जर्मनीका व्यवसायी हार्टमुर्ड बौडरले मकवानपुरको चित्लाङमा गरेको ओलिभ खेतीले यो वर्ष राम्रो उत्पादन दिएको हो । बौडरले चित्लाङमा हिमालयन प्लान्टेसन नामक कम्पनी स्थापना गरेर १ सय ६० रोपनी जग्गामा ओलिभका करिब २ हजार बिरुवा लगाएका छन् । तिनबाट यो वर्ष १७ टन फल उत्पादन भएको बौडरले बताए । 'प्रशोधनपछि त्यसबाट
१ हजार ३ सय लिटर तेल उत्पादन भएको छ,' उनले भने, 'यो उत्साहजन उत्पादन हो ।'
त्यहाँ उत्पादित ओलिभको तेल इटलीको सरकारी प्रयोगशालामा गरिएको परीक्षणबाट एक्स्ट्रा भर्जिन (अतिरिक्त शुद्ध) प्रमाणित भएको बौडरले जानकारी दिए । 'यो परीक्षणले हाम्रो उत्पादनलाई संसारको उत्कृष्टमध्येको ठहर गरेको छ,' उनले भने ।
बहुउपयोगी ओलिभ तेलले विश्वमा राम्रो बजार लिइरहेको छ । यसको मूल्य निकै महँगो भए पनि उपयोगिताको तुलना गर्दा सस्तो भएको हिमालयन प्लान्टेसनका प्रबन्धक आरके कुमाईको भनाइ छ । हिमालयनले उत्पादन गरेको तेल भ्याटबाहेक २ हजार रुपैयाँ लिटरले बेच्दै आएको छ । यो तेल राजधानीका केही डिपार्टमेन्टल स्टोरमा उपलब्ध छ । नेपालीको आयको तुलनामा केही महँगो भएकाले यसका धेरैजसो ग्राहक भने विदेशी छन् ।
एउटा रासायनिक कम्पनीबाट रिटायर भएपछि नेपाली युवतीसँग विवाह गरेर नेपाल छिरेका बौडरले झन्डै १५ वर्षअघि राजधानी नजिकैको चित्लाङलाई छनोट गरेर ओलिभ खेती सुरु गरेका थिए । व्यावसायिक रूपमा थालिएको ओलिभ खेती मुलुककै पहिलो र एक मात्र रहेको उनको दाबी छ ।
भारतको राजस्थानको सुख्खा क्षेत्रमा एउटा इटालेली परियोजनाले गरेको ओलिभ खेतीबाट प्रभावित भएर आफूले नेपालमा त्यसको विस्तार गरेको उनी बताउँछन् । ओलिभका लागि विश्वविख्यात इटालीका दुई मुख्य स्थानहरू भिन्सी र टस्कानी नाम दिएर दुई स्थानमा उनले बिरुवा रोपेका थिए । यो खेतीका लागि सुरुमा १ करोड ७० लाख रुपैयाँ लगानी गरेको उनी बताउँछन् । यो खेतीले बल्ल यो वर्षमा आएर नाफा दिन थालेको छ ।
बिरुवा लगाएको धेरै समयसम्म ओलिभ खेतीबाट उत्पादन नभएपछि बोट फाँड्ने निष्कर्षमा पुगेका बौडरले एक इजरायली विशेषज्ञलाई देखाएका थिए । उनले बिरुवाले पानी पर्याप्त नपाएकाले पाइपबाट दिइने थोपा सिँचाइ विधिबाट बिरुवालाई पानी दिन सल्लाह दिएका थिए । 'पानी पर्याप्त नभएको ठाउँमा त्यो प्रविधिबाट सिँचाइ गरेपछि एकै वर्ष १७ टन ओलिभका दाना उत्पादन भयो,' बौडरले भने, 'यसअघि वर्षको ४ टनभन्दा बढी उत्पादन कहिल्यै भएको थिएन ।
विज्ञको सल्लाहमा बौडरले आपmनो बगैंचाका दुई हजार वटै बिरुवामा थोपा सिँचाइ पुर्याएका छन् । तिनमा चिस्यान नाप्ने उपकरण जडान गरिएको छ ।
चिस्यान घटेको यन्त्रले देखाउनासाथ पानी दिइन्छ । ओलिभको बगैंचाभरि पानी संकलन गर्ने प्लास्टिकका ट्यांकी राखिएका छन् । थोपा सिँचाइ हुँदै बिरुवालाई आवश्यक मल र विषादी दिइन्छ । ओलिभको बगैंचामा काम गर्न सात जनाले रोजगारी पाएका छन् ।
नेपालमा अन्य क्षेत्रमा समेत ओलिभको उत्पादन गर्न सकिने बौडरको भनाइ छ । 'उत्पादन गर्न सके विश्व बजारमा यसको ठूलो माग छ,' उनले भने, 'उत्पादन गर्न चाहनेलाई हामी सघाउँछौं ।' मानव स्वास्थ्यमा बहुउपयोगी ओलिभ तेललाई हरेक नेपालीले प्रयोगमा ल्याएर पुरानो खानपानको बानी बदल्नुपर्ने उनको सुझाव छ । नेपालीको भान्सामा ओलिभको तेल प्रयोग त्यति हुँदैन,' उनले भने, 'यो बानीलाई बदल्नुपर्छ । दर्जनौं फाइदा दिने ओलिभलाई अपनाउनुपर्छ ।' राम्रो ओलिभ तेल नेपाल र भारतमा नपाइने उनको भनाइ छ । 'हाम्रो लक्ष्य ओलिभ सेवनको संस्कृति भित्र्याउनु र स्थानीय किसानमार्फत यो सजिलै उपलब्ध गराउनु हो,' उनले भने ।
ओलिभका दाना प्रशोधन गरेर तेल निकाल्न हिमालयन प्लान्टेसनले चित्लाङमै मेसिन लगेर जडान गरेको थियो । प्रधिकरणले आवश्यक क्षमताको विद्युत् उपलब्ध नगराउँदा त्यहाँ मेसिन उपयोगमा नआएको कम्पनीका प्रबन्धक कुमाईले बताए । हिमालयनले त्यो मेसिन ल्याएर अहिले ललितपुरको ठैवमा जडान गरेको छ । त्यहीँ ल्याएर ओलिभको दाना प्रशोधन गरी तेल निकालेर बजारमा पुर्याइन्छ ।
नेपालका चिसो हावापानी भएका सुख्खा क्षेत्रमा ओलिभ खेतीको सम्भावना राम्रो रहेको फलफूल विकास निर्देशक चुटराज गुरुङ बताउँछन् । उनले बझाङ, बाजुरा, डोल्पा, मुस्ताङ, अछामको उत्तरी भेगमा यसको उत्पादन गर्न सकिने बताए । 'फलफूल विकास निर्देशनालयले बाजुराको कोल्टी विमानस्थल नजिकै स्कुलको जग्गा लिएर झन्डै १ हजार ५ सय ओलिभको बिरुवा रोपेको छ,' उनले भने । त्यहाँ १५/१६ जातका ओलिभको उत्पादन परीक्षण भइरहेकाले उत्पादन हेरेर कृषकलाई उपयुक्त जातको सिफारिस गरिने जानकारी दिए । धेरै ओलिभ उत्पादन हुने इटलीले नेपालमा ओलिभ खेती विस्तारमा चासो दिँदै त्यसको जिम्मा तुसिया विश्वविद्यालयलाई दिएको उनले बताए ।