मतीकैझैंँ जवानी र जोश थियो । हो, उसबेला जगदीश घिमिरे बडो क्रान्तिकारी थिए । जतिबेला उनी जनकपुर बस्थे, उनलाई वर्षौंदेखि छापामार युद्ध गर्ने मोहनी थियो । अचानक त्यो मोह टुट्यो र जनकपुरप्रतिको मोह पनि । भर्खरै बीए पास गरेका थिए । आफ्नै खुट्टामा उभिन चाहन्थे अनि लेखक भएर बाँच्ने प्रवल इच्छा थियो । एक दिन जनकपुर चुरोट कारखानाको सितैंमा काठमाडौँं लगिदिने ट्रक फेला पारे । आफ्ना पाण्डुलिपि, दोकाधेँ झोला बोकेर काठमाडौँ पसे । काठमाडौँ पुग्दा उनको खल्तीमा डेढ सय रूपियाँ थियो र साथमा थियो अनिश्चित भविष्य । उनले दुई पुस्तक 'लिलाम' र 'जगदीशका कथाहरू' बेचेर गुजारा चलाए । 'अहिले लाग्छ, मैले लेखेर बाँच्ने दुस्साहस मात्रै गरेको रहेछु । लेखेरै बाँच्न खोजेर म फेल भएँ र मैले जागिर खाने निर्णय गरेँ ।
ओहो Û कहाँबाट कहाँ आइपुगिएछ ?', कफीको अन्तिम घुट्को पिउँदै उनले भने ।
केहीबेरको लघुसन्नाटापछि मैले उनलाई सोधेको थिएँ-दुनियाँमा यति धेरै मान्छेले साहित्य लेखिरहेका छन्, तपाईंले नै किन लेख्नुपर्‍यो ? 'मेरो खुसी । कसैले तपाइर्ंलाई 'दुनियाँमा यति धेरै मान्छे बाँचिरहेका छन्, तपाइर्ं नै किन बाँच्नुपर्‍यो ?' भनेर सोध्यो भने के भन्नु हुन्छ ? म पनि तपाईंको यो प्रश्नको जवाफमा त्यही भन्छु ।'
उनले रहरले, करले वा थुप्रै कारण साहित्य लेखे रे । जगदीश असन्तुष्ट छन् साहित्य लेखनमा । 'कुनै रचनाले सन्तुष्ट हुन्छु । कुनैले हुन्न । पूर्ण सन्तुष्ट मान्छेलाई लेख्ने आवश्यकता हुँदैन । पूर्ण सन्तुष्ट मान्छेलाई लेख्ने मात्रै होइन केही पनि गर्ने आवश्यकता हुँदैन ।' उनले भने ।
उनलाई लेख्न प्रेरित गर्ने दुई कुरा छन्-जीवन र जगत् । जीवन र जगत्मा यति सुन्दरता र यति कुरूपता छ कि त्यस सत्यले उनलाई लेखक बनाउँछ । जीवन र जगत्मा यति राम्रा विचारहरू र यति नराम्रा व्यवहारहरू छन् त्यस सत्यले उनलाई लेखक बनाउँछ । जीवन र जगत्मा मान्छे यति जाती र यति नजाती छन् कि त्यस सत्यले उनलाई लेखक बनाउँछ । जीवन र जगत्मा यति उच्चता र यति नीचता छ कि त्यस सत्यले उनलाई लेखक बनाउँछ । जीवन र जगत्मा हुने विरोधाभास आफ्नोे 'लिट्रेचर कन्टेन्ट' हो भन्ने उनको दाबी छ । त्यसोभए अहिलेसम्म लेखिएका जगदीशका 'टेक्स्ट'ले नेपाली समाजका आयामलाई कुन हदसम्म पक्डिएका
छन् ? 'त्यो मलाई थाहा छैन । यति थाहा छ कि म सोद्देश्य लेख्ने प्रयत्न गर्छु । म सार्थक लेख्ने प्रयत्न गर्छु । म गहन कुरालाई सरल किसिमले लेख्ने प्रयत्न गर्छु । म नेपाली समाजका सुखदुःख, प्राप्तिअप्राप्ति, समाज परिवर्तनका यथार्थ लेख्ने प्रयत्न गर्छु ।'
यत्रो लेखिसकेर पनि उनी 'मैले चाहे जति राम्रो लेख्न सकेको छैन' भन्छन् । 'गत तीन शताब्दीमा, त्योभन्दा बढी गत एक शताब्दीमा र त्योभन्दा पनि बढी मेरै जीवनकालमा नेपालको इतिहास, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध, वैचारिक यात्रा, उत्पादन-वितरण व्यवस्था र आजीविकामा अत्यन्त धेरै, अत्यन्त ठूला, अत्यन्त दूरगामी महìवका परिवर्तनहरू अत्यन्त तीब्र गतिमा भएका छन् । ती साहित्यका विषय हुन् । नेपालको साहित्यमा तिनको पर्याप्त प्रतिविम्ब देखिन बाँकी छ । समकालीन लेखकको रूपमा त्यो लेख्न नसक्नु मेरो पनि कमजोरी हो,' उनको स्वीकारोक्ति यस्तो रहेछ ।
मैले एउटा प्रसङ्गमा उनलाई सोधेको थिएँ-लेखकहरू अव्यावहारिक, एकोहोरा र घमण्डी हुन्छन् भन्छन्, तपाईं पनि त्यस्तै हुनुहुन्छ कि ?' 'जो अव्यावहारिक, एकोहोरा र घमण्डी हुन्छ त्यो लेखक भए पनि अरू जेसुकै भए पनि मूर्ख हुन्छ । मूर्खको पहिचान के भने मूर्खले आफूबाहेक अरू सबैलाई मूर्ख देख्छ । आफूबाहेक अरू सबैलाई मूर्ख भनिठान्छ र त्यस्तै व्यवहार गर्छ ।'
अहिले जगदीश निकै तङ्गि्रएका छन् । पहिलेजस्तो दुःखी छैन समय । उनको जीवन सरस रहेछ । 'तपाईंले भनेजस्तो नीरस र चिच्याटलाग्दो छैन समय', उनको मुहार चम्किलो देखियो । उनी आफ्नै संसारमा प्रसन्न, मस्त र बेफिक्री छन् । किनभने उनले जीवन भोगिसकेका छन् र मृत्यु देखिसकेका छन् । उनलाई कुनै कुराको भय छैन । त्यसो नभए उनी साहित्यमा यति सक्रिय पनि हुने थिएनन् । मन्थलीमा महिनौँ बसेर साहित्य लेख्ने थिएनन् । अनेक साहित्यिक कार्यक्रमको आयोजना गर्ने थिएनन् । जीवनको यो बाँकी प्लटको अङ्कगणितमा उनी प्रत्येक क्षणको हिसाब गर्न चाहन्छन् । मात्र, जीवन चिन्तन गर्ने अभिलाषा छ । अन्तर्मनको यात्रामा उनले मृत्युलाई सत्य भनेका हु्न्, मृत्युप्रति समर्पित भएका होइनन् । उनले मृत्युसँग सङ्घर्ष गरेका हु्न्, हारेका होइनन् ।
मृत्यु प्रवल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वाद्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफू अगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारोमा बलेको झिल्कोझैंँ, राँकोझँैं उनका अक्षरहरू बलेका छन् । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सके-'मृत्यु प्रकाशमान हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ
र ?', जीवनको निचोडजस्तो दर्शन सुनाए उनले-'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैंँ कुरिन्छ ।'
मृत्युको मुखबाट बाँचेर आउँदा कुन चैं शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु-सबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो', उनी दार्शनिक चेतनामा भन्दै गए-'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनतासमेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय कन्टिनुम हो, यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो । त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे तर उनलाई मृत्यु बलबान हुँदै आउँदाका ती दिनहरू बेथितिसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरू दुःख र अप्ठ्याराका दिन थिए तर पनि निकै भाग्यमानी रहेछु जस्तो लाग्छ', उनी भन्दै छन्, 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । आजका दिन पनि अर्थहीन लाग्दैनन् ।' यो जीवन नै रहस्य रहेछ । बुढ्यौलीमा सुख, दुःखका दिन एक-एक गरी आँखामा आउँछन् । झसङ्ग हुन्छन्, कति टाढा आइपुगिएछ जीवनमा ?
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । रगतमा माइलोमा दौडिन थालेपछि बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाए । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरू एउटा निचोड फेला पारेका छन् उनले- 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'
फर्किने बेला साँझ परिसकेको थियो । काठमाडौँं सहरको यो खण्ड सुनसान हुँदै गइसकेको थियो । रूखमाथि कतै अल्झेको थियो साँझ ।
- प्रस्तुति ः दीपक सापकोटा
मधुपर्क, चैत, २०६८