घले अस्ट्रेलियाका १७६ औं धनी

सिड्नी (अस्ट्रेलिया), जेष्ठ २३ -  नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनी कुल २ सय ६९ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित अस्ट्रेलियाका धनी व्यक्तिमा पुनः दर्ज भएका छन् ।
सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पत्ति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 
१६ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका घले छोटो समयमा नै परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका छन् । यहाँ बिजनेस विषय लिएर स्नातकोत्तर गरेका घलेले सुरुका समयमा सामान्य विद्यार्थीसरह नै दुःख गरेका थिए । २०१४ सालमा लमजुङ जिल्लामा जन्मिएका उनले राजधानीमा इन्जिनियरिङ विषय अध्ययन गरेका थिए ।
उनले सन् १९९६ मा स्थापना गरी सञ्चालन गरिरहेको इन्सिटच्युटमा स्नातकोत्तरसम्म अध्ययापन हुन्छ भने स्थानीय र विदेशी विद्यार्थीहरू अध्ययनरत छन् । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका घले अहिले पनि साधारण नेपालीसरह नै व्यवहार गर्छन् । उनी यहाँका सामाजिक संघसंस्थाहरूमा रहनुका साथै बन्न लागेको नेपाली सामुदायिक केन्द्रको समेत व्यवस्थापन समितिमा समेत सदस्य छन् ।
बीआरडब्लू पत्रिकाले अस्ट्रेलियाका धनी व्यक्तिहरूका बारेमा सर्वेक्षण गरेर नतिजा प्रकाशन गर्ने गर्छ ।
 नारायण खडका कान्तिपुर