सगरमाथाको उचाइ विवाद निरर्थक


-सन्जोग आचार्य 
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? यो प्रश्न जोकोही नेपालीलाई सोधे पनि उसले सहजै उत्तर दिन्छ, आठ हजार ८४८ मिटर । तर, बेलाबेलामा विभिन्न देशका अन्वेषकले सगरमाथाको उचाइका सम्बन्धमा सार्वजनिक गर्ने गरेको तथ्याङ्कले भने कहिलेकाहीँ अन्योल सिर्जना गर्ने गरेको छ ।
अमेरिका, चीन, भारत, इटाली, डेनमार्कका अन्वेषकले बेलाबेलामा गरेको सर्वेक्षणमा सगरमाथाको उचाइका सम्बन्धमा फरकफरक तथ्याङ्क सार्वजनिक गर्ने गरेको भए पनि त्यसलाई आधिकारिक मान्न नमिल्ने भनाइ सरोकारवाला निकायको छ । बि्रटिस सर्वेयर जर्ज एभरेस्टको समयदेखि नै सगरमाथाको उचाइ समुद्री सतहबाट आठ हजार ८४८ मिटर रहेको जनाउँदै नेपालका पर्वतारोहीले यो उचाइ नै आधिकारिक भएको उल्लेख गरेका छन् ।
केही समयअघि डेनमार्क नेसनल स्पेस इन्स्िटच्युुटले सगरमाथाको उचाइ ९० सेन्टिमिटर बढेको जनाएको थियो भने अमेरिकन जोग्राफिक सोसाइटी र चिनियाँ वैज्ञानिकहरूले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ फरकफरक उल्लेख गरेका थिए ।
सन् १९९९ मा अमेरिकन जोग्राफिक सोसाइटीले त्यतिखेर सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको जनाएको थियो भने सन् २००५ मा चिनियाँ सर्वेक्षण टोलीले सगरमाथाको उचाइ आठ हजार ८४७ मिटर ९३ सेन्टिमिटर रहेको सार्वजनिक गरेको थियो ।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घमा उल्लिखित उचाइ नै आधिकारिक हुने बताउनुभयो । महासङ्घले आठ हजार ८४८ मिटरलाई नै सगरमाथाको उचाइ मानेको छ । शेर्पाले अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घले पुष्टि नगरी अन्य उचाइलाई मान्न नसकिने बताउनुभयो ।

सगरमाथा पहिलोपटक आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्दा यसको उचाइ आठ हजार ८४८ मिटर रहेको बताउँदै शेर्पाले भन्नुभयो, "त्यसपछि आधिकारिक रूपमा अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घबाट उचाइ नाप भएको छैन, त्यसकारण अरूको सर्वेक्षण अर्थहीन हो ।"
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव हरि बस्यालले पनि सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर नै रहेको जानकारी गराउनुभयो । चीन र नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घले पुष्टि नगरी अन्य सङ्घसंस्थाले सार्वजनिक गर्ने गरेको सगरमाथाको उचाइलाई आधिकारिक मान्न नमिल्ने उहाँले बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष नीमानुरु शेर्पाले सगरमाथाको उचाइ जाडोमा बढ्ने र गर्मीमा घट्ने नहुने जनाउँदै यसको उचाइ आठ हजार ८४८ मिटर रहेको बताउनुभयो । 
गोरखा पत्र