सा‌स्कृतिक व्याख्यामा प्रेम

हिउँदे जाडो अन्त्य हुँदै गर्दा तन्नेरी पुस्ता प्रणय दिवसमा रमाइरहेका छन्। सहरका चोकहरुमा गुलाब, पोस्टकार्ड र भ्यालेन्टाइनको तस्बिर छापिएका टीसर्टको बिक्री बढिरहेको छ। नगरकोट, धुलिखेल, गोदावारी र ककनी छेउछाउका होटलहरु बुकिङ भएका छन्। सुपरमार्केटहरुले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेका छन्। सन्त भ्यालेन्टाइनलाई यति धेरै महत्व दिने नेपाली सहरिया समाजले पूर्वी संस्कृतिका अमर प्रेम प्रसंगलाई भने भुसुक्कै बिर्सेका छन्। 
पूर्वी संस्कृतिले मानवीय जीवनका भौतिक र अभौतिक दुवै पक्षलाई समेटेको छ। यसमा निहित विज्ञान बुझे हाम्रो समाजशास्त्र, मानवशास्त्र, कला र साहित्यले लिनसक्ने कुरा धेरै छन्। प्रेम प्रसंगकै कुरा गर्ने हो भने राधा-कृष्णको प्रेम, भक्तिनी मीराको प्रेम, महादेव-सतीदेवीको प्रेम, राम-सीताको विवाहसँग जोडिएको प्रेम, नल-दमयन्तीको प्रेम प्रसंगहरुलाई लिन सकिन्छ। यीमध्ये राधा-कृष्णको प्रेमलाई अभूतपूर्व विम्ब मानेर कथा सुन्ने प्रचलन राज्यस्तरमा मान्यताप्राप्त छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। वसन्त पञ्चमीमा (माघ शुक्ल पञ्चमी वा सरस्वती पूजा ) पहिले राजाबाट र आजभोलि राष्ट्रपतिबाट गरिने ...वसन्त श्रवण' राधा-कृष्णकै प्रेमकथा हो। जनस्तरमा लोकप्रिय एवं राज्यबाट समेत अनुमोदित राधा-कृष्णको प्रेमकथालाई सन्त भ्यालेन्टाइनको कथासँग तुलना गर्न मिल्दैन। 
स्वस्थानीमा वर्णित महादेव-सतिदेवीको प्रेम अनुपम छ। सतिदेवी आफ्ना पिताले पति महादेवको अपमान गरेको सहन नसकी आगोमा हाम फालेर आत्महत्या गर्छिन्। प्रेममा पागल भएर महादेव उनकोे मृत शरीरलाई काँधमा बोकेर एकएक अंग बाँकी रहुञ्जेल भारतवर्षका विभिन्न ठाउँ भौतारिएको कथानक अत्यन्त मार्मिक छ। पतिको अपमान सहन नसकेर पत्नीले आत्महत्या गर्नु प्रेमप्रतिको महान् समर्पण हो। यो सैनिकहरुले विवाह गर्न पाउनुपर्छ भन्ने सन्त भ्यालेन्टाइनले पाएको मृत्यदण्डभन्दा हजारौँ गुणा शक्तिशाली छ। महादेव हिन्दूहरु र अझ पहाडे जनजातीय संस्कृतिका आद्यपुरुष भएकाले यो प्रेमकथा अत्यन्त लोकप्रिय छ। 
विवाह पञ्चमीको सरोकार स्त्री-पुरुषबीचको प्रेम र त्यसपछि वैवाहिक सम्बन्धसँग छ। विवाह पञ्चमी राम र सीताको विवाह भएको दिन हो। यस दिनलाई जानकी विवाह भनेर मनाउने चलन छ। मंसिरको पहिलो सातातिर (मंसिर शुक्ल पञ्चमी) पर्ने हुनाले मौसम परिवर्तन, अर्थतन्त्र र सामाजिक मनोविज्ञानलाई समेत यसले प्रतिनिधित्व गर्छ। नेपाली समाजमा यसको महत्व बेग्लै छ।


मिथिला क्षेत्रमा जानकी विवाह जुन किसिमले मनाउने गरिएको छ त्यसभित्र नेपाल र भारतको जनस्तरको सम्बन्ध समेत जोडिएको छ। त्यसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई पनि प्रस्ट पार्छ। जनकपुरमा विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट ठाउँठाउँमा विश्राम लिँदै जन्ती आउने प्रचलन अझै पनि छ। विश्राम लिने ठाउँमध्ये बिहारको फुलहराबाट राम र सीताको प्रेम सुरुवात भएको मानिन्छ। अयोध्याबाट आएका लगायत केही स्थानीयहरु रामका पक्षमा र जानकी मन्दिरका महन्थलगायत अरुहरु सीताका पक्षमा लागेर विवाह सम्पन्न गर्छन्। जनकपुरमा धुमधामसँग विवाह हुने त्यो दिन मिथिला क्षेत्रमा स्थानीय बिदासमेत दिइन्छ। त्यो दिन विवाह गर्न साइत हेर्न पर्दैन भन्ने जनमान्यता मिथिला क्षेत्रमा मात्र नभएर सम्पूर्ण नेपाली समाजमा छ। 
यसरी जानकी विवाहको दिनलाई प्रेम दिवसको रुपमा व्याख्या गर्दा त्यसले नेपाली समाजमा मात्र नभएर भारतीय समाजमा समेत लोकप्रियता पाउने सम्भावना छ। रामायणकालीन समाजको इतिहास पनि जोडिने हुनाले रावणको राजधानी लंकासम्म (हालको श्रीलंका) यसको विस्तार हुन सम्भव छ। अझ तन्किँदै इन्डोनेसियाको बाली प्रान्तलाई समेत यसले प्रभाव पार्न सक्छ। यसरी विवाह पञ्चमीको प्रेम प्रसंगले समग्र भारतवर्षलाई समेट्ने देखिन्छ। 
भ्यालेन्टाइन दिवसलाई प्रेम दिवसको स्तरमा व्याख्या गरिन्छ। तर, यसको सुरुवातको पृष्ठभूमि र सामाजिक मनोविज्ञान हेर्दा यो विशुद्ध प्रेमभन्दा पनि ज्यादा स्त्री र पुरुषबीचको यौनजन्य सम्बन्धसँग जोडिएको देखिन्छ। त्यही भएरै होला, ...तिमी मेरो भ्यालेन्टाइन' वा ...ह्यापी भ्यालेन्टाइन डे' भन्न केटाहरुलाई आफ्नी श्रीमती वा प्रेमिका नै चाहिन्छ। केटीहरु पनि आफ्ना श्रीमान् वा पे्रमीलाईमात्र त्यस्तो भन्न सक्छन्। अरुलाई भन्ने आँट गरिँदैन। यो भ्यालेन्टाइन दिवसको अवधारणाभित्र यौनजन्य प्रेमको मनोविज्ञान नहुँदो हो त जसले जसलाई पनि भन्न सक्नुपर्थ्याे। तर, त्यस्तो पाइँदैन। 
यता पूर्वी संस्कृतिमा यस्ता धेरै आख्यानहरु छन् जसले प्रेमलाई यौनभन्दा धेरै माथि उठेर मानवीय तहमा व्याख्या गर्छन्। सरस्वती पूजा त्यस्तो एउटा सन्दर्भ हो। आमाको मुख हेर्ने, बाबुको मुख हेर्ने, गुरुपूर्णिमाजस्ता सन्दर्भहरु धर्मसँग मात्र नजोडिएर मानवीय प्रेम सम्बन्धको पनि व्याख्या गर्छन्। यी समाजशास्त्रीय, मानवशास्त्रीय र इतिहाससम्बद्ध पनि छन्। 
पूर्वी संस्कारमा रहेका यस्ता अनेक प्रेम प्रसंगहरु अलपत्र छन्। यिनको चर्चा गर्नु राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक कुनै पनि हिसाबले किन उपयुक्त नठानिएको हो? उता, सैनिकले विवाह गर्न पाउनुपर्छ भन्ने मान्यता राखेबापत भ्यालेन्टाइनले मृत्युदण्ड पाएको सामान्य कथालाई सम्झेर पोस्टकार्ड, टीसर्ट र रक्सीको ठूलो व्यापार भइरहेको छ। यो उत्तर साम्राज्यवादको सांस्कृतिक व्यापार हो। खस संस्कृतिको उपनिवेशबाट शोषित भएको महसुस गर्ने नेपालीहरुले यसलाई कसरी हेर्ने? पश्चिमले संस्कृतिलाई उपभोग्य वस्तु बनाएर बेचिरहेछ। हामी उपभोक्ता बनेर किनिरहेछौँ। हामी कृष्ण, राम, जानकी, पृथ्वीनारायणलाई मुर्दावाद भन्दैछौँ। सन्त भ्यालेन्टाइनको जयजयकार गर्दैछौँ। 
संस्कृति मानिसका व्यवहारबाट अभिव्यक्त हुने कुरा हो। राज्यको केन्द्रीय तहमा बसेर सांस्कृतिक पहिचानका कुरा गर्नेले स्थानीय तहमा जनताले कस्ता अभ्यासहरु गरिरहेछन् भनेर हेर्नु आवश्यक छ। जतिसुकै जातीय, भाषिक, सांस्कृतिक पहिचानका राजनीतिक कुरा गरे पनि तन्नेरी पुस्ताले अर्कै बाटो समातिसकेको छ। नयाँ पुस्तालाई हामीले सांस्कृतिक अवसर दिएनौँ भने उनीहरु अवसरको खोजीमा जहाँ पनि पुग्न सक्छन्। जस्तो कि, हामीले हाम्रा संस्कृतिमा भएका यति धेरै प्रेमप्रसंगलाई बहसको रुप नदिँदा उनीहरु फ्रेबुअरी १४ कुरेर प्रेम साटासाट गरिरहेछन्।
लेखक त्रिविमा ग्रामीण विकास पढाउँछन्।

नागरिक न्युज