मासिक १५ हजार ल्यापटप खपत

विश्वमा ल्यापटपका नयाँ–नयाँ ब्रान्ड उत्पादन हुने क्रमले गति लिइरहँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्लो समय नेपालमा ल्यापटप प्रयोगकर्ताको संख्यामा उलेख्य वृद्धि भएको छ । लोडसेडिङका समयमा पनि प्रयोग गर्न सकिने,
उत्पादकहरूबीचको प्रतिस्पर्धाले सस्तो बन्न पुगेको मूल्य, साना र प्रयोगमैत्री हुने ल्यापटपको बिक्री, सरल र सहज भएकाले ल्यापटप प्रयोगकर्ता बढेका हुन् ।  
नेपालमा सधैंभरि हुने लोडसेडिङले ल्यापटपप्रति आकर्षण बढेको हो ।
सूचना र प्रविधिको विकाससँगै ल्यापटप प्रयोगले काम सहजमात्र नभएर समयको बचत, छिटोछरितो, विश्वसनीयसमेत भएपछि पछिल्लो समयमा विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, व्यापारीलगायतले डेक्सटप छोड्दै ल्यापटप प्रयोग गर्न थालेका छन् । मासिक १५ हजारको हाराहारीमा नेपालमा ल्यापटप खपत हुँदै आएको छ । न्यूनतम ६ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका ल्यापटप नेपालमा प्रयोग हुने सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।

हाल साना ल्यापटपको माग मासिक १ सय ५० को हाराहारीमा छ । ‘बेलिया’ नेपाली ब्रान्ड र चीनमा बनेको यो ल्यापटपमा ३ घन्टा ब्याट्री ब्याकअप गर्ने क्षमता भएपछि थप आकर्षण बढेको हो । लोडसेडिङ बढ्दै गएपछि कम्प्युटरका प्रयोगकर्ता ल्यापटपबाट लाभान्वित हुन थालेकाले यसको व्यापार पनि बढेको सागर इन्फोसिसले जनाएको छ । डेक्सटप एकैठाउँ राख्नुपर्ने, लोडसेडिङका समयमा काम गर्न नसकिने भएपछि ल्यापटपमा ग्राहकको चासो बढ्न गएको हो ।
नेपालमा प्रचलनमा आएका ल्यापटपमध्ये डेल, एचपी, एसर, तोसिवा, एमएसआई, फुजित्सु, बेन्क्यु, हासीलगायत छन् ।  
गत वर्षको क्यान इन्फोटेक मेलादेखि ६ हजार ५ सय रुपैयाँमा मिनी ल्यापटप नेपालमा बिक्री सुरु गरिएपछि ग्रामीण क्षेत्रमा समेत यसको पहुँच बढ्दै गएको छ । पहिलो पटक नेपालमा ल्याउँदा माग अत्याधिक बढ्न गई माग धान्न कठिन भएको आईसीटी एसोसिएसन अफ नेपालका अध्यक्ष सागरदेव लाखेले बताए । “गत वर्ष कतिपयले हल्लाको भरमा मिनी ल्यापटप किने पनि हाल आएर प्रयोग नभएको अवस्था भएकाहरूलाई भोलिदेखि हुने आईसीटी इन्फोटे«ड मेलामा सानोसँग ठूलो ल्यापटप साटफेर गर्न सकिनेछ,” अध्यक्ष लाखेले भने ।  
विदेश भ्रमणमा जाँदा ल्यापटप लिएर आउने क्रम पनि बढेको छ । ल्यापटपका नयाँ–नयाँ ब्रान्डले सूचना प्रविधिको विकासमा थप सहयोग पुगेको छ । साना तथा मझौला खालका ल्यापटप बजार आएपछि यसका प्रयोगकर्ता पनि बढेका बढ्यै छन् ।  
नेपालमा मासिक १५ हजार ल्यापटप बिक्री हँुदै आएको छ । देशका अन्य भागमा यसका प्रयोगकर्ता कम भए पनि राजधानीमा ल्यापटप प्रयोगकर्ताको औसत संख्या भने धेरै छ । देशभरका ल्यापटप प्रयोगकर्तामध्ये झन्डै ८५ प्रतिशत जनसंख्या राजधानीमा रहेको पनि यससम्बद्ध व्यवसायीको अनुमान छ ।  नेपालमा ल्यापटप विक्रेताको संख्या करिब ४ सय ५० को  हाराहारीमा रहेको र त्यसमध्ये २ सय राजधानीमा र २ सय ५० ले राजधानी बाहिर कारोबार गर्ने गरेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ ।  
सरस्वती ढकाल
साभार : कारोबार दैनिक