गद्दाफीको निधनको रहस्य

लिवियमा कर्णेल गद्दाफीको मृत्युको अन्तिम क्षणको दृश्य सार्वजनिक भएपछि लिवियाको अन्तरिम सरकारलाई उनको मृत्युबारे पारदर्शिता बढाउन चौतर्फी दबाब बढेको छ। गद्धाफी कसरी मारिए भन्ने प्रश्नको जवाफ दिनु पर्ने दबाबमा लिवियाको अन्तरिम सरकार परेको छ। सार्वजनिक नयां भीडियामा घाइते र रगतले लत्तपत्तिएका गद्धाफीलाई राष्ट्रिय संक्रमण्मकालीन परिषद् एनटीसीका सेनाले घिसार्दै लगेको देखाइएको छ। भिडियोमा एनटीसीका सेनाले गद्धाफीलाई मार्नु पर्ने बहस गरिरहेको आवाज समेत सार्वजनिक भएको छ। यता अमेरिकाले गद्धाफीको मृत्यु तर्फ संकेत गर्दै अन्तरिम सरकारले हरेक व्यवहार खुला र पारदर्शी ढंगबाट गर्नु पर्ने जनाएको छ। संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्त नेवी पिल्लेले गद्धाफीको मृत्यु कसरी भयो भन्ने विषयमा जांच हुनु पर्ने बताउनु भएको छ। दक्षिण अफ्रिकका राष्ट्रपति ज्याकोव जुमाले गद्धाफीलाई मार्न हुन्थेन भन्दै उनलाई पक्राउ गरि मुद्धा चलाउनु पर्थ्यौ भन्नु भएको छ। लिवियाको अन्तरिम सरकारले भने गद्धाफीको गोली हानी हत्या नगरेको दाबी गर्दैै आएको छ। गद्धाफीको गत शुक्रवार एनटीसीका सेनाहरुले सिर्त शहरमा गरेको कारवाहीका क्रममा मृत्यु भएको थियो। यता एनटीसीका अधिकारीहरुबीच विवाद बढेपछि गद्धाफीको अत्येष्टीमा ढिलाई हुने भएको छ। गद्धाफीको शव अहिले मिसराता शहरको एउटा कोल्ड स्टोरमा राखिएको छ र कुनै गोप्य स्थानमा शवको पोष्टमोर्टमा गरिने बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको म्याण्डेट भन्दै गद्धाफी शासनको अन्त्यका लागि सात महिना देखी हवाई आक्रमणको जिम्मा लिएको नेटोले गद्धाफी मारिएसंगै ३१ अक्टोवरबाट आफ्नो लिविया मिशन समाप्त गर्ने जनाएको छ।

 गद्दाफीका समर्थक र अन्तरिम सरकारका सैनिकबीच शिर्त शहरमा भएको भीषण संघर्षका क्रममा गद्दाफी मारिएको लिबियाली अधिकारीहरुले जनाएका छन्। लिबियाका कार्यबाहक प्रधानमन्त्री महमुद जिब्रीलका अनुसार अन्तरिम सरकारका सैनिक र गद्दाफी समर्थक सेनाबीच भएको गोलाबारीका क्रममा घाइते भएका गद्दाफीलाई पक्राउ गर्ने क्रममा उनको मृत्यु भएको हो। प्रधानमन्त्री जिब्रीलले गद्दाफीको मृत्युले ४२ बर्षे त्रासको शासनको अन्त्य भएको भन्दै अव मतभेद थाँती राखी काम गर्न लिवियाली जनतालाई अपील गरेका गर्नुभएको छ। यसैबीच गद्दाफीलाई गोली लागेपछि अन्तरिम सरकारका समर्थकहरुले लछारपछार गरेको भिडियो सार्वजनिक भएको छ। यता, अन्तरिम सरकारका सैनिकहरुले गद्दाफी शिर्त शहरको एक घरमा लुकेको अवस्थामा फेला परेपछि भाग्ने प्रयास गर्दा लखेटेको र सोही क्रममा गोली प्रहार गरेको पुष्टी गरेका छन्। प्रधानमन्त्री जिब्रिलले भने फोरेन्सिक जाँच गर्दा गोली लागेका गद्दाफीको मृत्यु लछारपछारका क्रममा भएको बताएका छन्। गद्दाफीको शवलाई मिसराता शहरमा राखिएको छ। गद्धाफी मारिएपछि लिवियाभर खुशीयाली मनाउने क्रम जारी छ। 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्धाफीको अन्त्यसंगै लिबियाली जनताका लागि निकै लामो र पीडादायी अध्याय समाप्त भएको प्रतिक्रिया दिनुभएको छ। ओबामाले अरब क्षेत्रमा निरकुंश सरकारहरुको पतन गद्धाफीको जसरी नै हुने उल्लेख गर्नुभयो। उहाँले अरब मुलुकका तानाशाहहरु एकपछि अर्को गर्दै पतन हुँदै जाने ठोकुवा पनि गर्नुभयो। ह्वाइट हाउसमा सम्बोधन गर्ने क्रममा ओबामाले चार दशक सम्म शासन गरेका गद्दाफीको अन्त्यसंगै लोकतान्त्रिक राष्ट्रका लागि लिबियाली जनताको काँधमा महत्वपूर्ण जिम्मेबारी आएको बताउनुभयो। उहांले लिबियामा रहेका नेटो सेना चाँडै फिर्ता हुने जनाउ दिनुभयो। यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले गद्दाफीको निधनपछि लिबियाली जनताका लागि स्थिति सहज नभएको बताउँदै अन्तरीम सरकारका नेताहरुलाइ लिबियामा लोकतन्त्र बहाली सुनिश्चित गर्न अपील गर्नुभयो। त्यसैगरी बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले पनि गद्दाफीको पतन लिबियामा लोकतान्त्रिक प्रक्रियाको शुरुवात भएको प्रतिक्रिया दिएका छन्।
वीक्ली नेपाल