नोबेल पुरस्कारका हस्तिहरुबारे केही कुरा

यस पटकको नोबेल पुरस्कारको घोषणाले बिश्वमै ठूलो हलचल ल्याएको छ। नोबल पुरस्कारका हस्तिहरुका बारेमा बिभिन्न चर्चा परिचर्चाहरु भैरहेका छन्। अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले हालै सार्बजनिक गरेका बिबरणहरु अनुसार स्कयान्डिनेभियाका सबैभन्दा परिचित जीवित कवि टोमस ट्रान्सट्रोमरले मानवको आत्मा र वाह्य विश्वसँगको सम्बन्धका विषयमा अनुसन्धान गरेबापत उहाँलाई सन् २०११ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ। मनोविज्ञानको तालिम लिनुभएका ट्रान्सट्रोमर प्रकृतिको कवितात्मक परीक्षणले मानव पहिचान तथा त्यसको आध्यात्मिक पक्षको अनुभूति गराउने र प्रायः यस्तो अवस्थामा अमूर्त क्षेत्रमा प्रवेश गरिने बिचार राख्नुहुन्छ। मानवको अस्तित्व उसको छुवाईसम्म मात्र अन्त्य हुँदैन भन्ने उहाँको ठम्याई छ। ट्रान्सट्रोमरको ख्याति अङग्रेजी बोल्ने विश्वमा उहाँ का अमेरिकी कवि रोबर्ट ब्लीसँगको सम्बन्धमा आधारित छ र उहाँले नै ट्रान्सट्रोमरको कवितालाई अनुवाद गरिदिनुभएको हो। त्यसो त ट्रान्सट्रोमरका कविता ५० भाषामा अनुवाद भइसकेका छन्।
उहाँको कविता लाक्षणिकता, चित्रात्मकता तथा दैनिक जीवन तथा प्रकृतिको सामान्य चित्रकारीबाट पूर्ण छन्। उहाँका आत्ममूल्याङ्कन शैलीलाई पब्लिसर्स विक्लीले सामान्य बुझाईभन्दा पृथक, अनेक आयामयुक्त तथा उहाँको जीवनभन्दा दुःखी रहेको बताएको छ। यसले मात्रै कविता लेख्नुभन्दा राम्रो विश्वका लागि निरन्तर रूपमा सक्रिय हुन निरन्तर वचनवद्धता देखाउँछ। सन् १९३१ को अप्रिल १५ मा स्टकहोममा जन्मनुभएका ट्रान्सट्रोमरलाई बाबुले परित्याग गरेपछि आमाले एक्लै हुर्काउनु परेको थियो। उहाँले सन् १९५६ मा मनोविज्ञानमा स्नातक गर्नुभयो र सन् १९६० मा बालअपराधीहरूका लागि स्थापना गरेको संस्थामा काम गर्नथाल्नुभयो।

मनोवैज्ञानिक तथा कविको समानान्तर जीवनवृत्तिका साथै उहाँले अशक्त, अपराधी तथा लागूपदार्थ दुर्व्यसनीसँग पनि काम गर्नुभएको थियो। यसबीच उहाँले ठूलो मात्रामा कविताहरुको सिर्जना पनि गर्नुभयो। मनोविज्ञानका विद्यार्थीकै रूपमा रहँदा २३ वर्षको उमेरमा ट्रान्सट्रोमरको कविताहरूको पहिलो सङ्कलन ''सेभेन्टिन पोएम्स'' (सत्रवटा कविता) उत्तरी युरोपका सबैभन्दा सम्मानित प्रकाशनगृह बोनिएरले प्रकाशन गरिदिएको थियो। सन् १९६६ मा उहाँले बेलम्यान पुरस्कार प्राप्तगर्नुभएको थियो। त्यसपछि उहाँले बोनरको कविता पुरस्कार, जर्मनीको पेट्राक पुरस्कार स्वीडिस एकेडेमीको नोर्डिक पुरस्कारका साथै अनेकौ पुरस्कारहरु प्राप्त गर्नुभयो।
सन् १९९७ मा उहाँ सन् १९९० मा स्टकहोममा जानुपूर्व तीन दशकसम्म बसोबास गर्नुभएको भाएस्टररास नगरले उहा147कै नाममा विशेष ट्रान्सट्रोमर पुरस्कार स्थापना गरेको थियो। कविताका १० भाग प्रकाशन गर्नुभएपछि सन् १९९० मा ट्रान्सट्रोमरले हृदयाघात भोग्नुभयो र यसले उहाँको वाकक्षमतामा प्रभाव पार्‍यो। छ वर्षको विश्रामपछि उहाँले आफनै स्वीडिस भाषामा कवित्मक स्तरको स्तव्धकारी छवि ''ग्रिफ गोन्डोला'' (पीडाको गाडि) को रचना गर्नुभयो। यो कृतिका ३० हजार प्रतिहरु विक्री भएका थिए। त्यसको आठ वर्षपछि उहाँले सन् २००४ मा प्रकृति र ऋतुको बारेमा जापानी शैलीमा ४५ वटा हाइकुको एक सङ्कलन प्रकाशित गर्नु भएको थियो। त्यसैगरी अमेरिकी अनुसन्धानकर्ताहरू साउल पर्लमुटर तथा एडम रिस तथा अमेरिकी–अस्ट्रेलियाली ब्रियान स्मिटले ताराका विषयमा अनुसन्धान गरेबापत सन् २०११ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। उहाँहरूले धेरै दर्जन विष्फोट भइरहेका ताराहरूमा अध्ययन गर्नुभएको छ, जसलाई सुपरनोभा भनिन्छ र यो ब्रह्माण्ड निकै द्रुत गतिमा विस्तार भइरहेको छ भन्ने कुरा उहाँहरूले पत्ता लगाउनुभएको छ। यस खोजीले मानवको यो बह्माण्डका बारेमा बुझाइमा विस्तार भएको मानिन्छ। सन् १९९८ मा पर्लमुटरले नेतृत्व गर्नुभएको र रिससमेत रहनुभएको एक समूहले यो ब्रह्माण्ड निकै द्रुत गतिमा विस्तार भइरहेको निष्कर्ष निकालेपछि यस विषयमा नयाँ अवधारणा देखा परेको छ। त्यसैगरी इजरायली बैज्ञानिक ड्यानियल सेचम्यानलाई अर्धस्फटिकको रहस्य पत्ता लगाई ठोस पदार्थको सिद्दान्त परिवर्तन गरिदिएवापत सन् २०११ को रसायनशास्त्रका लागि नोबेल पुरस्कार प्रदान गरिएको छ। ७० वर्षिय सेचम्यानले सन् १९८२ मा यो निकै अनौठो खोज गरेपछि सहयोगी रसायानशास्त्रीहरूबाटै कडा विरोध सहनुपरेको थियो। जुनसमयमा उहाँको खोजलाई हाँसोलाग्दो भनी अस्वीकार समेत गरिएको थियो।  तर उहाँको कामले ''ठोस पदार्थका विषयमा रसायनशास्त्रीहरूले कसरी अवधारणा बनाउँछन् भन्ने कुरालाई आधारभूत रूपमानै परिवर्तन गरिदिएको मानिएको छ। यो रसायनशास्त्रको सोचाइमा आमरूपमै परिवर्तन मानिन्छ। उहाँको खोजका कारण वस्तुको विषयमा लेखिने पाठ्यपुस्तको पहिलो परिच्छेदलाई नै पुनलेखन गर्नुपरेको छ। अर्धस्फटिक त्यस्तो स्फटिक हो जसको अणुको ढाँचा उच्चरूपमा ज्यामितीय हुन्छन् तर कहिल्यै एकै प्रकारका हुँदैनन्। अपठित आँखाका लागि उनीहरू अमूर्त इस्लामिक कलाजस्तो टाइलहरूको ढाँचा जस्तो देखिन्छन्। उहाँको खोज १९८२ को अप्रिल २ मा भएको जानकारहरुको भनाई छ। उहाँले एलुमिनियम र म्यानिजको मिश्रणलाई पगाल्नु भएको थियो र अणुको स्तरमा अध्ययन गर्नुपूर्व यसलाई तत्कालै चिसो बनाउनुभएको थियो। यस अध्ययनमा समस्या देखिने आशामा रहेका सेचम्यानले एकै प्रकारको गोलाइ देख्नुभयो जसमा समान दुरीमा १० वटा चम्किला बिन्दु रहेका थिए। एउटा गोलाइमा चार वा छ वटा बिन्दु त सम्भव थियो तर १० वटा बिन्दु फेला पर्दा उहाँले हिब्रुमा लेख्नुभएको थियो ''त्यहाँ त्यसप्रकारको जन्तु हुनैसक्दैन, १० गुणा'' स्फटिकशास्त्रीहरूको अन्तर्राष्ट्रिय महासङघले सिर्जना गरेको नियम अनुसार, यो सामान्य मान्यताका लागि अस्वीकृत कुरा थियो।  सेचम्यानका खोजी निकै विवादस्पद भयो र उहाँलाई अन्तत युएस नेसनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एण्ड टेक्नोलोजी छोड्न भनियो। सन् १९८४ का नोभेम्बरमा सेचम्यानले अन्य तीन अनुसन्धानकर्मीका साथ फिजिक्स रिभ्यु लेटर्स नामक जर्नलमा आफनो खोजीको तथ्याङ्क प्रकाशन गर्न पाउनुभएको थियो। उहाँको लेखले स्फटिकशास्त्रीहरूमा एउटा बमको जस्तै काम गर्‍यो।
यसले उनीहरूको विज्ञानको आधारभूत सत्यमा प्रश्न गरेको थियो जसमा सबै स्फटिकमा उस्तै प्रकारका ढाँचा रहन्छन् भन्ने मान्यता रहेको थियो। प्रयोगशालामा अर्धस्फटिक फेला परेको थियो र केही प्राकृतिक खनिजमा पनि यो रहेको देखापरे। उनीहरूको आफैमा नजिकमा टाँसिएको संरचनाले बस्तुलाई बलियो बनाउन मद्दत गर्थ्यो र यो कुरा भुट्ने कराही, वा डिजेल इन्जिनजस्ता उपभोक्ता उत्पादनका लागि उपयोगी हुनसक्थ्यो। यी उत्पादनले उच्च ताप तथा यान्त्रिक दवाव ब्यहोर्नुपर्छ। यी नोबेल पुरस्कार बिजेताले आगामी डिसेम्बर १० मा स्टकहोममा १४ लाख ८० हजार अमेरिकी डलरसहित उक्त पुरस्कार प्राप्त गर्नुहुने भएको छ। यस पटक पनि यस अघि जस्तै नोबल पुरस्कार बिजेताहरु बिबादबाट मुक्त रहन सकेका छैनन। यसबारेका चर्चा परिचर्चाहरु अझै जारी छन्।  
 वीक्ली नेपाल