
डेढ दशकदेखि परदेशमा सङ्घर्षरत यी युवा अहिले धेरै कलाकारको भविष्य बनाइदिने हैसियतमा छन्। कला निर्देशकको सहयोगीका रूपमा तारा लगायतका सिरियलमा काम गरेका पाण्डेले जी-टिभीबाट प्रसारित दिवार, राहे, साटरडे सस्पेन्स, एक्सजोन, संसार जस्ता सिरियलमा सहायक निर्देशक बनेर काम गरे। त्यसपछि मिडिटेक कम्पनीमा रहेर कभी बीबी कभी जाजुस मा मूख्य सहायक निर्देशकको जिम्मेवारी पाए। लगत्तै रोज मुभिजमा एसोसियट डाइरेक्टरको रूपमा जीत, गन्ज एण्ड रोजेज, लिपिस्टिक, इण्डिया कलिङ मा काम गरेका पाण्डेका लागि जी-टिभीको रियालिटी शो जी सिनेस्टारकी खोज पछि उज्याला दिन शुरु भएका थिए।
अमरधरा सिरियललको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका उनलाई यतिखेर भ्याइनभ्याइ छ। शुरुवातका दिनमा थुप्रै हण्डर खाँदै नेपाली भएकै कारण अनेकन् भेदभावसमेत खेपेका पाण्डेको करिअरले निर्देशकमा पदोन्नतिसँगै ठूलो फड्को मारेको छ। आफ्नै निर्देशनमा बनेको पछिल्लो सिरियल माताकी चौकी मा नेपालीहरूकै बाहुल्यता रहनुलाई सङ्घर्षको फल ठान्छन् उनी। सिरियल निर्देशनबाट मासिक भारु.३ लाखसम्म आम्दानी गरिरहेका पाण्डेले केही समयपछि मुम्बईको अनुभव प्रयोग गर्दै नेपाली चलचित्रको निर्देशन गर्ने सोच पनि बनाएका छन्।