विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउँथे। कतिसम्म भने सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउँथे, कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउँथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे। त्यस्तो देख्दा म आफैँलाई पनि आश्चर्य लाग्थ्यो। आर्किटेक्ट इन्जिनियर र वास्तुविद्का नाताले त्यस्तो देख्दा अप्ठ्यारो लाग्नु स्वाभाविक पनि हो। तर, के नै पो गर्न सक्थेँ र ! त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।
त्यो प्रस्तावपश्चात् म अरू सबै काम छोडेर त्यसैको अध्ययनमा लागेँ। राष्ट्रको चिनारीसँग जोडिने काम आफूलाई सुम्पिएकामा औधी गौरव पनि महसुस भयो। परम्परादेखि चलिआएका विभिन्न किसिमका चन्द्रसूर्य अंकित झन्डाका नमुना खोजेँ। अहिलेजस्तो प्रविधिमा सहज पहुँच थिएन। अध्ययनका निम्ति सामग्री जुटाउन ज्यादै कठिनाइ बेहोर्नु पथ्र्यो। तर, हाम्रो घरमा जिजुहजुरबुबादेखि हजुरबुबा हुँदै बुबासम्म शास्त्रमा विशेष रुचि राख्ने हुँदा विद्वान्हरूको आवत-जावत बाक्लै हुन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यस्रमाट बालकृष्ण समलगायतका विद्वान्हरूको संसर्ग मैले त्यसै क्रममा प्राप्त गरेको हुँ। नेपाली राष्ट्रिय झन्डाको मानक बनाउने क्रममा उहाँहरूको सल्लाह, सुझाव र प्रेरणा मेरा लागि ज्यादै अविस्मरणीय रह्यो।
करबि तीन महिना त म सबै काम छोडी यसैको अध्ययनमा लागेँ। त्यसपछि मैले यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँ, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
त्यसपछि हाम्रो सांस्कृतिक परम्परामा सगुनका रूपमा रहेको सिमि्रक रंग भुइँमा र अनन्त आकाशको नीलो रंग राष्ट्रिय झन्डाको किनारामा प्रयोग गर्नु उपयुक्त ठानेँ। त्यसकारण यो अनुपात निश्चित गरेको हुँ। चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढंगले विचार पुर्याइएको थियो। त्यसैले गर्वका साथ भन्छु, संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।
पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र अंकित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। विभिन्न मुलुकको भ्रमण गर्दा मैले देखेको कुरा पनि त्यही हो। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो।
राष्ट्रका लागि केही गरेँ, मलाई त्यसैमा ठूलो गर्व छ। अझ ठूलो कुरा त, हाम्रो झन्डा संसारमै विलक्षण प्रकारको छ। यस किसिमको झन्डाले जोकसैको आँखा तान्छ। त्यति मात्र होइन, त्रिकोण आकारको यो झन्डा संसारकै सर्वोत्कृष्ट झन्डा हो।
प्रस्तुतिः ईश्वरी ज्ञवाली