भैरहवा औद्योगिक मेलास्थल वाइफाई जोन

-मनोरञ्जन शर्मा

शुक्रबारदेखि हुने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव स्थल सिद्धार्थ रंगशालामा आयोजकले वाइफाई सेवा सञ्चालनमा ल्याउने भएको छ । मेलास्थललाई वाइफाई जोन बनाइने आयोजक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रूपन्देहीले जनाएको छ । वाइफाई सेवा सञ्चालनबाट महोत्सवमा सहभागी सबैलाई फाइदा पुग्ने सूचना–प्रविधि उपसमिति संयोजक गिरीशचन्द त्रिपाठीले बताए ।
नेपाल टेलिकमको एडीएसएसल इन्टरनेट सेवालाई मेलास्थलका विभिन्न स्थानमा एन्ेटना राखेर वाइफाई जोन बनाउन लागिएको त्रिपाठीको भनाइ छ । सूचना–प्रविधिलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले महोत्सवलाई सूचना–प्रविधिसँग जोड्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार महोत्सवमा सूचना–प्रविधिसँग सम्बन्धित २० वटा स्टल रहनेछन् । स्टलमा नयाँ प्रविधिका डेस्कटप कम्प्युटर, ल्यापटप, ओभरहेड प्रोजेक्टर, मिनी प्रोजेक्टर, एलसीडी मनिटरलगायत विद्युतीय सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
आजको युग सूचना–प्रविधिबिना अधूरो छ भन्ने सन्देश दिन आफूहरू प्रयासरत रहेको संगठनका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संंयोजक मनिषकुमार जोशीले बताए  ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार उपसमिति संयोजक हेमराज कोइरालाले बताए । उनका अनुसार महोत्सवमा सूचना–प्रविधिका साथै अटोमोबाइल्स, तयारी पोसाक, घरेलु तथा कुटीर उद्योग, हस्तकलालगायत विभिन्न क्षेत्रका गरी २ सय ४० वटा स्टल रहनेछन् ।