टेलिकम आक्रामक विस्तारमा. एकै पटक एक करोड लाइन मोबाइल किन्दै

नेपाल टेलिकमले एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी गरेको छ। पटक पटक मोबाइल किन्ने झण्झटको विकल्पमा एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी टेलिकमले गरेको हो।  नेपालमा मोबाइल टेलिफोन सुरु भएको १२ वर्षमा टेलिकमका ४८ लाख जिएसएम मोबाइल उपभोक्ता छन्। टेलिकमले केही वर्षलाई माग धान्नेगरि एकैपटक एककरोड लाइन किन्ने तयारी गरेको हो। ५० लाख लाइन किन्ने तयारी भएकोमा धेरै पटक टेण्डर गरेर लामो प्रकृया लागिरहने, अख्तियार सार्वजनिक खरिद कार्यालय जस्ता निकायहरुमा उजुरी परेर लामो समय अड्किने र एकै पटक धेरै किन्दा सस्तो समेत पर्ने भएपछि टेलिकमले ठूलो परिमाणमा किन्ने तयारी गरेको छ।
‘केही दिनभित्रै यसको विस्तृत प्रस्ताव तयार गरेर सञ्चालक समितिमा पठाउँदैछौं,' टेलिकम स्रोतलेभन्यो। ५० लाख लाइन मोबाइल किन्ने तयारी भएपनि कम्पनीका उच्च अधिकारीहरुबीच एक करोड लाइन किनेर काठमाडौंमा पुरै नयाँ प्रविधि जडान गर्ने योजनामा लागेका छन्।
एक करोड लाइन एकै पटक किन्दा आर्थिक रुपमा फाइदा हुने विश्लेषण टेलिकम अधिकारीहरुको छ। धेरै लाइन एकै पटक किन्दा सस्तोमा सप्लायर्स कम्पनीले दिने संभावना रहन्छ। चार वर्ष अघि टेलिकमले ३५ लाख लाइन किन्दा जेडटीईले प्रति लाइन ३ अमेरिकी डलर तिरेको थियो।
तर एकै पटक एक करोड लाइन किन्दा छिटो गतिमा आउने प्रविधिको परिवर्तनले पछि समस्या ल्याउनसक्ने विश्लेषण केही अधिकारीहरुको छ। ‘एक करोड लाइन भनेको टेलिकमको लागि धेरै ठूलो प्रोजेक्ट हो, धेरै किन्दा पछि के गर्ने भन्ने समस्या आउनसक्छ,' टेलिकमका एक उच्च अधिकारीले भने।
१२ वर्षसम्म मोबाइल वितरण गर्दा बल्ल ४८ लाख ग्राहक भएको अवस्थामा एक करोड लाइन किन्दा अर्को १० वर्षलाई माग धान्न सक्छ। यसको साथै हरेक २/३ वर्षमा प्रविधिमा भैरहेको परिवर्तनले यति धेरै लाइनमा समस्या आउनसक्ने भन्दै केही अधिकारीहरुले अहिलेनै ठूलो परिमाणमा किन्न नहुने सुझाव दिइरहेका छन्।
अहिले सिमकार्ड नभएकोले टेलिकम आक्रामक रुपमा ग्राहक विस्तारमा जान सकेको छैन।
पटक पटक गरिएका टेण्डर अख्तियारमा पुगेर रद्ध भएकोले टेलिकम एकै पटक एक करोड लाइन किन्न वाध्य भएको अर्का एक अधिकारीले बताए। ‘अहिले हामीले उपभोक्ताको माग अनुसार सिमकार्ड बाड्न सकेका छैनौ, यो हुनुमा सिमकार्ड प्रयाप्त नहुनु हो,' स्रोतले भन्यो। सिमकार्ड प्रयाप्त हुन एकैपटक ठूलो मात्रामा किन्नैपर्ने वाध्यता आएको ती अधिकारीले बताए।
प्रतिस्पर्धी कम्पनीहरु ग्राहकले भनेको समयमा सिमकार्ड बाँडेर आक्रामक रुपमा आइरहेको तर टेलिकमले भने माग अनुसार सिमकार्ड दिन नसकेको विश्लेषण गर्दै टेलिकम अधिकारीहरुले सञ्चालक समितिमा एक करोड लाइन जिएसएम मोबाइल किन्ने प्रस्ताव लैजाने तयारीमा छन्।
२० लाख सिडिएमए हुवाईसँगः
यसैबीच टेलिकमले चीनको हुवाईसँग २० लाख सिडिएमए मोबाइल किन्ने निर्णय गरेको छ। सबैभन्दा सस्तो दरमा सिडिएमए मोबाइल बेच्ने प्रस्ताव गरेको हुवाईसँग टेलिकमले २० लाख लाइन किन्ने निर्णय गरेको छ। यसअघि नेपालमा मोबाइल टेलिफोन उपकरणमा जेडटिई कम्पनीको एकाधिकार थियो।

हुवाईले आइपी सिडिएमए मोबाइल एक वर्षदेखि १८ महिनाभित्र टेलिकमलाई डेलिभरी दिन सुरु गर्नेछ। यसबाट उच्चगतिको इन्टरनेट समेत चल्छ। यसलाई तारवाला टेलिफोन नपुगेका गाउँगाउँमा सूचना प्रविधि विस्तार गर्ने योजना टेलिकमको छ।

हुवाईले यस पटक जेडटिईभन्दा सस्तो दरमा मोबाइल उपकरण दिने प्रस्ताव गरेको थियो। टेलिकमले पूर्वी र पश्चिमी क्षेत्रमा २० लाख इन्टरनेट प्रोटोकल (आइपी) सिडिएमए फोन किन्न टेन्डर आह्वान गर्दा हुवाईले सबभन्दा सस्तो मूल्य प्रस्ताव गरेको स्रोतले जानकारी दियो।

टेलिकमका एक उच्च अधिकारीका अनुसार हुवाईले पूर्वको १० लाख मोबाइललाई १ करोड १० लाख अमेरिकी डलर मूल्य प्रस्ताव गरेको छ। यो जेडटिईको तुलनामा आधा सस्तो हो। पश्चिमी क्षेत्रलाई २ करोड ६६ लाख डलरको प्रस्ताव गरिएको छ। जेडटिईको प्रस्ताव योभन्दा १ करोड ८१ लाख डलर बढी छ।
गत चैत अन्तिम साता टेलिकमले खोलेको ग्लोबल टेण्डरमा चीनका हुवाई र जेडटिई, कोरियाको कोरियन टेलिकमले प्रतिस्पर्धा गरेका थिए। ‘दुई चिनियाँ कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने देखेर विश्वका अरू कम्पनीले टेन्डरमा भागै लिएनन्,' स्रोतले भन्यो।
सधैंभरी टेलिकमको मोबाइल उपकरण टेन्डर हात पार्दै आएको जेडटिईलाई धक्का दिनेगरी यसपटक हुवाईले निकै सस्तो मूल्य प्रस्ताव गरेको थियो। यसअघि हुवाईले टेलिकमलाई १० लाख जिएसएम मोबाइल बेच्ने अवसरमात्र पाएको थियो। जेडटिईले भने टेलिकमलाई एकैपटक ३५ लाख जिएसएम मोबाइल बेचेको थियो। चार वर्षअघि यो कम्पनीले प्रतिलाइन तीन डलरमा मोबाइल उपकरण बेचेको थियो।
जेडटिईले बेचेका उपकरणको गुणस्तर कमसल भयो भनी लामो समयदेखि आलोचना हुँदै आएको छ। जेडटिईको सामान बिक्री गरिसकेपछि सेवा राम्रो नभएकोले पनि मोबाइल सेवाको गुणस्तर कम भएको धारणा बेलाबखत टेलिकमका अधिकारीहरुले बताउँदै आएका छन्।
दुई वर्षयता कुनै पनि नयाँ परियोजना सुरु गर्न नसकेको टेलिकमले सबै गाविसमा यसबाट उच्च गतिको इन्टरनेट पुर्‍याउने योजना बनाएको छ।
जेडटिई र हुवाई संसारमै सबैभन्दा सस्तो भाउमा दूरसञ्चारका उपकरण बेच्न आक्रामक प्रतिस्पर्धा गरिरहेका छन्। यी दुई कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर नोर्टेल जस्तो युरोपको पुरानो कम्पनी समेत बन्द भएको छ।
तत्काल चारलाख लाइन किन्ने
काठमाडौं - टेलिकमले आइपी सिडिएमए ल्याउन झण्डै डेढ वर्ष लाग्ने भएपछि ‘ब्रिजिङ प्रोजेक्ट' को रुपमा चारलाख लाइन मोबाइल किन्ने निर्णय गरेको छ।

सञ्चालक समितिको आइतबारको बैठकले वार्ताका आधारमा चारलाख सिडिएमए मोबाइल किन्ने निर्णय गरेको छ। ‘पहिले किनेको भन्दा बढी मूल्य नपर्ने गरी वार्ताको आधारमा उपयुक्त कम्पनीसँग सिडिएमए मोबाइल किन्ने निर्णय भएको छ,' टेलिकम स्रोतले भन्यो।
आइपी सिडिएमएको लागि हुवाईले प्रस्ताव गरेभन्दा बढी मूल्य नतिर्ने गरी वार्ता अघि बढाउन सञ्चालक समितिले कम्पनी व्यवस्थापनलाई स्वीकृती दिएको छ। ‘हुवाईसँग किन्ने सम्झौता भएको २० लाख लाइन आएर सेवा सुरु हुन डेढ वर्ष लाग्ने भएपनि त्यस अवधिमा माग अनुसार टेलिफोन दिन ब्रिजिङ प्रोजेक्टको रुपमा यो चारलाख लाइन किन्ने निर्णय भएको हो,' टेलिकम स्रोतले भन्यो।
यसको लागि कम्पनी व्यवस्थापनलाई हुवाई र जेडटीइसँग वार्ता अघि बढाउने निर्देशन सञ्चालक समितिले दिएको छ। गाउँमा बढी माग भएको सिडिएमए मोबाइलको क्षमता समाप्त हुन लागेकोले ठूलो मात्रामा नआएसम्मको लागि सानो परिणाम किन्ने निर्णय टेलिकमले गरेको हो।
‘पहिले जेडटीईसँग किनेको र हालै हुवाईसँग सम्झौता भएको दरभन्दा बढी मूल्य भने ब्रिजिङ प्रोजेक्टको लागि नतिर्ने निर्णय भएको हो,' टेलिकम स्रोतले भन्यो।
 नागरिक