यो वर्ष के के आउँदैछ?


नयाँ वर्षसँगै नयाँ अपेक्षा जोडिएर आउँछन्। सन् २०१२ मा प्रविधिमा के के नयाँ उत्पादन आशा गरिएका छन् त?
आइप्याड मिनी
अमेजनले २ सय डलर मै पाइने ट्याब्लेट किन्डल फायर सार्वजनिक गरेर लोकप्रियता कमाएपछि एप्पलले पनि प्रतिस्पर्धामा उत्रन आइप्याडलाई परिवर्तित स्वरुपमा ल्याउने अनुमान गरिएको छ। आधिकारिक रुपमा केही सार्वजनिक नभए पनि सानो खालको संभवतः ७ इञ्चको आइप्याड २ सय ९९ डलरमा बेच्ने गाइँगुँइ सुनिएको छ। यो मिनी आइप्याडको क्षमता १६ जीबी हुने अनुमान छ।
अल्ट्राबुक
ल्यापटपको विकल्पमा नेटबुक र आएको हो। यो वर्ष नेटबुकको विकल्पका रुपमा अल्ट्राबुक आउने आशा गरिएको छ। यो पातलो र हलुका भएकोले बोकेर हिँड्न सजिलो हुनेछ। ५ देखि ८ घण्टासम्म ब्याट्री थाम्ने भएकोले नेपाल जस्तो लोडसेडिङपीडित देशहरुका लागि पनि यो उपयोगी साबित हुनेछ। अहिले यस्ता अल्ट्राबुकहरु अन्तर्राष्ट्रिय बजारमा ८ सय डलर घटीमा पाइन्न। यो वर्ष क्षमता उही भए पनि मूल्य कम भएका अल्ट्राबुकहरु बजारमा आउने आशा गरिएको छ।
नयाँ म्याकबुक एअर
म्याक बुक प्रो र एअरको नयाँ डिजाइन आउने हल्ला पविधि क्षेत्रमा छ। म्याकबुक एअर अहिले नै सबैभन्दा पातलो ल्यापटप हो। योभन्दा पातलो डिजाइन आउने हो कि हैन, विज्ञहरु नै अन्यौलमा छन्।
किन्डल फायर टु
समीक्षकहरुले त्यति राम्रो नभने पनि अमेजनको किन्डल फायर निकै हिट साबित भयो। एप्पलको आइप्याड बजारमा ठूलै असर नपारे पनि यसले उसलाई एक पटक सोच्न भने बाध्य बनायो। अब किन्डल फायरको दोस्रो संस्करणले आइप्याडलाई अझै चुनौति दिने आशा यो वर्ष गरिएको छ। अमेजनले १० इञ्चको ट्याब्लेट सस्तोमा बजारमा ल्याउने आशा प्रविधि क्षेत्रमा गरिएको छ।


आइफोन फाइभ
आइफोन फाइभ बजारमा आउने अनुमान त बितेको वर्ष नै गरिएको हो। तर एप्पलले आइफोन फाइभको सट्टा फोरमा नै केही सुधार गरेर आइफोन फोर एस ल्याइदियो। त्यसैले यो वर्ष आइ फोन फाइभ आउने लगभग निश्चित छ। जुन कि नोभेम्बर, कुन महिनामा यो बजारमा आउला अनिश्चित नै छ। नयाँ डिजाइन र निकै तीव्र गतिमा इन्टरनेट चल्ने फोर जी नेटवर्कमा समेत आइफोनको यो संस्करण चल्ने आशा गरिएको छ।

आइप्याड थ्री
ट्याब्लेट क्रान्ति गरेको एप्पलको आइप्याडको नयाँ सस्करण आइप्याड थ्री यो वर्षको फेब्रुअरी वा मार्च महिनामा लन्च हुने अपेक्षा गरिएको छ। यस पटक आइप्याडले के के परिवर्तन गर्ला भन्ने निश्चित नभए पनि स्त्रि्कन रेजोल्युसन अझ बढी हुने अर्थात् अझ राम्रो दृश्य देखिने आशा गरिएको छ।
नुक ट्याब्लेट टु
बार्नस एन्ड नोबलले बनाएको नुक ट्याब्लेटको नयाँ मोडल पनि यही वर्ष आउने अपेक्षा गरिएको छ। यसको मोडल वर्षको अन्त्यतिर, नोभेम्बरमा अपेक्षा गरिएको छ।
निकोन डी ८००
निकोनको नयाँ पुस्ताको क्यामेरा बितेको वर्ष नै आउने अपेक्षाले मूर्त रुप नलिए पनि यो निकोन डी ८०० यही वर्षको पहिलो केही महिनाभित्रै बजारमा आउने आशा गरिएको छ। यसले ३६ मेगापिक्सेलसम्मको फोटो खिच्न सक्ने र मूल्य तीन हजार अमेरिकी डलर पर्ने अनुमान छ।
क्यानन ५ डी मार्क थ्री
निकोन कै जस्तै क्याननको डिजिटल क्यामेराको पछिल्लो उत्पादन पनि गएको वर्ष नै बजारमा आउने अपेक्षा गरिएको थियो। जापानमा भूकम्प र सुनामीले र थाइल्यान्डमा बाढीले मच्चाएको विध्वंसका कारण यो ढिला भएको हुनसक्ने अनुमान गरियो। क्यानननको पछिल्लो क्यामेरा ५ डी मार्क टुको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब दुई हजार डलर रहेको छ। नयाँको मूल्य २५ सय डलरको हाराहारीमा रहने अपेक्षा छ।

विन्डोज ८
विन्डोज ७ पछि माइक्रोसफ्टले विकास गरिरहेको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ८ हो। यसले पहिलेको इन्टेल र एमडीको एक्स८६ माइक्रो प्रोसेसर मात्र नभएर एआरएम माइक्रोप्रोसेसरलाई पनि सपोर्ट गर्छ। स्मार्टफोनहरुमा विशेष गरी यस्ता माइक्रोप्रोसेसर प्रयोग हुने गर्छ। विन्डोजको यो नयाँ संस्करण माउस, किबोर्ड, पेन बाहेक टचस्त्रि्कन अर्थात स्त्रि्कनमा छोएर चलाउन मिल्ने गरी बनाइएको छ। माइक्रोसफ्टले यो कहिलेसम्म रिलिज हुन्छ भनी अहिले नै बताइनसकेको भए पनि यही वर्ष हुने अपेक्षा प्रविधि जगतमा गरिएको छ ।
-नागरिक