स्मार्टफोनमा सामसङले एप्पललाई उछिन्यो

एप्पलको अग्रतालाई चुनौती दिँदै आएको सामसङले अन्ततः स्मार्टफोन बजारमा पहिले स्थान कायम गरेको छ । सन् २०११ को जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्याङ्कअनुसार सामसङ विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको हो ।
'स्टाटेजी एनालाइटिक' को अनुसन्धानअनुसार तीन महिनाको अवधिमा सामसङले २ करोड ७८ लाख स्मार्टफोन सेट बिक्री गरेको छ । त्यही अवधिमा एप्पलले भने १ करोड ७१ लाख स्मार्टफोन बिक्री गर्‍यो । मोबाइल बजारमा सबैभन्दा बढी हिस्सा भएको नोकिया भने स्मार्टफोन प्रतिस्पर्धामा पछाडि छ । यस अवधिमा नोकियाले १ करोड ६० लाख स्मार्टफोन बिक्री गर्‍यो । 
तर यस अवधिमा एप्पल पछाडि परे पनि आगामी दिनमा पुनः पहिलो हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । अध्ययन गर्ने संस्थाले यस अवधिमा बजारमा आइफोन ४ एस आउने हल्ला चलेकाले बिक्री कम भएको बताएको छ । '४ एस बजारमा छिट्टै आउने चर्चासँगै एप्पलका ग्राहकले अन्य सेट किनेनन्,' अध्ययनमा भनिएको छ, 'यसले एप्पलको आइफोन बिक्रीमा गिरावट आएको हुनसक्छ ।'
सम्पूर्ण मोबाइल सेटको बजार हिस्सामा भने नोकिया अझै सबैभन्दा अगाडि छ । यसअघि चौथो स्थानमा रहेको एप्पललाई भने चिनियाँ कम्पनी जेडटीईले पछि परेको छ ।

अनुसन्धानअनुसार मोबाइल सेट बजारमा सबैभन्दा बढी २७ दशमलव ३ प्रतिशत हिस्सा नोकियाको छ । दोस्रो स्थानमा रहेको सामसङको बजार हिस्सा २२ दशमलव ६ प्रतिशत छ भने तेस्रो स्थानमा रहेको एलजीको बजार हिस्सा ५ दशमलव ४ प्रतिशत रहेको छ ।
'यसअघि मोबाइल बजारमा बिक्रीको हिसाबमा चौथो स्थानमा रहेको एप्पल अहिले एक स्थान तल झरेको छ,' अध्ययनले देखाएको छ, 'एप्पललाई पछि पार्दै जेडटीईले बजारको ४ दशमलव ७ प्रतिशत बजार हिस्सा लिएको छ ।' पाँचौं स्थानमा पुगेको एप्पलको बजार हिस्सा ४ दशमलव ४ प्रतिशत छ ।
सामसङले सार्वजनिक गरेपछि आएको यो प्रतिवेदनअनुसार व्यापारमा उच्च वृद्धि भए पनि सन् २०११ को तेस्रो त्रैमासिकमा यसको नाफा भने घटेको छ । मेमोरी कार्डको बजारमा सामसङ असफल हुँदै गएकाले नाफा गिरावट आएको प्रतिवेदनमा छ ।
यस अवधिमा मोबाइल सेटको बिक्रीबाट भने सामसङले गत वर्षको सोही अवधिको भन्दा दोब्बर बढी नाफा गरेको छ । यसले ल्याएको ग्यालेक्सी स्मार्टफोनको बिक्री धेरै भएकाले यस अवधिमा कम्पनीले २ अर्ब ३० करोड नाफा गरेको छ ।
'सामसङले ल्याएको नयाँ स्वरूपको सेट, प्रयोग गरेको लोकपि्रय र आकर्षक हार्डवेयर, ब्रान्डिङलाई उच्च गतिमा अगाडि बढाएको छ र विश्वव्यापी रूपमा वितरणको सञ्जाल राम्रो भएकाले व्यापारमा उच्च वृद्धि भएको हो,' अध्ययन प्रतिवेदनमा छ । सामसङले छोटो समयमा पनि बजारमा राम्रो प्रगति गर्न सकिन्छ भनेर देखाएको विश्लेषकहरूले बताएका छन् ।
अध्ययनअनुसार सन् २०११ को तेस्रो त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा पनि उच्च वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढेर ११ करोड ७० लाख स्मार्टफोन बिक्री भएका छन् ।
सन् २०१० को तेस्रो त्रैमासिकमा स्मार्टफोन बजारमा नोकियाको हिस्सा ३३ प्रतिशत रहेकोमा अहिले घटेर १४ प्रतिशत पुगेको छ । नोकियाले माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम भएको स्मार्टफोन हालै सार्वजनिक गरेको छ । यसले स्मार्टफोनको बजारमा हराउँदै गएको नोकियाको साख बचाउन केही मद्दत गर्ने भए पनि यसको भविष्य कम्पनीले लिने बजार विस्तारको रणनीतिमा भर पर्ने विज्ञहरू बताउँछन् ।
कान्तिपुर