
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ-'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।' तर मलाई सपना ठूलो देख्नु अनि साकार नहुनु भन्दा सानो सपनामा रमाउनु नै वेश हुन्छ जस्तो लाग्छ । एउटा गीतले भन्छ-'सबै भन्छन् उँभो बढ, आकाश छुनुपर्छ म त भन्छु उँधो बग सागर पुग्नुपर्छ, तर तिम्रा पाइलाहरू नरोकिने हुनुपर्छ नदीजस्तै-खोलाजस्तै बगिरहनुपर्छ-बगिरहनुपर्छ' वास्तवमा लक्ष्य सानो नै होस् तर त्यसलाई निरन्तरता दिन सकियो भने जीवनमा कहिल्यै निराश हुनु पर्दैन । घरको सपना देख्यो-घर होला, साधन-स्रोतको देख्यो-त्यो पनि होला तर पनि सन्तुष्टि भने हुँदैन र फेरि सपनाहरू थपिँदै जान्छन् । कुनै साकार होलान्, कुनै नहोलान् । पूरा भएका सपनाहरूमा अत्यन्तै खुसी हुनु अनि अधूरै रहेका सपनाहरूमा दुःखी भएर घरमा तिक्तता पैदा गर्नु चाहिँ एकदमै गलत कुरा हो ।
एउटा घरलाई घर बनाउन अनि त्यसलाई सुन्दर र सु-व्यवस्थित तुल्याउन परिवारको एकताको ठूलो भूमिका हुन्छ । घर बाहिरबाट हेर्दा जस्तो होला, जत्रो होला तर त्यो घरमा बस्ने मान्छेको मन सानो छ भने बिल्डिङ नै हुनुको के मज्जा ? तर घरमा बस्ने मानिसको मन उदार छ भने तब घर ठूलो र सुन्दर देखिन्छ अनि त्यो घरमा सधैं खुसी हुन्छ ।
खुसी परिवारको कुरा गर्दा सुखी परिवारलाई जोड्न मन लाग्यो । दुःखसँग कुनै नाता नलाग्ने तर सँगै गाँसिएर आउने शब्द सुख हो । सुख र खुसी झट्ट सुन्दा उस्तै-उस्तै लाग्छन् तर यी बिल्कुलै फरक छन् । खुसी हुनुमा र सुखी हुनुमा धेरै फरक छ । एउटा आर्थिक रूपले सम्पन्न परिवार जति सुखी होला एउटा गरिब परिवार त्यति सुखी नहुन सक्छ तर त्यो भन्दा बढी ऊ खुसी हुन सक्ला । एउटा रिक्सावाल मलमलको बिछ्यौनामा सुत्न नपाउला तर ऊ मीठो निद्रा भने अवश्य निदाउन सक्छ । उसलाई खासै तनाव हुँदैन । एउटा मजदुर जसले बिरामी आमाको औषधि किन्दा आधा पेट खाएर बसेको हुन सक्ला, छोराछोरीको स्कुलको शुल्क भर्दाभर्दै घरको चुहिएको छानो टाल्न नपुग्ला तर सोचौं एउटा मजदुरले आधा पेट खाएर बिरामी आमाको औषधि किन्छ अनि वृद्धाश्रममा लगेर राखिएका आमाबुबाका छोराछोरीहरू जो डाक्टर पनि होलान् तिनले अरूलाई गरेको उपचारको अर्थ के होला ?
सुखी हुनलाई पहिले खुसी हुन जरुरी छ । सानो-सानो खुसीमा ठूलो सपना देख्न सकियो भने मात्र सुखी र खुसी बन्न सकिन्छ । परिवार राम्रो बनाउन रगतको नै नाता हुनुपर्छ भन्ने छैन । नाता रगतको नहुन सक्छ तर रगतको नाताभन्दा गहिरो त्यो नाता हुन्छ जसको मन, भावना र विचार मिल्छ । नाता रगतको छ मन, भावना र विचार मिल्दैन भने त्यहाँ खुसी खोजेर पनि पाइँदैन । कुनै घर जहाँ रगतको नाता भएर मानिस एकै ठाउँमा बस्छन् तर उनीहरूको विचारमा आपसी प्रेम र एकता छैन भने त्यो घरलाई के भन्ने ? त्यसैले रगतको नाता भनेर घरपरिवारको लामो लिस्ट बनाएर मात्र के गर्ने ? परेको बेला कोही कसैलाई काम लाग्दैन भने । त्यसैले घरपरिवारकै परिभाषाभित्र ती आत्मीय मानिसहरूलाई पनि गन्नुपर्छ जो संकटका साथी बन्छन् । नाता रगतको नहुन सक्छ अर्थात् घरको भित्तामा लगाइने रातो रङ घरभित्र बस्ने मानिसको रातो रगतलाई मात्र घर भन्ने चलन त्यति उपयुक्त होइन, त्यसलाई घर भन्नुको के अर्थ ?
घर होला, साधन होलान्, बैंक ब्यालेन्स होला तर त्यहाँ प्रेम छैन, विश्वास छैन, शान्ति छैन भने घर हुन सक्दैन अनि झुपडी होला तर त्यहाँ प्रेम छ, शान्ति छ, विश्वास र एकता पनि छ भने तब मात्र त्यो घर हो । खुसी, प्रेम, आनन्द र शान्तिको प्राप्ति नै मानिसको सबैभन्दा ठूलो लक्ष्य हो । अभावको बीचमा पनि खुसी बाँच्न सक्ने प्रयत्न गर्नु एउटा कुरा हो । सम्पन्नताको बीचमा सुख होला तर खुसी हुन नसक्नु अर्को कुरा हो । त्यसैले खुसी भन्ने कुरा एक आपसको प्रेम, विश्वास, समझदारी, आदर र मेलमिलाप सबैको समन्वयले मात्र हुन सकिन्छ । भौतिक सुखमा भन्दा आन्तरिक खुसीमा रमाउन सकियो भने, प्रेम लिन होइन दिन सकियो भने, विश्वास तोड्न होइन जोड्न सकियो भने एउटा घरपरिवार सुखसँग रमाउन सक्छ ।