राष्ट्रिय पोसाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोसाक, झन्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन्। विभिन्न मुलुकमा प्रायः महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोसाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इंगित गर्छ। महासभा चलिरहेको बेला संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्क पुगियो भने विभिन्न रङ्ग र अनेक ढङ्गका पोसाक लगाएका मानिसहरू भेटिन्छन्, देखिन्छन्। सबैलाई उस्तै अनुभूति दिने मौसममा कसैले पातला पिलपिल परेका लुगा लगाइरहेका हुन्छन् त कसैले बाक्ला न बाक्ला हेर्दै उकुसमुकुस हुने प्रकारका, कतिले टाउकोमा अनेक आकारप्रकारका फेटाजस्ता तर अरू नै केही गुथिरहेका देखिन्छन् त कतिचाहिँ पुरुषहरूले पनि टाउको छोपेका (महिलाले टाउको छोप्ने चलन धेरै ठाउँमा छ) र पाइतालासम्म पुग्ने लामा गाउनजस्तै पोसाक लगाएका। विभिन्न देशका मानिस र तिनले लगाएका राष्ट्रिय पोसाकहरूको रमिता नै हुन्छ त्यहाँ।
हरेक पुराना कुरा र संस्कार नराम्रा हुँदैनन्। विभिन्न मुलुकका इतिहासमा ठूला–ठूला परिवर्तनहरू भएका छन्। राजतन्त्र फालिएका देशहरू पनि धेरै छन् तर राजतन्त्रको अन्त्य हँुदैमा सबै राष्ट्रिय पहिचानलाई मेटाइँदैन। संसारमा धेरै मुलुकमा राजा–महाराजा थिए, उनीहरूको पुस्तेनी शासन नरहे पनि इतिहासको कालखण्डमा उनीहरूले देशका लागि गरेको योगदानको मूल्याङ्कन, आफ्नो देश बचाउन अपनाएका रणनीतिहरूको सिकोजस्ता कुराहरू वर्तमानमा भइरहेकै हुन्छन्।
नेपालको राष्ट्रिय पोसाक, झन्डाजस्ता कुराहरू राजाहरूको पालामा परिकल्पना गरिए पनि ती राजतन्त्रका होइनन् नेपाल देशका पहिचान हुन्। जुन कुरामा प्रत्येक नेपाली (फेर्ने प्रस्ताव गर्नेबाहेक) को आत्मीयता गाँसिएको छ, आफ्नोपन जोडिएको छ। राष्ट्रिय पोसाककै रूपमा रहेको सारी–चोलो दक्षिण एसियाली महिलाले लगाए पनि दौरा–सुरुवाल विश्वमै 'युनिक' छ, नेपालको राष्ट्रिय झन्डा पनि संसारमै फरक मानिन्छ। वास्तवमा युनिक हुनु–नहुनुसँग राष्ट्रियतासँग सम्बन्धित कुराहरूले खासै अर्थ राख्दैन पनि। हाम्रो झन्डालाई विश्वले राम्रो भन्नुको कारणचाहिँ के हो भने कतिपय देशका झन्डामा अङ्कित चिह्नहरू के हुन् भनेर अत्तोपत्तो पाउन नसकेपछि यसको अर्थ के हो भनेर सोध्नुपर्छ। तर, हाम्रो यति सजिलो छ कि चन्द्रमा र सूर्यलाई यो पृथ्वीमा जसले पनि चिन्छ र हाम्रो झन्डाको रङ्ग र डिजाइनको संयोजन छुट्टै प्रकारको छ। हाम्रो राष्ट्रिय पोसाक पनि आकर्षक नै मानिन्छ। जस्तो भए पनि आखिर राष्ट्रिय पोसाक हो, बूढीआमा राम्री भइनन् भनेर आधुनिक भनाउँदा छोराछोरीले हेला गर्न मिल्छ र?
नयाँ नेपाल राष्ट्रिय पोसाक लाउँदैनौँ भनेर, झन्डा परिवर्तन गरेर, सालिक फोरेर या मन्दिरका पुजारी फेरेर बन्दैन। देशमा परिवर्तन ल्याउनलाई सोच र कार्यशैलीमा फेरबदल ल्याउनुपर्छ। आफ्नो देशको राष्ट्रिय पोसाक या अन्य राष्ट्रिय चिह्नहरू फेर्ने या नफेर्नेजस्ता कुराहरूको निर्णय कुनै एउटा राजनीतिक पार्टीले गरेर हुँदैन पनि। यस्ता संवेदनशील कुराको निर्णय जनताले गर्नुपर्छ। पार्टी, गुट, उपगुट आ–आफ्नो होला तर यो देश सबै नेपालीको बराबरी हो। यस्ता कुरामा क्षेत्रीय भावना मात्र भएका भुरे–टाकुरे दलको त के कुरा राष्ट्रिय मानिने नै कुनै राजनीतिक पार्टीहरूले पनि आफूखुसी निर्णय गरे भने राष्ट्रको पहिचान जोगाउनका लागि भोलि जो–कोहीले सडकको नेतृत्व गर्न सक्छ। हिजो मधेसीहरूले आफ्नो अधिकारका लागि सडक आन्दोलन गरे, उनीहरूसँग सडक सुविधा थियो प्रयोग गरे, बिचरा पहाड र हिमालमा बस्नेहरूसँग सडक नै छैन कसरी अधिकारको आन्दोलन गर्छन्? सडक आन्दोलनले मुलुकमा निर्णायक मोडहरू ल्याउने संस्कार बसेको हाम्रोजस्तो मुलुकमा भौगोलिक विकटताले त्यो क्षेत्रमा बस्नेहरूलाई नै ओझेलमा पारिरहेको छ। तर, जतिसुकै ओझेलमा परे पनि राष्ट्रियताका प्रतीकहरूको सवालमा, देशको सवालमा सबै प्रकारको भौगोलिक क्षेत्रका जनता सचेत छन् भन्ने कुरा बिर्सन हुँदैन। राष्ट्रियताका सवालमा बाह्य राष्ट्रसँगको लडाइँको छुट्टै अनुभव हुन सक्ला तर राष्ट्रिय पहिचानसँग जोडिएका कुराहरूको संरक्षणका लागि चाहे ती जुनसुकै दल र समुदायका हुन् नेपालीहरूसँगै लड्नुपर्योै भने या सङ्घर्षका लागि अघि बढ्नुपर्योन भने त्यो कुनै पनि नेपालीका लागि पीडादायी हुनेछ।
हामी एकातिर जातीयताको नाममा पुरानो पहिचान खोजिरहेका छौँ, कस–कसले कहाँ–कहाँ कहिले राज्य गरेका थिए, को कहाँ जन्मिएका थिए, को जनजाति थिए को के थिए भन्ने कुराहरूलाई खोजी र संरक्षणको विषय बनाइरहेका छौँ भने पुराना राष्ट्रिय पहिचानहरूलाई एक–एक गर्दै ध्वस्त पार्न खोजिरहेका छौँ। विश्वमै एक मात्र हिन्दू राष्ट्रको पहिचान खत्तम भयो नयाँ नेपालका नाममा सहियो, प्रधानमन्त्री, मन्त्रीहरूले राष्ट्रिय पोसाकबिनै औपचारिक कार्यक्रमहरू, अनौपचारिक भ्रमणहरूमा देशको प्रतिनिधित्व गरे नयाँ नेपालका नाममा चुपचाप बसियो। मुलुकमा राजनीतिक परिवर्तनको अर्थ राष्ट्रियतासँग जोडिएका कुराहरूमा धावा बोल्नु होइन। बहुजाति बहुभाषी भएको हाम्रोजस्तो मुलुकमा सबै जातजातिका पोसाक आफ्नो संस्कृति कायम राख्नका लागि महत्त्वपूर्ण छन्, तर यति हुँदाहँुदै पनि सबै नेपालीको पहिचान कायम राख्न साझा राष्ट्रिय पोसाकको आवश्यकता छ।
नेपालीको पहिचान दौरा–सुरुवाल, टोपी र सारी–चोलोसँग गाँसिए पनि यदि यो व्यावहारिक छैन र फेर्नैपर्छ जस्तो लाग्छ भने जनमतसङ्ग्रहमार्फत दौरा–सुरुवाल र सारी–चोलोसहितका विकल्पहरू दिएर राष्ट्रिय पोसाकको चयन गर्न सकिन्छ तर नेपालीपनसँग जोडिएको दौरा–सुरुवाललाई घृणा गर्ने अधिकार भने कसैलाई छैन। राष्ट्रिय पोसाक भन्ने कुरा सधैं लगाउनुपर्ने होइन, औपचारिक कार्यमा सहभागी हुँदा मात्र पनि राष्ट्रिय पोसाक लगाउन सकिँदैन भने त्यस्ता मानिसले मुलुकसँग सम्बन्धित कुनै पनि कार्यभार नलिएकै राम्रो।
नेपालीको पहिचान दौरा–सुरुवाल, टोपी र सारी–चोलोसँग गाँसिए पनि यदि यो व्यावहारिक छैन र फेर्नैपर्छ जस्तो लाग्छ भने जनमतसङ्ग्रहमार्फत दौरा–सुरुवाल र सारी–चोलोसहितका विकल्पहरू दिएर राष्ट्रिय पोसाकको चयन गर्न सकिन्छ तर नेपालीपनसँग जोडिएको दौरा–सुरुवाललाई घृणा गर्ने अधिकार भने कसैलाई छैन। राष्ट्रिय पोसाक भन्ने कुरा सधैं लगाउनुपर्ने होइन, औपचारिक कार्यमा सहभागी हुँदा मात्र पनि राष्ट्रिय पोसाक लगाउन सकिँदैन भने त्यस्ता मानिसले मुलुकसँग सम्बन्धित कुनै पनि कार्यभार नलिएकै राम्रो।
बबिता बस्नेत