प्रेमको प्रतीक भ्यालेन्टाइन

रोमन क्यालेन्डरको दोस्रो महिना- फरवरी, छोटो, सुन्दर, जाडोको बाहुपासमा तर प्यारो, अनेकौं चाडपर्वको मौसम, माघे संक्रान्ति, वसन्त पञ्चमी, बिहेबारी, भोजभतेर,  उल्लास र भेटघाटको मौसम । वाग्देवी सरस्वतीको आराधनाको महिना, प्रौढ, वृद्धा, युवा-युवती, सबैको आर्कषणको महिना- फरवरी । वर्षको सबै दिन कामकाजको तर १४  फरवरीको दिन प्रेमको दिन, साथी बनाउने, प्रेमी रोज्ने, प्रेम सन्देशहरू लिने-दिने दिन, प्रेमको अभिव्यक्तिको दिन, प्रेमको दिन, तर यो दिन कहाँबाट आरम्भ भयो, किन  यो दिनको सुरुआत भयो भन्ने कुरामा अनेकौं तथ्य छन् जसको कथा पनि निकै रोचक छ र अनौठो हुनुका साथै रोमाञ्चक पनि ।
भ्यालेन्टाइन डे मनाउने चलन हालसालैदेखि हाम्रो देशमा पनि जोडतोडका साथ देखा परिरहेको छ । टेलिभिजन र इन्टरनेट तथा मिडियाका अरू साधनले भ्यालेन्टाइन डे लाई हाम्रो देशमा भित्र्याउने काम गरेका छन् । कलेज र स्कुलका केटाकेटी मात्र होइन, अफिसमा कार्यरत सहकर्मीहरू र कतिपय प्रौढहरू पनि भ्यालेन्टाइन डे मनाउन  उत्सुक देखिन्छन् ।
यो दिनलाई प्रेमी-प्रेमिकाहरू एक-अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान-प्रदान गर्छन्, भ्यालेन्टाइनडेको प्रसिद्धि मात्र युरोपमा सीमित नरहेर  समस्त विश्वमा  छ । प्रेम, दोस्ती, सामीप्य, स्नेह, किशोर वयको आकर्षण, धेरै जटिल, उत्तेजक एवं रोमाञ्चक मानव भावहरूले भरिएको हुन्छ । १४ फरवरी- धेरै जसो  प्रेम सम्बन्धको प्रारम्भ यसै दिनहुन्छ किनभने भ्यालेन्टाइनडेको मौका पारेर गरिएको प्रेम प्रस्तावलाई कसैले नराम्रो मान्दैन । त्यसैले १४ फरवरीको दिन भावना र  भावुकताको आकर्षणमा परेका केटा वा केटीले आफ्नो भावनाको प्रदर्शन कार्ड वा उपहारद्वारा गर्न एक कदम अघि बढेर भाग लिन्छन् ।
तर यो प्रेम हुन्छ किन ? विपरीत लिंगीप्रति एउटा खास किसिमको आकर्षण अनुभव हुनु कसैको वशमा छैन । यो अत्यन्त स्वाभाविक प्रक्रियाका रूपमा मानव जीवनमा  हुने घटना हो । यो बेग्लै तथ्य हो कि बुद्धि, विवेक, समाजमा अन्याय विद्यमान रहिआएको चलनले यो भावनामा रंग भर्ने काम गर्छन् । हिजोआज प्रेमको नवीन अनुभूति  दिने काममा समाजको कम मिडियाको भूमिका बढी छ । इन्टरनेट प्रेम, भर्चुअल प्रेम, यसको उदाहरण हो । पहिले प्रेमका वैज्ञानिक कारणहरू हेरौं- महिला र पुरुषको  बीचमा आकर्षण प्रारम्भ हुनका लागि मात्र ९० सेकेन्डदेखि चार मिनेटको समय चाहिन्छ, अनुसन्धानकर्ताहरूका अनुसार ५५ प्रतिशत व्यक्ति आफ्नो बडी ल्याग्वेजद्वारा प्रेम  प्रकट गर्न चाहन्छन् । ३८ प्रतिशतले बोलेर तथा ७ प्रतिशतले कुराकानीका माध्यमबाट आफ्नो प्रेम प्रकट गर्छन् । अमेरिकाकी वैज्ञानिक हेलेन फिसरले प्रेम प्रक्रियालाई  तीन चरणमा विभाजित गरेकी छिन् । पहिलो स्टेजमा उत्सुकता र उत्कण्ठाको भाव हुन्छ, यसमा सेक्स पनि हुन्छ, । एड्रेलिनिन र सेरोटिनिन हार्मोन्सहरू सक्रिय हुने  बित्तिकै शरीरमा बिचित्र प्रक्रियाहरू  प्रारम्भ भै हाल्छन् ।
शरीरका नसाहरूमा रक्त प्रवाह बढ्न थाल्छ्, मुख सुख्नु, रातो हुनु, दिमाग गरम हुनु यो हारमोनले शरीरमा काम गरे पछि देखिने लक्षण हुन् । यही रसायनले प्रेमको  अनुभूति उत्पन्न गराउँछ, यसैबाट प्रेममा आनन्द उत्पन्न हुन्छ । यो रसायन सक्रिय हुँदा सही र गलतको विवेक समाप्त हुन्छ, सोच्ने क्षमतामा पनि ह्रास आउँछ । यही  कारण हो कि प्रेमलाई अन्धो भनिएको छ । प्रेममा नैतिकता वा कार्यक्षमतामा ह्रास हुने कुरा हामी देखेका छौं । प्रेम निर्वाध हुन्छ, यसले कुनै बन्धन मान्दैन । अनेकौं प्रेमीप्रे मिकाले समाज, कानुन रीति रिवाज, सम्बन्ध, नाता, गोता सबै अवरोधलाई छिचोल्दै आफ्नो लक्ष्य हासिल गरेका छन्, हासिल गर्न नसकेको खण्डमा आफ्नो जीवनकै अन्त  गरेका छन, हाम्रा अगाडि त्यसका अनेकौं उदाहरण छन् । रसायन निकासको तेस्रो अवस्थामा आक्सीटोसिन रसायनको भूमिका हुन्छ, जसमा व्यक्तिले शारीरिक सम्ब्ान्ध  बनाउँछ, सन्तान उत्पत्तितिर सोच्छ ।
प्रेमको विषय अत्यन्त गहन र विचारणीय छ । यो मात्र सम्बन्ध बनाउने, मित्रता राख्ने वा विवाह गरेर सन्तान उत्पत्ति गर्न सम्ममा मात्र सीमित छैन । वास्तवमा  अधिकांशलाई प्रेमको दुनियाँदारी वा भौतिक स्वरूपका बारेमा मात्र थाहा छ, प्रसिद्ध लेबनानी दार्शनिक खलील जिब्रानका अनुसार प्रेमले मस्तिष्कलाई मुकुटले सुशोभित गर्छ,  फाँसीमा पनि झुन्डाउन सक्छ, यदि त्यसमा विकास गर्ने, बनाउने वा उचाइ प्रदान गर्ने क्षमता छ भने त ठीक छ त्यसको उल्टो विनाश गर्नु, तोड्नु, संकुचित हुनु, स्वार्थी  बन्नुका पछाडि पनि प्रेमनै कारक हुन्छ ।
प्रसिद्ध फ्रान्सिसी योद्धा नेपोलियनको कुरा गरौं । नेपोलियन आफूभन्दा छ वर्ष जेठी महिला जोजेफिनसँग अगाध प्रेम गर्थे । जोजेफिन दुई सन्तानकी आमा पनि थिइन्, नेपो लियनको प्रेम जोजेफिनका लागि असल र पागलपनको सीमासम्म थियो तर जोजेफिन नेपोलियनलाई आफ्नो श्रीमान्को मृत्युपश्चात आफ्नो जीवन सुविधासँग ब्यतित  होस् भनेर मात्र प्रेम गरिरहेकी थिइन्, । पुरुष वर्गलाई आफ्नो जालमा फसाउन माहिर जोजेफिनले नेपोलियनलाई मात्र होइन् धेरैलाई ठगेर आफ्नो जीवन आनन्दपूर्वक  व्यतित गरिरहेकी थिइन् । अन्तमा अर्को पुरुषसँग बढी सुविधा भोग्न नेपोलियन जस्तो असल प्रेमीको परवाह नगरी जोजेफिनले उनलाई छोडिन् । नेपोलियन त्यत्ति बेला  युद्ध भूमिमा थिए । उक्त घटनाले उनमा त्यस्तो गहिरो असर पार्‍यो कि उनी युद्ध र जीवन, सबैबाट बिरक्त भए । परिणाम निस्कियो- नेपोलियन जस्ता महान योद्धाको  हार । उनको जीवनमा निराशा बाहेक अरू केही रहेन् ।
जोन किट्सले पनि आफ्नी प्रेमिका फेनीलाई हृदयदेखिनै माया गरे, फेनीले पनि उनको प्रेमको प्रतिदानमा केही कमी देखाइनन्् । किट्सले आफैं स्वीकार गरेका छन्- फे नीको सानिध्यले उनलाई अमर र कालजयी रचनाहरू लेख्न प्रेरित गर्‍यो । फेनीको साथले उनलाई हरेक कार्यमा सफल बनाउँदै गयो । यतिसम्मकि किट्सको मृत्यु  अल्पकालमा नराम्रो रोगबाट भयो । उनलाई आफ्नो असमय मृत्युको न दुःख थियो, न मृत्युबाट डर किनभने फेनीले उनको जीवनलाई पूर्णता प्रदान गरेकी थिइन् ।
यो हो प्रेमको असल प्रतिदान । तुलसीदास र रत्नावलीको प्रेम प्रसंग पनि प्रेरणादायी प्रेमको अनुकरणीय उदाहरण हो । तुलसीदासको विवाह रत्नावली नामकी सुन्दरीसँग  भएको थियो । तुलसीदासलाई उनीसँगको एक छिनको वियोग पनि सहन थिएन् । एक दिन रत्नावली आफ्नो माइती गएका बेला उनको विरह सहन नसकेर साउनको  भयंकर वषर्ामा तुलसीदास ससुराली पुगे । सबै जना सुतिरहेका थिए, कसैले ढोका खोलेनन् । पछाडि तिर गएर उनी पर्खाल चढ्न केही सहारा खोज्नथाले त्यहाँ डोरी जस्तो  केही देखियो । त्यही डोरी समातेर उनी रत्नावली सुत्ने कोठामा पुगे । रत्नावलीले ढोका खोलिन र आश्चर्यले झस्किँदै तुलसीदाससँग यति दुर्गम रातमा आउनुपर्ने कारण  सोधिन् । तुलसी दासले विरह व्यथा सहन गर्न नसकेर आफू आएको बताउँदै रत्नावलीको प्रेम आकर्षण त्यसको कारण भएको बताए ।
रत्नावलीले कसरीमाथि आउनुभयो भनेर सोध्दा उनले डोरी समातेर आएको जवाफ दिए,  तर डोरी त होइन, गोमन सर्प ढोकाबाट बाहिर निस्किरहेको देखियो, त्यसपछि  बुझ्न केहीबेर लागेन कि डोरीको भ्रममा तुलसीदास सर्पलाई समातेर माथि चढेछन् । रत्नावली एउटी जागरुक, चैतन्य अनि ईश्वर भक्त नारी थिइन् । उनलाई आफ्नो  शरीर माथि आफ्नो श्रीमान्को यस्तो विवेकहीन आकर्षण देखेर आफूमाथिनै ग्लानि र आफ्नो श्रीमान्माथि क्षोभ र क्रोध उत्पन्न भयो । उनले श्रीमान्लाई धिक्कार्दै कठोर  शब्दमा भनिन्- धिक्कार छ तपाइर्ंलाई र तपाईंको नारी शरीरसँगको प्रेमलाई । यस्तो प्रेमलाई प्रेम होइन् मोह भनिन्छ, यो शरीर सधैंभरिका लागि होइन्, जे जति प्रेम गरे  पनि नाश हुन्छ, यही यसको नियति हो । यति प्रेम यदि तपाईंले भगवान्सँग गर्नु भएको थियो भने तपाईंको जीवन धन्य हुनेथियो, तपाईंले यही आकर्षणलाई ईश्वर प्रेममा  परिवर्तित गर्न सके शाश्वत प्रेम पाउन प्रयास गरे, मेरा लागि सबैभन्दा बढी माया हुनेथियो ।
अब अन्य प्रकारका प्रेमको चर्चा गरौं, साधारण रूपमा हामी महिला-पुरुषको प्रेमका बारेमा चर्चा गर्छौं । माता-पिता तथा सन्तानको स्नेह सम्बन्धलाई पनि हामी धेरै मन  पराउँछौं । मित्रको मित्रतालाई पनि हामीले धेरै उच्च स्थानमा राखेका छौं तर प्रेमको मात्र यिनै रूपको चर्चा गर्ने हो भने प्रेम दिन अर्थात् भ्यालेन्टाइनडेको कुरा अधुरै  रहन्छ । प्रेमको बखान जति पनि किन नहोस् तर यो पनि सत्य हो कि संासारिक प्रेमको प्रकृति मरणधर्म हो । दुनियाँमा जति प्रेमी युगलले आफ्नो प्रेमलाई एउटा  लक्ष्यसम्म पुर्‍याउँछन् अर्थात श्रीमान्-श्रीमतीको दर्जा हासिल गर्न सफल हुन्छन् समयावधिमा प्रत्येक श्रीमान्-श्रीमतीको प्रेमको मृत्यु अवश्यम्भावी छ ।
दुनियाँको प्रेम पछि गएर हाम्रा लागि दुःखको कारण किन बन्छ, हामीले कहिल्लै सोचेका छौं ? किनभने साँसारिक प्रेमको सुरुवात दैहिक स्तरबाट प्रारम्भ भएर विरलै कसै -कसैको मानसिक स्तरसम्म पुग्छ । आत्मिक स्तरसम्म पुग्न त सांसारिक व्यक्तिहरूका लागि सम्भव हुँदैन् । यही कारण हो कि यस्तो प्रेमको सुरुवात जति उत्साह र  उमंगका साथ होस्, अन्त अवश्यमभावी छ । यदि कसैलाई जीवनभरि प्रेमबाट रिक्त हुने इच्छा छैन भने मानवतालाई भ्यालेन्टाइन बनाएर प्रेम गरे कुनै पनि व्यक्ति प्रेम सुधाबाट आकन्ठ हुन्छ । यस्तो प्रेम गर्न सिक्नै पर्छ जसको नशा जीवनभर कायम रहोस् । श्रीमान्-श्रीमती वा प्रेमी-प्रेमिकाले पनि आफ्नो प्रेम सम्बन्धको आरम्भ कुनै  असल विचारबाट गरे वैचारिक प्रेम सधैं जीवित रहन्छ । सबैको हृदय प्रेमबाट पुरित होस, कसैको जीवनमा प्रेमको कमी महसुस नहोस्, प्रेमको प्रसार होस्, देश, काल,  सीमा जाति, रंग, रूप सबैलाई पार गर्दै हाम्रो प्रेम सर्वजनीन होस, यही कामना गरौं, यही प्रण सच्चा श्रद्धान्जलि हुनेछ प्रेमका महान सर्मथक, सन्त भ्यालेन्टाइनलाई ।
भ्यालेन्टाइन डे मनाउनेहरू भ्यालेन्टाइन शब्दलाई एउटा काल्पनिक प्रेम प्रतीकका रूपमा बुझ्छन् तर यो शब्दका पछाडि एउटा दुःखद इतिहास छ । ईसाको तेस्रो  शताब्दीमा एकजना इसाई पादरी थिए जसको नाम थियो 'भ्यालेन्टाइन' ।
अन्य इसाई सन्तहरूजस्तो उनको सिद्धान्त र शिक्षा कठोर र निरश थिएन, उनी प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर थिए, अनि जीवनको प्रत्येक पक्षलाई  आनन्द र विवेकपूर्वक भोग्ने कुरामा विश्वास राख्थे । अन्य इसाई सुधारकहरू जस्तो मानिसलाई जन्मकैे आधारमा पापी मान्ने उनको शिक्षा थिएन् । उनी सही अर्थमा  मानवताका प्रेमी, कर्मठ, युवा-युवतीको खुसी चाहने व्यक्ति थिए । उनका अनुयायीहरूमा युवा-युवतीको संख्या विशाल थियो, किनभने भ्यालेन्टाइनको शिक्षा प्रेम र  भाइचारामा आधारित थियो । उनी मानव जीवनका प्रत्येक प्रेमस्वरूपलाई पूजाका रूपमा देख्थे ।
भ्यालेन्टाइनको जीवनकालमा रोमका राजा क्लाडियस थिए । राजा क्लाडियस अत्यन्त निरंकुश र दूराचारी स्वभावका थिए, नास्तिक भएका कारण क्लाडियस ईश्वरविरोधी  पनि थिए । विशाल सेना बनाउनु उनको लक्ष्य थियो । शत्रुलाई पराजित गर्नु र सदैव लडाइँ झगडामा लिप्त रहनु उनको स्वभाव थियो । गृहस्थ जीवनको समर्थनले  उनको लक्ष्यमा बाधा खडा गर्न सक्थ्यो । त्यसैले  उनको राज्यकालमा विवाह र प्रेम सम्बन्धमा रोक लगाइयो । राजा क्लाडियसको शाही फरमान अनुसार १८ वर्षका सबै  युवकलाई सेनामा भर्ती हुने आदेश थियो । उक्त आदेशको उल्लंघनको अर्थ थियो ठाढै देशद्रोह । त्यसैले धेरै युवा या त देश छोडेर पलायनतिर लाग्दै थिए वा लुकेर  घरभित्र बस्न बाध्य थिए, तर भ्यालेन्टायनले उक्त राजाज्ञाको प्रतिकार गर्ने निर्णय गरे ।


प्रेम र विवाहजस्तो संस्थालाई निषेध गर्नु उनको दृष्टिमा अन्याय थियो, भ्यालेन्टाइनजस्ता व्यक्ति चुप लागेर अन्याय सहन गर्न सक्दैनथे । उनले गुप्त रीतिले युवक र  युवतीहरूको विवाह गराउन थाले । त्यस्तो विवाह दिउँसो नभएर राती-राती हुन्थ्यो ।


प्रेमी-प्रेमिका रात परेपछि भ्यालेन्टाइन कहाँ जान्थे । भ्यालेन्टाइनले खुसीपूर्वक उनीहरूको विवाह सम्पन्न गराउँथे । विवाहको परम्परा विचित्र थियो न बेहुला-बेहुलीका  मातापिताको उपस्थिति, न साथी, न इष्टमित्र, तर ईश्वरको आशीर्वाद नवदम्पतीमाथि थियो । धेरै दिनसम्म यो सिलसिला कायम रहन सकेन, एक न एक दिन त यो रहस्य  खुल्नु नै थियो । एक दिन विवाहबेलामै क्लाडियसका गुप्तचरहरूद्वारा भ्यालेन्टाइनको रहस्य राजासमक्ष प्रकट भैहाल्यो र भ्यालेन्टाइनलाई बन्दी बनाइयो, तर भ्यालेन्टाइन  डराउने वा परास्त हुने खालका व्यक्ति थिएनन्, किनभने उनको दृष्टिकोणमा उनले कुनै अपराध गरेका थिएनन् ।


जेल पठाएर राजाले उनलाई मृत्यु दण्डको सजाय सुनाए, तर प्रेमका साधकलाई मृत्युदण्ड वा कुनै पनि सजायको भयले कहाँ विचलित अथवा पथ च्युत गर्न सक्छ ? जे लमा पनि उनका अनुयायी प्रेमीजनहरू भेट  गर्न आउँथे, त्यसमा जेलरकी छोरी पनि थिइन् । जेलरकी छोरीसँग उनको आत्मीयता बढ्दै गयो । आफ्नो जीवनको अन्तिम  दिन भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम सन्देश पठाए, जसको अन्तमा 'तिम्रो भ्यालेन्टाइन' लेखिएको थियो । यही उनको अन्तिम सन्देश थियो, त्यस दिनदेखि  आजसम्म फाँसीको दिन अर्थात् १४ फरवरीलाई भ्यालेन्टाइन डे प्रेमको महान समर्थक भ्यालेन्टाइनको नाममा मनाउने परिपाटीको प्रारम्भ भयो ।
रमा  सिंह  
साप्ताहिक