समृद्ध विहार, खस्किँदो नेपाल

 

सन् २००५ अघिसम्म भारतीय राज्य विहारको परिचय गरिबी, अपराध अखडा, न्यून साक्षरता, जातीय हिंसा, लुटपाट, अपहरणजस्ता क्रियाकलापमा सीमित थियो । जातीय राजनीतिमा लोकप्रिय लालुप्रसाद यादवको १५ वर्षे शासनकालमा दण्डहीनता, भ्रष्टाचार, अपहरण, लुटपाटका घटना यतिसम्म फैलियो कि विहार जंगलराजको नामले चिनिन थाल्यो ।
'तपाईंको सरकार, तपाईंकै घरदैलोमा' नारा लिएर नीतिशकुमारले नोभेम्बर २४, २००५ मा सत्ता सम्हालेपछि विहारको परिचय फेरिएको छ । आव २००६/०७ यतामात्रै विहारले झन्डै २४ हजार किमि सडक निर्माण गरेको छ । राजमार्ग र सडक लगायत यातायात सुविधामा भएको विकासले सर्वसाधारणलाई यात्रा गर्दा लाग्ने समयमा आधै कमी आएको छ । फाइनान्सियल एक्सप्रेसका अनुसार, सडक निर्माणमा केन्द्रीय अनुगमनका लागि पछिल्लो मोबाइल फोन प्रविधि एन्ड्रोइड प्रविधि भित्र्याउने पहिलो राज्य भएको छ,

विहार । यसबाट विहार रोड डेभलपमेन्ट कर्पोरेसनले जिल्ला सदरमुकामबाट सडक निर्माणमा संलग्न इन्जिनियरहरूको अनुगमन गर्न सक्छ ।
विगत पाँच वर्षमा विहारमा २ हजार १ सय नदीसम्बद्ध पुल निर्माण भए, जुन चार दसकमा समेत भएको थिएन । नयाँ म्यान्डेटपछि नीतिशकुमार पहिलो कार्यकालमा प्राप्त उपलब्धिलाई थप मजबुत बनाउन लागिपरेका छन् । पहिलो कार्यकालमा विहारले शिक्षा क्षेत्रमा ठूलो प्रगति गर्‍यो । विद्यालय छोड्ने बालबालिकाको संख्यामा उल्लेख्य कटौती भएको छ । सन् २००५ मा बीचैमा पढाइ छाड्ने बालबालिकामा विहार भारतमै दोस्रो खराब अवस्थामा थियो । त्यतिबेला ६ देखि १४ वर्ष उमेरका करिब १७ प्रतिशत (३१.७ लाख) विद्यार्थीले बीचमै विद्यालय छाडेकोमा सन् २००९ मा यो ७ प्रतिशत (१३.१५ लाख) मा झरेको छ । उनले शिक्षा क्षेत्रमा सुरु गरेका परीक्षण निकै सफल रहे । यसमा बालिकाहरूको विद्यालय छाड्ने दरमा कमी ल्याउन सुरु गरिएको 'मुख्यमन्त्री बालिका साइकल योजना' निकै सफल रह्यो । यस अन्तर्गत आठ कक्षा पास गरेपछि छात्राले साइकल किन्न २ हजार रुपैयाँको चेक
पाउँछन् । विगत तीन वर्षमा सरकारले ८ लाख ७१ हजार विद्यालय छात्राका लागि साइकल किन्न १ सय ७४ दसमलव ३६ करोड रुपैयाँ खर्च गरिसकेको छ । अहिले तामिलनाडु, हिमाञ्चल प्रदेश, पश्चिम बंगाल र महाराष्ट्र राज्य पनि यसको सिको गर्दैछन् ।
उनको कार्यकालमा घरजग्गा कारोबार पनि निकै फष्टायो । व्यापारिक प्रयोजनका ठूला आधुनिक कम्प्लेक्स र मलहरू खुल्दैछन् । बलियो कानुनी संयन्त्र र शान्ति-सुरक्षाका कारण लगानीकर्ताहरू सुरक्षा अवस्थाप्रति विश्वस्त भई लगानी बढाउन थालेका छन् । लगानी बढेकोले पि्रपेडको टकटाइम पनि बढेको छ । बैंकिङ कम्पनीहरू स्वस्थ प्रतिस्पर्धा गर्दैछन् । तर विहारलाई आजको नयाँ अवस्थामा पुर्‍याउन निजी क्षेत्रको नभई सरकारी लगानीको ठूलो योगदान छ । पर्यटनमा समेत विहारले ठूलो उपलब्धि हासिल गरेको
छ । पर्यटन आगमन ४/५ वर्ष अवधिमा १ लाखबाट बढेर ४ लाख पुगेको छ ।
रिक्सा चालकको आम्दानीमा आएको वृद्धि शान्ति-सुरक्षा सुदृढ भएको एउटा संकेत पनि हो । राति ८ बजेपछि पनि यात्रु पाउने भएकाले पहिलाभन्दा बढी रकम घर लैजानसकेको उनीहरूको अनुभव छ । अपराध आधै घटेको छ । फिरौती माग्दै अपहरण गर्ने घटना १ हजार ३ सय ९० बाट नीतिशकुमारको अघिल्लो कार्यकालमा आइपुग्दा ३ सय १५ मा झरेको छ ।
'नेतृत्वमा रहनेहरूले कसरी विकासलाई निर्धारण गर्छन् भन्ने पुस्तक हो विहार', न्युयोर्क टाइम्सले केही समयअघि 'टनअराउन्ड अफ इन्डिया स्टेट कुड सर्व एज अ मोडल' लेखमा उल्लेख गरेको छ । विहार मोडल राज्यको रूपमा अघि बढिरहेको उक्त लेखमा छ । विहारले विकासमा मारेको फड्को आज भारतका अरू राज्य र नेपालजस्ता अविकसित मुलुकका लागि अध्ययनको विषय बनेको छ । इन्डिया टुडे पत्रिकाले सन् २००९ मा गरेको एक सर्वेक्षणमा भारतका २० ठूला राज्यमध्ये विहारलाई २० औं स्थानमा राखेको थियो । त्यो खासगरी प्राथमिक स्वास्थ्य र शिक्षा, लगानी वातावरण, बृहत अर्थतन्त्र र उपभोक्ता बजारका रूपमा वर्गीकरण गरिएको थियो । सर्वेक्षणमा विहार कृषिमा सोह्रौं, पूर्वाधारमा अठारौं र शान्ति-सुरक्षामा उन्नाइसौं स्थानमा छ ।  
यी सबै उपलब्धिका कारण विहारले चार/पाँच वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्‍यो । अहिले पनि वृद्धिदर ११ प्रतिशत हाराहारीमा छ । कृषि उत्पादकत्वमा वृद्धि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति-सुरक्षामा दिगो रूपले केन्दि्रत भएकाले यो वृद्धि सम्भव भएको हो ।
यी अद्भुत सफलताको बाबजुद केही निराशाजनक सामाजिक तस्वीर अझै बाँकी छ । जस्तो- विहार भारतमै उच्च बाल मृत्युदर हुने राज्यमध्येमा पर्छ । नेसनल फेमिली हेल्थ सर्वेअनुसार, हरेक १ हजार जीवित बालबालिकामध्ये ८५ जना जन्मेको पाँच दिनभित्र मर्छन् । कुपोषण विरुद्ध नागरिक गठबन्धनका अनुसार, विहारका ५८ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणले ग्रस्त छन् । गरिबीको अवस्था पनि निराशाजनक छ । नीतिशको दोस्रो कार्यकालमा सामाजिक क्षेत्रका यी निराशाजनक तस्वीर पनि विहारबाट मेटिने अपेक्षा विश्लेषकहरूको छ ।  
उनको समावेशी र सुधारवादी छविका कारण विहारी जनताले जातीय राजनीतिलाई बाइबाइ गर्दै दोस्रोपटक उनको गठबन्धनलाई अत्यधिक बहुमत दिलाए । यता साँध जोडिएको नेपाल भने पुरानो विहार हुने अवस्थामा छ । बढ्दो महँगी, बेरोजगारी, भुक्तानी असन्तुलनजस्ता समस्याले आक्रान्त छ, मुलुक । दण्डहीनता मौलाउँदैछ । चालु आवको चार महिनामा मुलुकको वस्तु व्यापार घाटा करिब १ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसँग तुलना गर्दा शोधनान्तर स्थिति केही सुधि्रए पनि अझै ५ अर्ब ३ करोड रुपैयाँ घाटामा छ । मूल्यवृद्धि दुई अंकबाट एक अंकमा झरे पनि नियन्त्रणमा आउनसकेको छैन । चार महिनामा उपभोक्ता मुद्रास्फीति ८ दसमलव ४ प्रतिशत छ । खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक उच्च -१३.३ प्रतिशत) हुँदा सीमित आय हुनेहरूको जीवन थप कष्टकर बनेको छ ।
राजनीतिक अन्योलतामाझ अध्यादेशमार्फत आएको बजेटको कार्यान्वयनमा चुनौती उत्तिकै छ । कार्यक्रम स्वीकृत गरी टेन्डर आह्वान, छनोट गरी सञ्चालन गर्न नै झन्डै ६ महिना लाग्ने र आर्थिक वर्षको आधा समय घर्किन लाग्दा बजेट आएकाले नयाँ विकास आयोजना यो वर्ष सञ्चालन हुने सम्भावना कम  छ । दलका भ्रातृ संगठनहरूबाट विभिन्न माग राखी स्थानीय जनतालाई अवरोध गर्न उक्साउने, असुरक्षा र चन्दा आतंक लगायतका कारण सुरु भएका विकास आयोजनाले समेत गति लिनसकेका छैनन् । लगानीको वातावरण राम्रो नहुँदा उद्योगधन्दा फस्टाउनसकेको छैन ।
सुशासनको अवस्था ज्यादै खराब छ । शक्तिको आडमा जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताले जरो गाडेको छ । अपराधीलाई राजनीतिक संरक्षण प्राप्त हुँदा पीडितले न्याय पाउनसकेका छैनन् । यो निराशाको बाबजुद राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देशमा सकारात्मक परिवर्तन सम्भव रहेको विहारको उदाहरणले देखाउँछ । खाँचो छ त नेताहरूकै सद्बुद्धिको ।
मैना धिताल  
साभार : इकांतिपुर दैनिक