वास्तविक राजनेता कहिले भेटिएला ?

-दिनेश नेपाल
विषम परिस्थितिमा राष्ट्रलाई सुमार्गतर्फ लैजानु नै सच्चा राजनेताको दायित्व र कर्तव्य मानिन्छ। विश्व राजनीतिलाई सर्सर्ती दृष्टिगोचर गरिँदा संसारका कुनै पनि राष्ट्र जब–जब विषम र सङ्क्रमणको अवस्थाबाट गुजि्ररहेको हुन्छ त्यस्तो अवस्थामा नै पक्का राष्ट्रपे्रमी राजनेताको उदय भएको पाइन्छ। उदाहरणस्वरूप फ्रान्सको विषम परिस्थितिबाट नेपोलियन, इङ्ग्ल्यान्डको विषम परिस्थितिबाट ओलिवर क्रमवेल र चर्चिल, जर्मनीको सङ्क्रमण अवस्थाबाट विस्मार्क र हिटलर, इटलीको अप्ठ्यारो परिस्थिबाट मुसोलिनी, रसियाको विषम परिस्थितिबाट लेनिन, चीनको विषम परिस्थितिबाट माओ त्से तुङ, भारतको विषम परिस्थितिबाट महात्मा गान्धी र सुवासचन्द्र बोस आदिको उदयलाई लिन सकिन्छ।
माथि उल्लिखित राजनेताहरूले राष्ट्रलाई विषम परिस्थितिबाट त उन्मुक्ति दिए तर त्यसमध्ये केही जनप्रिय भए भने केही तानाशाही कहलाइए। तर, सबैले राष्ट्रलाई अन्योलको परिस्थितिबाट पार नै लगाएको देखिन्छ। यी सबै तथ्यलाई हृदयङ्गम गर्दै नेपालको राजनीतिलाई दृष्टिगोचर गरिँदा नेपालले राजनेता जन्माउन बिर्सिएको हो कि जस्तो लाग्छ।
नेपाल राष्ट्रलाई साँच्चै नै समृद्धिशाली बनाउने अभियानमा लिच्छविकालमा अंशुवर्मा लागेका देखिन्छन्, तर त्यसबेला नेपाल अहिलेको जस्तो थिएन। ततपश्चात् मल्लकालमा आन्तरिक कलहले नै नेपाल राष्ट्रलाई अलमलमा राखिरहेको देखिन्छ। लिच्छवि र मल्लकालपश्चात् शाहकालको अवधिलाई त षड्यन्त्रकाल भनिदिए पनि हुन्छ। शाहकालमा त देशले गुमाउनुभन्दा अरू केही गरेको पाइँदैन। त्यस कालमा त राजनेता साँच्चै जन्मेका पाइँदैन तर इतिहासबाट कसैले भीमसेन थापालाई त कसैले जंगबहादुरलाई मानेको देखिन्छ। तर, वास्तविकतामा एकातिर भीमसेन थापालाई राजनेता मान्ने हो भने उनकै पालामा सुगौली सन्धि हुन पुग्यो र राष्ट्रले आफ्नो केही महत्त्वपूर्ण हिस्सा गुमाउनुपर्‍यो भने जंगबहादुरले ब्रिटिस साम्राज्यलाई साथ दिँदै आफ्नो वंश उत्थान गर्नेतर्फ लागेबाट यी दुवै नै पक्का राजनेता कहलिन योग्य देखिँदैनन्। समयान्तरमा देशमा प्रजातन्त्रको आगमनपश्चात् राजा त्रिभुवनलाई राजनेता मानियो तर यो फगत् स्तुतिगान हो भन्ने कुरा समय र इतिहासले छर्लङ्ग्याइसकेको छ।


राजनेताको मूल कार्य नै राष्ट्रलाई उन्नतितर्फ उन्मुख गराउनु हो भन्ने तथ्यलाई मनन गर्दा नेपालीले कुनैबेला विश्वेश्वर र पुष्पलाललाई विश्वास गरे तर खास केही पाएनन्। पछि गएर गिरिजाप्रसाद, गणेशमान सिंह, मदन भण्डारी आदिलाई राजनेता ठाने तर वास्तविकतामा यिनीहरूले पनि राष्ट्रलाई सुमार्गतर्फ लगिएको देखिएन। ०६२।६३ को आन्दोलनपश्चात् नेपाली जनताले माओवादीका प्रचण्डलाई साँच्चै राजनेता हुन् कि भनी ठानेका थिए तर उनको प्रधानमन्त्रित्वकाल र उनले अवलम्बन गरेको रहनसहनबाट जनता विरक्तिए। पुनः सच्चा राजनेताको खोजी गरिरहेको समयमा अहिले डा. बाबुराम भट्टराईले आफूलाई स्थापित गर्ने कोसिस आफ्नो प्रधानमन्त्रित्वकालको सुरुसुरुको दिनमा त गरेको देखिन्छ तर हाल आएर बाबुराम पनि किन हो नकारात्मक कार्य गर्न उन्मुख हुँदै गएबाट र आफ्नो कार्यलाई पञ्चायतकालका शासकहरूले जस्तो वा विगतका प्रधानमन्त्रीहरूले जस्तो अनावश्यक तर्क दिँदै पुष्टि गरेबाट साँच्चै नै नेपालमा राजनेताको खडेरी नै परेको हो जस्तो जनताले महसुस गरिरहेको देखिन्छ। 
नेपालीले अहिले शान्ति र संविधान पाउने सुनिश्चितता दिनुपर्ने समयमा दलीय तथा अन्तरदलीय कलहले राष्ट्र फेरि द्वन्द्व र युद्धको चपेटामा पर्ने हो कि भन्ने त्रास जनमानसमा पलाउन थालेको देखिन्छ। एकातिर दलहरूमा विद्यमान आपसी कलह र अर्कोतिर दलहरूमा आएको सैद्धान्तिक विचलनले गर्दा पनि जनता दलहरूप्रति पूर्ण विश्वस्त रहन सक्ने स्थिति पनि देखिँदैन। उदाहरणस्वरूप नेपालका प्रमुख दलहरू एनेकपा माओवादी, नेपाली काङ्गे्रस र नेकपा एमालेको स्थितिलाई लिन सकिन्छ। जनतालाई साँच्चै नै विश्वास दिलाउने र राष्ट्रलाई सुमार्गमा लैजाने हो भने नेपालका राजनीतिज्ञहरूले आफ्नो सैद्धान्तिक विचलनबाट आफूलाई स्वतन्त्र राख्दै आफूलाई जनसेनाको व्यक्तिको रूपमा स्थापित गर्नुपर्ने देखिन्छ। 
वास्तवमा नेपाललाई साँच्चै नै सुमार्गमा लाने हो भने एकातिर नेपालका लोकतान्त्रिक नेताहरूले महात्मा गान्धी, अब्राहम लिङ्कन र नेल्सन मण्डेलाको जस्तो चरित्र कायम गर्नुपर्ने देखिन्छ भने अर्कोतिर साम्यवादी नेताहरूले कार्लमार्क्स, एङ्गेल्स, लेनिन, होचिमिन्ह आदिको जस्तो कदता र चरित्र देखाउनुपर्ने स्थिति टड्कारो देखिन्छ। 
नेपाली जनता आफ्ना नेताहरू साँच्चै नै 'राजनेता' बनी देशलाई सुमार्ग र समृद्धिशाली स्थितिमा पुर्‍याउने दिनको आशामा रहेका छन्। तथापि, नेपालको राजनीतिक परिवेश नै विसङ्गतिपूर्ण बनिसकेको परिप्रेक्ष्यमा देशले चामत्कारिक रूपमा रातारात राजनेताको जन्म गराइहाल्छ भन्ने अपेक्षा राख्नु नै दिवास्वप्नबराबर हुनेछ। यस तथ्यलाई आत्मसात् गर्दै विश्व राजनीतिक 'टे्रन्ड'तर्फ आफूलाई ढाल्दै सच्चा राजनेताको कोटिमा उभ्याउनु आजको जनचाहना हो। आजका प्रत्येक नेताले राजनेताभित्र हुनुपर्ने इमानदारी, कर्तव्यपरायण एवम् राष्ट्रभक्तिजस्ता आधारभूत गुणहरूलाई व्यवहारमा उतार्दै नेपालको वर्तमान सङ्क्रमणकालीन चुनौतीलाई चिर्ने साहस, धैर्य, क्षमता र कार्ययोजनासहित राष्ट्र निर्माणमा लागेको खण्डमा जनताले साँच्चै नै राजनेता भेट्लान् कि?