लुम्बिनीलाई स्याटलाइट सहर बनाउने एपेकको घोषणा

लुम्बिनीलाई आधुनिक स्याटलाइट सहरका रूपमा विकास गर्ने एसिया प्यासेफिक एक्सचेन्ज कोअपरेसन -एपेक) का उच्च पदाधिकारीले जानकारी दिएका छन् ।
एपेकका सहअध्यक्ष कोलिन ह्याचमिनसहितको टोलीले बिहीबार लुम्बिनीको स्थलगत भ्रमण गर्दै उक्त जानकारी गराएको हो । 'लुम्बिनीलाई पवित्र तीर्थस्थलका रूपमा आधुनिक स्याटलाइट सहर बनाउने योजना छ,' सहअध्यक्ष कोलिनले पत्रकारहरूसँग भने, 'लुम्बिनीको ऐतिहासिक संरचना, प्राचीन स्मारक र सांस्कृतिक सम्पदा संरक्षण गरी पुरानो गुरुयोजनालाई सघाउँदै आधुनिकीकरण गर्दै जाने लक्ष्य छ ।'
लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल, सडक, रेलवे, सूचना प्रविधि, सञ्चार सेवा पुर्‍याई अत्याधुनिक स्याटलाइट सहर बनाउने योजना राखेको एपेकका सदस्य नरेन्द्र उलकले जनाकारी दिए । नेपालीका तर्फबाट उलक रहेको भ्रमण टोलीमा ८ जना थिए ।
यसअघि एपेकसँग आबद्ध ताइवानको ताइतुङ कम्युनिकेसन कम्पनी लिमिटेड लुम्बिनीमा अत्याधुनिक सञ्चार सुविधासम्बन्धी सहयोग गर्न प्रारम्भिक अध्ययन गरेर फर्किसकेको छ । लुम्बिनीलाई इस्लामको मक्का र इसाईको जेरुसेलमजस्तै पवित्र धार्मिक तथा पर्यटकीय स्थल बनाउने महत्त्वाकांक्षी लक्ष्य एपेकले लिएको छ ।

सहअध्यक्ष कोलिनका अनुसार पहिलो चरणमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलका रूपमा चाहिने सुविधा उपलब्ध गराइनेछ । यसका लागि तत्काल आधुनिक मोबाइल सेवा, स्याटलाइट फोन र अन्य आधुनिक सञ्चारका पूर्वाधार सुरु गरिनेछ । लुम्बिनीजस्तो पवित्र तीर्थस्थलमा सघाउन अनेकौं राष्ट्रबाट धेरै संघसंस्थ्ाा इच्छुक रहेको र चीनसहित धेरै देशबाट सहयोग जुट्ने दाबी उनले गरे ।
एपेकले लुम्बिनीको विकासमा ३ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेपछि लुम्बिनी भ्रमण गर्ने सहअध्यक्ष कोलिन पहिलो उच्च पदाधिकारी हुन् । उनी चीनका दुई पत्रकारसहितका प्रतिनिधि बिहान दुई हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गरेका थिए ।


लुम्बिनीमा महत्त्वाकांक्षी परियोजना घोषणा गर्ने उक्त संस्थाको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला एपेकले लुम्बिनीमा आफ्नो उपस्थिति देखाउन थालेको हो । 'कोलिनसहितको टोलीले लुम्बिनी भ्रमण गरेपछि यहाँ अब केही हुन्छ भन्ने विश्वास बढेको छ,' लुम्बिनी विकास कोषका कोषाध्यक्ष मझिलाल थारू थनैतले भने ।
यसअघि चीनको एसियन प्यासेफिक इकोनोमिक फन्डले लुम्बिनीलाई सहयोग गर्ने भनेको ८ अर्ब रुपैयाँ पनि अब यही संस्थामा समावेश भएको उलकको दाबी छ । उनका अनुसार एपेकको लुम्बिनीमा ९ वर्षको कार्ययोजना हो । काम सुरु गरेको पहिलो २ वर्षका लागि साढे १ अर्ब अमेरिकी डलर छुट्याइनेछ ।
एपेकले बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायत बौद्ध सर्किट स्थलको सडक, विद्युत्, खानेपानी, सञ्चार, यातायातजस्ता भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्ने जनाएको छ । बुद्ध सर्किट क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको आर्थिक स्तर उकास्ने खालका आयमूलक योजना पनि दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने कोलिनले बताए । टोलीलाई लुम्बिनी गुरुयोजनाबारे कोषका सूचना अधिकृत हरि राईले जानकारी गराएका थिए ।

कोच्चिँदै पुलिसको गाडीमा कोलिनसहितको टोलीको लुम्बिनी भ्रमणबारे कोषलाई पूर्वजानकारी नहुँदा हेलिकप्टरबाट ओर्लनासाथ टोलीले लुम्बिनीको सूचना केन्द्रसम्म पुग्न प्रहरी गाडीको सहारा लिनुपर्‍यो ।
अवतरण भएपछि उक्त टोलीलाई स्वागत गर्न कोषका कोही पनि पदाधिकारी हेलिप्याडसम्म पुगेनन् । न त उनीहरूलाई लिन कुनै गाडीको नै प्रबन्ध थियो । अतिथिलाई लिन कुनै गाडी आएको नदेखेपछि इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवी पौडेलले आफ्नो गाडी दिएका थिए । गाडीको पछाडिपट्ट िकोचाकोच गर्दै टोली सूचना केन्द्र पुगेको थियो । कोषका कोषाध्यक्ष मझिलाल थारू थनैतले कोलिनको लुम्बिनी आगमनप्रति आफूलाई पूर्वजानकारी नभएको बताए । सूचना केन्द्रका हरि राईले कति जना, कसरी र कुन समयमा आउने भन्नेबारे जानकारी नहुँदा व्यवस्थापन गर्न नसकेको जानकारी दिए ।  'दुईवटा हायस गाडी लिन विमानस्थल पठायौं,' राईले भने, 'उड्नुअघि कुनै जानकारी भएन र एक्कासि हेलिकप्टर लुम्बिनीमा अवतरण गरेपछि मात्रै थाहा पाइयो ।'

Butwalonline