विदेशमा रहेका नेपालीले पनि मतदाता परिचयपत्र पाउने

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई पनि फोटोसहितको मतदाता परिचयपत्र उपलव्ध गराउने भएको छ । त्यसका लागि विदेशमा रहेका नेपालीहरुको फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गर्ने तयारीमा आयोग जुटेको छ । आयोग कार्यवाहक प्रमुख निलकण्ठ उप्रतीले फोटोसहितको मतदाता नामावली संकलनका लागि सम्भाव्यता अध्ययन र प्राविधिक तयारीको काम भइरहेको जानकारी दिनुभयो । प्रत्येक नेपालीको मतदानमा भाग लिन पाउने अधिकारको सम्मान गर्दै आयोगले नयाँ व्यवस्था गर्न लागेको उप्रेतीको भनाई छ । आयोगले फोटोसहितको मतदाता परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य हुने स्पष्ट गरेको छ । आयोगले वैशाख महिना भरी आन्तरिक तयारी गरेर जेठबाट काम थाल्ने बताएको छ । आयोग प्रवक्ता राजेन्द्र शर्माले पहिलो चरणमा यूएई, साउदी अरव, मलेसिया र कतारबाट काम सुरु गरिने जानकारी दिनुभयो । मतदानका लागि भने सम्वन्धित तोकिएको जिल्लाको निर्वाचन क्षेत्रमै जानुपर्ने आयोगले जानएको छ । निर्वाचन आयोगले हाल मुलुकका तीन हजार नौ सय ६ गाविस र ५४ नगरपालिकामा फोटोसहितको मतदाता नामावली संकलन कार्य जारी राखेको छ ।