नेताहरु के गर्छन् विद्युत जाँदा

 जलस्रोतको दोस्रो धनी राष्ट्रमा पर्ने नेपालका नेताहरु विद्युत कटौती (लोडसेडिङ) दिनमा १२ घण्टासम्म हुन थालेको अवस्थामा के गर्छन् भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ। चर्काे लोडसेडिङले सर्वसाधारणमात्र हैनन् कि सरकारी कर्मचारी तथा नेताहरु पनि उत्तिकै हैरान हुन थालेका छन्। 
सहमतीय सरकारको कुरा गरेर नथाक्ने सबैजसो नेताहरुको घरमा इन्भर्टर, सोलार या अरु वैकल्पिक व्यवस्था गरिएको छ। नुहाउनको लागि तातोपानी, लेखपढको लागि उज्यालोको व्यवस्था उनीहरुको निवासमा भए पनि बिजुली बत्ती भएको बेलामा जस्तो नभएको बेलामा धित मर्नेगरी कामधन्दा गर्न नपाइएको उनीहरुको पनि गुनासो छ। लोडसेडिङ घटाउन नानाथरि उपाय सोचिरहने प्रधानमन्त्री बाबुराम भट्टराईको निवास बालुवाटारमा पनि अन्यत्र जस्तै बत्ती जान्छ। तर, त्यहाँ जेनेरेटरको भरपर्दाे व्यवस्था छ। कोठाभित्र बस्दा जेनेरेटरको उज्यालोले लोडसेडिङ भए नभएको त पत्तो हुँदैन तर प्रधानमन्त्रीले पनि लोडसेडिङको असर महसुस गर्नु हुने बालुवाटार स्रोतले जनाएको छ। 
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको निवासमा प्रधानमन्त्रीको जस्तो सुविधा छैन। उहाँको निवासमा पहिले जेनेरेटर थियो, अहिले इन्भर्टर मात्र छ। पुरानो इन्भर्टर भएकाले त्यति काम गर्दैन। बत्ती बाल्नको लागि मात्र ठीक्क हुन्छ। प्रायः भेटघाटमै व्यस्त हुनुपर्ने भएकाले दाहाललाई बत्ती भएको बेला पनि लेखपढ गर्ने फुर्सद नहुने बताइन्छ। दाहालको निवासमा नुहाउनको लागि विद्युत्तीय गिजर राखिएको छ। 
उता, प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निवासमा चाहिँ जेनेरेटरको व्यवस्था छ। त्यसैले उहाँलाई लोडसेडिङले त्यत्तिको असर पार्दैन। नुहाइ–धुवाइका लागि चौबीसै घण्टा तातोपानी आउने सोलारको व्यवस्था पनि कोइरालाको निवासमा छ। 
यसैगरी नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालको घरमा दुइटा इन्भर्टर छन्। एउटाले त्यति राम्रो काम गर्दैन भने इन्भर्टर चार्ज गर्नका लागि पनि बिजुली आउने समय कुर्नुपर्छ। सामान्य लेखपढको कामचाहिँ उहाँले इन्भर्टरकै माध्यमबाट गर्नुहुन्छ। लेखपढ गर्ने बानी भएकाले इन्भर्टरबाट कम्प्युटर पनि चल्छ। खनालको घरमा पनि सोलार छ।  


यस्तै, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्याको घरमा पनि एउटा इन्भर्टर छ। यसले कम्प्युटर चलाउने काम मात्र हुन्छ तर इन्भर्टरले सधैं काम गर्दैन। लोडसेडिङ हुँदा उज्यालोका लागि घरबेटीले सोलार बत्तीको व्यवस्था गरिदिएको भए पनि बुधबार वैद्यले डेरा सरेका पनि सोलारको उज्यालो पाउन छाडेका छन्। डेरा सर्नुअघिसम्म बाथरुममा ग्यास गिजर पनि घरबेटीले नै राखिदिएका थिए। नयाँ कोठमा अब यत्तिको व्यवस्था होला या नहोला भन्ने वैद्य परिवारलाई पिरलो परेको छ। 
दलका शीर्ष नेताहरुलाई मात्र होइन कि मन्त्री बनेकाहरुलाई समेत लोडसेडिङले पिरेको छ। मन्त्री निवासमा पुल्चोकमा पनि लोडसेडिङ हुन्छ। मन्त्रीहरुको सुविधाका लागि सबैको निवासमा इन्भर्टरको व्यवस्था छ तर इन्भर्टरले बत्ती बाल्न बाहेक अरु काम गर्न मिल्दैन। 'कहिलेकाहीं विदेशी पाहुना भेटघाटमा आएका हुन्छन्, कुरा गर्दागर्दै बत्ती झ्याप्प जान्छ146 मन्त्री एकनाथ ढकालले एक मन्त्रीले भन्नुभयो,'इर्न्भटरले बत्ती त बल्छ तर हिटर चल्दैन।146 विदेशी पाहुनालाई आफ्नो देशको यो अवस्था देखाउनुपर्दा साह्रै हीनतावोध हुने पनि ती मन्त्रीले बताउनुभयो। 
बत्तीका कारण अरु जेजति समस्या छन् तीबाहेक लिंडे (मोबाइल) फोनको समस्यामा पनि नेताहरुले पर्नुपरेको छ। 'बेलुका सुत्दा पनि बत्ति हुँदैन, बिहान उठ्दा पनि कुनबेला आएर गैसकेको हुन्छ, अरुले जस्तै मैले पनि आक्कलझुक्कल मात्र बिजुलीको दर्शन गर्न पाउँछु146 राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले आफ्नो दुखेसो पोख्दै भन्नुभयो, 'यो लोडसेडिङले हैरान भएको छु।146 दिउँसो बाहिरबाट कोठामा फर्किंदा बत्ती नभएको कारण पढ्न र मोबाइल फोन चार्ज गर्न नपाएको उहाँको दुखेसो छ। 'पढ्ने बानी त चौपट्ट भै'गयो नि146 के.सी.ले भन्नुभयो। मोबाइल चार्ज गर्नको लागि कतिपटक आधा रातमा उठ्नुपरेको उहाँको अनुभव छ। 'लोडसेडिङ के मात्र अप्ठेरो पारेन भनेर भनीसाध्य नै छैन146 के.सी.ले भन्नुभयो। हुन त अरु नेताको घरमा जस्तै के.सी.ले पनि कोठामा इन्भर्टर राख्नुभएको छ तर इन्भर्टरले राम्रो काम गर्दैन। 'छिनछिनमा बिग्रिरहन्छ, ब्याट्री फेरेर ल्यायो, महिना दिनलाई पनि धान्दैन' केसीले भन्नुभयो, 'हिजोआज त इन्भर्टर पनि बाल्न छाडेको छु, खाना खायो सुतिहाल्यो।'

 Weekly Nepal