डीभीमा भाग्य खोज्दै नेपाली


 ‘सपनाको देश’ मानिने मुलुक संयुक्त राज्य अमेरिका जान चाहने युवाहरूको संख्या बढ्न थालेको छ । आफ्नो भविष्य बन्ने देखेपछि युवा पुस्ताले अमेरिकालाई पहिलो स्थानमा राख्ने गरेका छन् । व्यवसाय, उच्च शिक्षा अध्ययन अनि रोजगारीका लागि अमेरिका पुग्ने नेपालीको संख्या बढ्दो छ । अमेरिका सरकारले सन् १९९४ देखि ईडीभी चिठ्ठा कार्यक्रम ल्याएपछि अमेरिका पुग्ने नेपालीको संख्या बढ्दै गएको हो ।


ईडीभी २०१३ का लागि एक महिनाको अवधिमा लाखौं नेपालीले फारम भरिसकेको साइबर सञ्चालकहरूको अनुमान छ । काठमाडौंलगायत विभिन्न सहरका साइबर क्याफेहरूमा डीभी भर्ने युवायुवतीको भीड लागेको छ । काठमाडौंमा ई–स्पट, इजोन, यारालगायत साइबर क्याफेमा ईडीभी भर्नेको घुइँचो लागेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर नभएका कारण विदेश–मोह बढ्दै गएको युवाहरूको भनाइ छ । डीभी चिठ्ठा वर्षैपिच्छे खुल्दै आएको छ । यसपटक असोज १७ गतेदेखि खुलेको डीभी भर्ने म्याद शनिबार सकिँदै छ ।
बर्सेनि ४ लाख नेपाली कामदार खाडीलगायत विभिन्न देशमा जाने गरेका छन् । चाहे खाडी मुलुक होस् या ईपीएसमार्फत कोरिया जाने नेपाली वा ईडीभी भर्नेमा युवाहरू नै बढी पाइन्छन् । नेपालको श्रमबजारमा वार्षिक रूपमा ४ देखि ५ लाख युवा आउने भए पनि रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू बिदेसिने गरेका छन् ।
न्युरोडस्थित ई–स्पट नेपालमा बिहीबारसम्ममा ११ हजार जनाले डीभी भरिसकेका छन् । बानेश्वरमा रहेको इजोनमा १० हजार र यारा डिजिटलमा ७ हजार जनाले डीभी भरेको सञ्चालकहरू बताउँछन् । “प्रत्येक वर्ष ईडीभी भर्नेको संख्या बढ्दै गएको छ,” ई–स्पटकी दीपा भुजूले भनिन्, । उनले ईडीभी फारम भर्नकै लागि १५ जना कर्मचारी राखिएको बताइन् ।

अमेरिकामा बसोबास तथा रोजगारीको अवसरको माध्यम मानिएको ग्रिनकार्ड पाउन भाग्य सम्झिँदै धेरै नेपालीले डीभी भरे पनि सबैलाई पर्दैन । सन् २००३ देखि २०१२ सम्मको अवधिमा २४ हजार ७ सय ७४ नेपालीले ईडीभी चिठ्ठा परिसकेको अमेरिकी दूतावासको तथ्यांक छ । चिठ्ठा परेका अधिकांश नेपाली अमेरिका पुगिसकेका छन् । दक्षिण एसियामा भारतीय र पाकिस्तानी नागरिकले भने ईडीभी भर्न पाउँदैनन् ।
प्रत्येक वर्ष ५५ हजार ग्रिनकार्ड वितरण गर्दै आएको अमेरिकाले नेपालका लागि कोटासमेत बढाउँदै आएको छ । व्यक्तिगत श्रम स्वीकृति अनि एजेन्टमार्फत अमेरिका पुग्न १२ देखि १६ लाख लाग्ने भएपछि धेरै नेपाली ईडीभीको भर पर्न थालेका छन् । डीभीमार्फत २ देखि ४ लाख रुपैयाँ लाग्छ ।
न्युरोडमा ईडीभी भर्नेको लाइनमा भेटिएका धादिङका सञ्जीव न्यौपानेले सुरक्षित भविष्यका लागि अमेरिका जान चाहेको बताए । उनले भने, “२ सय रुपैयाँको फारम भरेर चिठ्ठा प¥यो भने भविष्य बन्छ ।”
नयाँबानेश्वरको इजोनमा ईडीभी भर्न बसेकी नयाँबजारकी अनु शर्माले यो एउटा अवसर रहेकाले आफूले सदुपयोग गरेको बताइन् । उनले भनिन्, “ईडीभी फारम भरेपछि पर्न सक्छ ।” अंग्रेजीमा स्नातक अध्ययनरत पोखराका निरज गुरुङले भने, “विदेश जानका लागि मैले अन्य देशमा पनि ‘एप्लाई’ गरेको छु । डीभी पनि भरेँ ।”
के हो ग्रिनकार्ड अनि अमेरिकी ईडीभी कार्यक्रम
९८ लाख वर्ग किलोमिटरमा फैलिएको उत्तर अमेरिकी महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । अमेरिकाले आफ्नो देशलाई ‘आप्रवासीहरूको देश’ भनेर चिनाउन थालेको छ । अमेरिकाले डीभीमार्फत प्रत्येक वर्ष ५५ हजार ग्रिनकार्ड वितरण गर्छ । ग्रिनकार्ड प्राप्त विदेशी नागरिकले अमेरिकामा असीमित समयसम्म बस्न पाउँछन् । ग्रिनकार्ड अमेरिकामा बस्न र रोजगारीको अनुमति हो । यो नागरिकता भने होइन ।
अमेरिकाले सन् १९४० को दशकमा पहिलो पटक ‘एलियन रजिस्ट्रेसन रिसिप्ट कार्ड’को नाममा ‘असीमित भिसा’ वितरण गरेको थियो । एटीएम कार्डको आकारका यही कार्डमा हरियो अक्षर र हरियो तस्बिरको प्रयोग गरिएकाले यसलाई ग्रिनकार्ड भनेको पाइन्छ । ग्रिनकार्ड पाएका विदेशीलाई अमेरिकामा रोजगार बजारमा बन्देज लगाइँदैन । यसका साथै विद्यालय, विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रमा ८० प्रतिशतसम्म छुट हुने गर्छ । ग्रिनकार्डवालाले मताधिकारबाहेक त्यहाँका नागरिकले पाउने अधिकार पाउँछन् ।
विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रूपमा स्थायी बसोबास गर्न पाउने चिठ्ठा प्रक्रियालाई ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) भनिन्छ । अमेरिकामा धेरै जनसंख्या भएका देशका नागरिकले यो कार्यक्रममा भाग लिन पाउँदैनन् ।
सोचेजस्तो छैन अमेरिका
आर्थिक मन्दी अनि बेरोजगारी समस्या बढ्दै गएको अमेरिका सोचेजस्तो नभएको त्यहाँ रहेका नेपालीहरू बताउँछन् । एक वर्षअघि डीभी परेर अमेरिका पुगेका बागलुङका राजेन्द्र भण्डारी भन्छन्, “नेपालमा उच्च ओहोदामा रहेका व्यक्तिहरू यहाँ पेट्रोलपम्प, डिपार्टमेन्टल स्टोर, रेस्टुराँमा काम गरेको पाइन्छ । उच्च तहमा पुग्ने नेपाली न्यूनमात्र छन् ।” महँगो जीवनशैलीका कारण खर्च धान्न धौधौ हुने उनले बताए ।
दुई वर्षअघि अमेरिका पुगेका स्याङ्जाको करेनडाँडाका रवि पराजुलीको अनुभव पनि उस्तै छ । अंग्रेजी भाषाको दख्खल नहुनाले पनि राम्रो काम नपाउने गरेको उनी बताउँछन् । उनले भने, “धेरैको चाहना नागरिकता र ग्रिनकार्ड पाउने हुन्छ, त्यसका लागि अधिकांश व्यक्ति पाँच वर्षसम्म बस्छन् ।”
सरकारी उच्च अधिकारीदेखि डाक्टर, इन्जिनियर, वकिल, कलाकारसम्म डीभीमार्फत अमेरिका पुगेका छन् । 
कारोबार दैनिक