राजनीतिको ‘गंगनम स्टाइल’


-गुण  राज लूईटेल
पश्चिमाहरूले पूर्वीय संसारका पुरुषलाई गम्भीरता साथ लिँदैनन्। यहाँसम्म कि तिनीहरू खतरनाक तानाशाह नै भए पनि पश्चिमाले उनीहरुलाई पत्याउँदैनन्। हालैका दिनमा दक्षिण कोरियाका एक जना मोटामोटा कलाकारले पश्चिमाहरूको मथिंगल घुमाइरहेका छन्।
‘गंगनम स्टाइल’ भन्ने शब्द र गीतको बीचमा परेका एकाध ‘हे सेक्सी लेडी’ जस्ता पंक्तिबाहेक बाँकी गीतको अर्थ कोरियाली भाषाका जानकारबाहेक अरुले बुझ्दैनन्। तर, गंगनम स्टाइल यति लोकप्रिय भयो कि यसलाई युट्युबमा अपलोड गरेको तीन महिनामा ६० करोड मानिसले हेरिसकेका छन्। गीतका शब्द कसैले नबुझे पनि यसमा प्रयुक्त नृत्य र शैलीले कोरियाली भाषाइतरका व्यक्तिलाई समेत बुझ्न सहज बनाएको छ। साइ नामका यी कोरियाली कलाकारले अंग्रेजी भाषाइतर बाँकी विश्वलाई एउटा सन्देश पनि के दिए भने भाषा जेसुकै भए पनि चम्किला हीराको चमक कसैले रोक्न सक्दैनन्।
कोरियाली कलाकार हुन् वा नजिकै बिहार बदलिरहेका मुख्य मन्त्री नितिशकुमार, तिनलाई संसारको अर्को कुनामा भएका व्यक्तिले सहजै परख गर्न सक्ने समय हो यो। बस्, राम्रो र रचनात्मक प्रोडक्ट हुनुपर्योा, त्यसले संसारमा शासन गर्न सक्छ। न गैरअंग्रेजीभाषी मुलुक भएर पछि परिन्छ न त गरिब भनेर नै हेपिन्छ।
हामीकहाँ पनि राजनीतिको ‘गंगनम स्टाइल’ केही वर्षदेखि चलिरहेको छ। जसरी कलाकार साइ शौचालयदेखि तबेलासम्म, उपवनदेखि तलाउसम्म ‘गंगनम स्टाइल’मा नाँच्दै हिँड्न सफल भएका छन्, त्यसैगरी हाम्रा नेताहरूले पनि आफूखुसी नृत्य प्रदर्शन गरे पनि यसमा कुनै कला पक्ष छैन। राजनीतिक सहमति र बैठकका चर्चा सुन्दा अधिकांश सर्वसाधारणलाई दिक्क लाग्छ।

नाँच्न मञ्चमा पठाइएको छ। तर नृत्य झूर छ। कला पक्ष नदारत। यी पंक्ति लेख्दै गर्दा पंक्तिकारको मोबाइलमा नाँच्दै गरेको सन्देश पढ्दा पनि कुनै आश्चर्य छैन। सन्देश भन्छ- एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी फोरका शीर्ष नेताबीचको बैठकले कुनै उल्लेख्य निर्णय लिन सकेन। बैठक फेरि बस्ने भएको छ…।
नेताहरूले कुनै निर्णय लिनु र नलिनुले कुनै उत्तेजना सिर्जना गर्नै छाडिसकेको छ। वास्तवमा सहमति शब्दको योभन्दा अघि कहिल्यै यति उपहास भएको थिएन। कसैले सहमति भन्यो भने यो असहमति गर्ने विषय रहेछ भन्ने पर्न थालिसकेको छ। र, सहमतिको अन्र्त्यभित्र कसरी अर्कोलाई सिध्याउने भन्ने षड्यन्त्रबाहेक केही देखिँदैन।
सहमति एउटा चाडदेखि अर्को चाडभित्र, एउटा चियापानदेखि अर्को चियापानभित्र, एउटा मितिबाट अर्को मितिभित्र आइसक्ने भन्ने प्रतिज्ञा पटक-पटक सुनिन्छन्। तर, तिनको पालना कहिल्यै हुँदैन। अहिले फेरि माओवादीले आयोजना गर्ने चियापानसम्ममा सहमति भइसक्ने आश्वासन दिए पनि त्यो पूरा हुने लक्षण छैन।
यसैबीच, कांग्रेस र एमालेले वार्ता र आन्दोलन सँगसँगै लैजाने निर्णय गरिसकेका छन्। दशैंका केही दिन बाँकी छँदै नेताहरूले आपसमा भेटघाट र संवाद थाले पनि ती आपसी घोचपेच, औपचारिकता र चाँडै मिलाएर जानुपर्छ भन्ने शब्द विनिमयबाहेक केही भएनन्।
आन्दोलनको धम्की पनि टाइँटाइँ फिसबाहेक अरु केही छैन। बरु भारतीय कलाकार रणवीर कपुरको पहिलो आइटम गीत टाइँटाइँ फिस नृत्यले बरु धेरैको ध्यान तान्छ। कांग्रेस र एमालेले लोकतान्त्रिक मूल्यका निम्ति माओवादीको सरकारविरुद्ध आन्दोलन गरेका भन्ने आम जनसाधारणका मनमा पर्न सकेको छैन।
बाबुराम भट्टराईको सरकारविरुद्ध हुने आन्दोलनमा सर्वसाधारणले भाग किन लिइदिनुपर्ने? नेताहरूसँग यसको जवाफ छ? तत्कालीन राजा ज्ञानेन्द्रको ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकारमा गइसकेको विगत पनि बुझेकाहरूले भट्टराई सरकारविरुद्धको आन्दोलनमा भाग लेलान्? त्यसका निम्ति भरपर्दो नारा र कार्यक्रम अभाव हुन्छ। साह्रै तन्मयसाथ जनसाधारणले पटक-पटकका आन्दोलनमा सहभागिता जनाएका हुन्। पछिल्लो पुस्ताले २०४६ र २०६२/६३ का पछिल्ला दुई ठूला परिवर्तनकारी आन्दोलनमा भाग लिएका हुन्। फेरि त्यस्तै आन्दोलन उठ्न वा उठाउन नसक्ने गरी नेताहरूले सर्वसाधारणलाई आजित पारिसकेका छन्।
आज संसारभरका अन्य मुलुक आर्थिक वृद्धि कसरी बढाउने, बेरोजगारी कसरी कम गर्ने भन्ने चिन्तन र चिन्तामा छन्। तर, हामीकहाँ यसको कुनै चासो छैन। बरु केही महिना सत्ताबाट बाहिर भएपछि कसरी त्यहीँ पुग्ने भन्ने ध्याउन्नले मुलुकको सम्पूर्ण शक्ति र सामर्थ्यलाई पक्षाघातग्रस्त तुल्याउँछ।
यिनै नेता हुन्, जसले आह्वान गरेको आन्दोलनमा जनसाधारणको सहभागिता नभएपछि नागरिक समाजले आन्दोलनका कार्यक्रम आयोजना गरिदिनुपरेको छ। वास्तवमा ज्ञानेन्द्रले केही मुर्ख्याइ नगरेका भए सत्ता टिकाइराख्न सक्ने रहेछन्। सर्वसाधारणका टेलिफोन र इन्टरनेट काट्ने छुच्याइ नगर्नासाथ नेताहरूलाई तिनले सहजै एक्ल्याउन सक्ने थिए।
अब अहिले बाबुराम सरकारले सर्वसाधारणलाई राम्रो गर्न नसके पनि नराम्रो केही गरिदिएको छैन। आखिर जनसाधारणको जीवनमा हाम्रा सरकारले कुनै तात्विक परिवर्तन ल्याएका होइनन्। केही आर्थिक परिर्वतन गाउँगाउँमा भइरहेको छ भने पनि त्यो दुःखले ५० डिग्री सेल्सिय ताता ठाउँमा पसिना चुहाएर र परिवारका लागि आँशु झारेर ल्याएको रेमिट्यान्सले नै हो। हाम्रा सरकारहरूले राष्ट्रको गौरव बढाउनका निम्ति पनि केही गरेका छैनन्। प्रत्येक पटक विदेश जाने बेलामा नेपाली पासपोर्ट देख्नासाथ विदेशीहरूले अपमानित गर्छन्। विमानमा चढ्दासमेत हाम्रा कैयन् नेपाली दाजुभाइले अन्य विदेशीसरह सम्मान र ध्यानाकर्षण पाउँदैनन्। यो काम कसैले गरिदिने हो र?
सानातिना काम मात्रै गरिदिने हो भने पनि सर्वसाधारणको ठूलो समर्थन हामीकहाँ हुन्छ। प्रत्येक पटक ट्याक्सी चढ्दा यो पंक्तिकारले चालकहरूलाई राजनीतिक प्रश्न गर्ने गरेको छ। तिनका जवाफ कम्ति उच्च कोटीका छैनन्। राम्रो कामलाई राम्रो भन्न ती पछि पर्दैनन्। भट्टराई सरकारले बाटो फराकिलो पारेकोमा ती धन्यवाद दिन्छन्। तर बाँकी काम कसैले गर्दै गरेनन्।
त्यसैले सर्वसाधारणले बुझेका छैनन् भनेर नबुझिने ‘गंगनम स्टाइल’ को नृत्य गर्ने हाम्रा नेताहरूले बेलैमा शैली परिवर्तन गर्ने बेला भइसकेको छ। तपाईंहरू ‘गंगनम स्टाइल’ मा नाँच्नुहोस्, त्यसका निम्ति कोरियाली कलाकारको एक लाइनको सूत्र पनि लिनुहोस्- डे्रस अप क्लासी डान्स चिजी (राम्रा लुगा लगाउनुहोस्, दामी नृत्य गर्नुहोस्। अर्थात् जनतालाई पनि सँगै नचाउने गरी आफू पनि नाच्नुहोस्।
नागरिक,१५ कात्तिक, २०६९