वायरलेसले जोडेको गाउँ

म्याग्दी- इन्टरनेट प्रविधिको दुनियाँमा पछिल्लोपटक भित्रिएको रोमाञ्चकारी प्रविधि हो, वायरलेस नेटवर्किङ । १० वर्षअघि महावीर पुनको अगुवाइमा जिल्लाको उत्तर-पूर्वी डाँडो महरेमा ७५ किमि परको पोखराबाट ताररहित इन्टरनेट दुर्गम बस्ती छिरेको थियो ।
सूचना र सञ्चारको माध्यमबाट ग्रामीण जीवनमा सामाजिक र आर्थिक रूपान्तरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको ताररहित इन्टरनेट सञ्जाल महावीरको नेतृत्वमा १३ जिल्लामा विस्तार भएको छ । म्याग्दी जिल्लाका २४ गाविसका ४० बढी विद्यालयमा सञ्जाल फैलिएको छ । सन् २००१ मा बीबीसीमा महावीरको इमेल वार्ता प्रकाशित भएपछि सुरु भएको हो, हिमाली बस्तीमा ताररहित इन्टरनेट अभ्यास । र यो प्रविधिलाई दुर्गम बस्तीमा भित्र्याउन बेल्जियमका जोहाज र फिनल्यान्डका जोनीको योगदान महत्त्वपूर्ण छ । पुनको इमेल वार्तालाप पढेपछि यी विदेशी तन्नेरीहरूमध्ये फिनल्यान्डका जोनीले वायरलेस नेटवर्क कार्डलाई पहिलोपटक नागी ल्याई अभ्यास गरेका थिए । जुन लामो अभ्यासपछि सफलता मिल्यो । उनले नै नेपाल वायरलेस नेटवर्कको वेभसाइट सञ्चालनमा आर्थिक सहयोगसमेत गरे ।
घर वा कार्यालयमा वायरलेस नेटवर्क सजिलै जडान गर्न सकिन्छ । दुइटा पीसी वायरलेस नेटवर्कले जोड्न सक्नुहुन्छ । यस प्रविधिलाई ८०२.११ बी भनिन्छ । सन् २००२ मा नागी र पारीपट्टिको राम्चे गाउँमा यही प्रविधिमा अभ्यास गरिएको हो । वायरलेस नेटवर्कमा इन्प|mारेड, ब्लु टुथको प्रयोग गरिन्छ । वायरलेस प्रविधिले देशका बस्ती-बस्तीलाई जोड्ने प्रयास भइरहेको छ । ८०२.११ बी स्ट्यान्डर्डको अधिकतम क्षमतामा स्पिड र रेन्ज दुवै बढाएर पोखराबाट म्याग्दीको नागीसम्म ताररहित इन्टरनेट ल्याइएको हो । परीक्षणकालमा ताररहित इन्टरनेट सञ्चालन गर्न टेलिभिजनका डिसएन्टेना, स्थानीय गाउँमा फालिएका सिलट र स्टिलका सामग्रीहरूको प्रयोग गरेको थियो । वायरलेस नेटवर्कमा एक्सेस प्वाइन्टलाई एकै रुट र हवमा जोडिएको हुन्छ । यसरी नेटवर्क गरिएको वायरलेस इन्टरनेटलाई विभिन्न गाउँमा नेटवर्किङ सफ्टवयरमा नम्बर राखेर वितरण गरिएको छ ।
'१० वर्षलाई फर्केर हेर्दा आफैं रोमाञ्चक हुन्छु । सूचना र सञ्चारको माध्यमले ग्रामीण जीवनको सामाजिक र आर्थिक रूपान्तरण गर्ने मेरो अभियान जारी छ । यही बीचमा स्थापना गरेको ताररहित इन्टरनेट देशका १३ जिल्लामा पुग्यो । म्याग्दीका २४ गाविसमा विस्तार छ । यो १० वर्ष ताररहित इन्टरनेट र कम्प्युटर शिक्षाको सामाजिक प्रभावबारे अध्ययन गर्न फुर्सद पाएको छैन । मलाई थाहा छ, गाउँलेहरू कम्प्युटर नपढे पछि परिन्छ भन्ने चेतना राख्छन्', नेपाल वायरलेस नेटवर्कका संस्थापक महावीरले सुनाए ।
बस्ती-बस्तीमा ताररहित इन्टरनेट पुगेपछि बिहान गाई/भैंसी गोठमा भकारो सोहर्दै र बेलुकी घाँसपात गर्दै हुर्केका गाउँले किशोरहरूमा विस्तारै कम्प्युटर 'क्रेज' पनि बढ्दै गएको छ । इन्टरनेटमा सहज पहुँचले दुर्गमका युवायुवतीको सामाजिक हैसियतमा समेत वृद्धि भएको छ । गाउँबाट सहर झर्दा उनीहरूले 'पाखे'को हीनताभाव बोक्दैनन्, बरु सहर-बजारका तन्नेरीले भन्दा उच्च योग्यता देखाएका छन् ।
मेलापात र चुलोचौकोमा सीमित ग्रामीण महिलाहरू गोबर लत्पतिएका हातले कम्प्युटरका 'कि-बोर्ड' चलाइरहेका छन् । कम्तीमा युवा उमेरका महिलाहरू विदेशमा रहेका आफन्तलाई बिजुली हुलाकबाट चिठीपत्र लेख्नसक्ने भएका छन् । किशोरीहरू फुर्सदको उपयोग सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा झुम्मिन थालेका छन् । नागी गाउँका ३० वर्ष मुनिका अधिकांश युवायुवतीको इमेल/इन्टरनेटमा सहज पहुँच छ ।
'अरबमा रहेका श्रीमानलाई गाउँको विद्यालयमा जोडिएको कम्प्युटरबाट लेखेको चिठीलाई बिजुली हुलाकबाट पठाउन थालेको पनि १० वर्ष पुगेछ', राम्चे गाविस- १ की राममाया पुनले बताइन् । 'महावीरको कम्प्युटर' उत्तरी भेगका दुर्गम बस्तीका शिक्षक र तन्नेरी पुस्ताका लागि 'नशा'झैं लागेको छ । थोरै पाको पुस्ता र गृहिणीहरू पनि लाभान्वित भएका छन् । प्रविधि बुझ्न रुचि राख्नेलाई उमेरले छेक्दैन भन्ने राम्रो उदाहरण हुन्, नागीका पूर्वशिक्षक ६० वर्षे अमरबहादुर पुन । ५८ वर्षको उमेरबाट कम्प्युटरको आधारभूत सीप सिकेका पुनले अहिले कम्प्युटरको सामान्य सफ्टवेयरको विषयमा जानकारीमात्र होइन, सामाजिक सञ्जाल फेसबुकसमेत चलाउन सक्छन् । 'कम्प्युटर र इन्टरनेट आएपछि अरू धेरै कुरा नजाने पनि आफ्नो याहुको इमेल आईडी खोलेर चिठी लेख्ने र आएको इमेल पढ्ने भएकी छु । सबभन्दा ठूलो कुरो यो अनौठो वस्तु कम्प्युटर वा ल्यापटप यस्तै हुन्छ तथा यसरी खोल्नुपर्छ भन्ने जानेकी छु', राम्चे गाविस- २ नागीकी यामश्री फगामी पुनले बताइन् ।
गाउँ-गाउँका विद्यालयमा ऐच्छिक विषयको रूपमा कम्प्युटर अध्यापन गराउन थालिएको छ । स्थानीय हिमाञ्चल उच्च मावि र पाउद्वार माविले विगत ११ वर्षदेखि कम्प्युटर विषयमा दुई सय बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गराएका छन् । यी विद्यालयबाट कम्प्युटर विषय लिएर एसएलसी उत्तीर्ण युवायुवतीले एनजीओ/आईएनजीओ, शिक्षक, सञ्चारमाध्यममा अवसर पाएका छन् । मेलापात, घाँस-दाउरा र गाईगोठ गर्दै गोबर लत्पतिएका हातले 'कि-बोर्ड' थिच्दै पढेको गाउँले तन्नेरी कम्प्युटर इन्जिनियर बन्नु आफैंमा उपलब्धि हो ।
'हामीले ०५८ सालदेखि कक्षा ८, ९ र १० मा कम्प्युटर विषयको अध्ययन सुरु गर्‍यौं । अहिले कक्षा १२ सम्म कम्प्युटर विषयको पढाइ हुन्छ । हाम्रो विद्यालयबाट कम्प्युटर विषय पढेकाहरू एउटा पनि बेरोजगार छैनन् । हाम्रा विद्यार्थीले छिमेकी गाउँका विद्यालयहरूमा कम्प्युटर शिक्षकका रूपमा अवसर पाएका छन् । कम्तीमा अरब गएकाले पनि इमेल गरी घरमा चिठीपत्र पठाउँछ', हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले बताए ।
त्यतिमात्र हो र ! ताररहित इन्टरनेटको प्रवेशसँगै दुर्गम बस्तीको कठिन जीवनशैलीलाई केही सुधार ल्याउन नागी गाउँमा २४ सै घन्टा खुल्ला रहने टेलिमेडिसिन सेवा सञ्चालनमा  छ । दुर्गम बस्तीमा टेलिमेडिसिन सेवा, कुरा सुन्दा पत्याउनै गाह्रो । भिडियो कन्प|mेन्सको माध्यमबाट पोखरा र काठमाडौंका डाक्टरले दिएको 'प्रेस्त्रिmप्सन'का आधारमा गाउँमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई औषधी दिन्छन् ।
गाउँमा एक स्वास्थ्यकर्मी राखी स्वास्थ्यचौकी चलाएको छ । सानातिना रोगको उपचार गाउँमै हुन्छ । गाउँमा उपचार गर्न नसकिने जटिल तथा आपत्कालीन अवस्थामा टेलिमेडिसिनको सहायता लिने गरिएको छ । टेलिमेडिसिनका लागि पोखरामा डाक्टरसँग परामर्श गर्दा बिरामीलाई पैसा लाग्दैन, तर औषधी दिएको चाहिँ न्यून शुल्क लगाइन्छ ।
कम्प्युटर शिक्षा र ताररहित इन्टरनेट पुगेपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन इ-हाटबजार खोलिएको छ, ती गाउँमा । बदलभित्रका हिमाली गाउँका कृषि उत्पादनलाई बजार पुर्‍याउन इन्टरनेट हाटबजार सञ्चालनमा छ । इ-हाटबजारले भैंसी किन्न विभिन्न गाउँका गोठ-गोठ चहार्नु नपर्ने भएकाले ग्रामीण जनजीवन सहज हुँदै गएको छ ।
डाँडाकाँडामा पुर्‍याइएको ताररहित इन्टरनेटको लाभ दुर्गम पहाडी र हिमाली बस्तीका गाउँलेहरूमात्र होइन, हवाइजहाजमा पोखरा-जोमसोम ओहोर-दोहोर गर्ने सुकिला-मुकिलाले समेत लिएका छन् । महावीर पुनकै अगुवाइमा अन्नपूर्ण साउथ छेउमा अग्लो खम्बामा राखिएको बैसाला नामक यन्त्रले यस क्षेत्रमा बहने हावाको आदर्रता, शुष्कता, हावाको गति, पानीको मापन र सूर्योदय र सूर्यास्तको समयावधिलाई मापन गरिरहेको छ । स्वचालित क्यामेराले त्यस क्षेत्रको मौसमी तस्बिरलाई इन्टरनेटमा 'अपलोड' गरिरहेका छन् । स्वचालित यी उपकरणले निरन्तर इन्टरनेटमा सूचना उपलब्ध गराउने भएकाले जोमसोम र पोखरा विमानस्थलमा बसेर पोखरा-जोमसोम एयर
रुटको जलवायुको अनुगमन र विश्लेषण गर्ने गरिएको छ ।
घनश्याम खड्का
 कान्तिपुर