संसारका सात ठूला अर्थतन्त्र

अमेरिका 

अमेरिकाले विगत चारदसकदेखि आफूलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको रूपमा उभ्याइरहेको छ। अमेरिकाको कुल ग्रार्हस्थ उत्पादनदेखि प्रतिव्यक्ति आयसम्म उच्च रहेको छ। हाल यो राष्ट्रको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) १ सय ५० खर्ब डलर रहेको छ, जुन विश्वकै लभगभ एक चौथाई हुन आउँछ। कुल जीडीपीमध्ये १ दशमलव २ प्रतिशत कृषि, २२ दशमलव १ प्रतिशत उद्योग र ७६ दशमलव १ प्रतिशत सेवाबाट रहेको छ। त्यसैगरी, अमेरिकाको प्रतिव्यक्ति आय ४८ हजार १ सय ४७ डलर रहेको छ भने १ दशमलब सात प्रतिशतका दरले आर्थिक विकास गरिरहेको छ। संसारभर हुने कुल लगानीमध्ये ६० प्रतिशत अमेरिकामा मात्र हुन्छ, जबकी युरोपियन मुलुकमा जम्माजम्मी २४ प्रतिशत मात्र हुन्छ। अमेरिकाले क्यानडा, मेक्सिको र चीनलाई आफ्नो व्यापार साझेदार बनाएको छ। त्यसैगरी, यो राष्ट्रको श्रम बजारमा विश्वकै ध्यान खिचिएको छ, जसको कारण आप्रवासी नागरिकको दर पनि उच्च रहेको छ। संसारका पाँच सय ठूला कम्पनीमध्ये १ सय ३३ अमेरिकामा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०१५सम्म पनि अमेरिकालाई कुनै मुलुकले पछाडि पार्न सक्दैनन्। 


चीन 
हाम्रो छिमेकी मुलुक चीन अमेरिकापछिको संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो। चीनले सन् २०१० मा जापानलाई उछिन्दै आफूलाई दोस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्रको रूपमा उभ्याएको हो। यो मुलुकले संसारलाई नै चकित पार्दै पछिल्लो तीस वर्षमा १० प्रतिशतका दरले आर्थिक विकास गरिरहेको छ। हाल यो राष्ट्रको कुल ग्रार्हस्थ उत्पादन ७३ अर्ब डलर रहेको छ, जसमध्ये कृषिले ९ दशमलब ६ प्रतिशत, उद्योगले ४६ दशमलव आठ प्रतिशत तथा सेवाले ४३ दशमलब ६ प्रतिशत ओगटेको छ। चीन संसारको सबैभन्दा धेरै निर्यात गर्ने राष्ट्रमध्ये अग्रपङ्तिमा पर्छ भने आयात गर्नेमा दोस्रो ठूलो राष्ट्र हो। यसले वर्षेनी १५ खर्ब डलर निर्यात र १३ अर्ब डलर आयात गर्छ। हाल यो राष्ट्रको प्रतिव्यक्ति आय आठ हजार ३ सय ८४ डलर रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१५ सम्म चीनले अहिलेको स्थानलाई सुरक्षित राख्ने जनाएको छ। 



जापान 
अर्को एसियाली मुलुक जापान अमेरिका तथा चीनपछिको संसारकै तेस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र हो। दोस्रो विश्व युद्धपछि जापानले गरेको आर्थिक विकास संसारकै लागि उदाहरणीय मानिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार हाल जापानको प्रतिव्यक्ति आय ३४ हजार ३ सय ६२ डलर रहेको छ। जापानको कुल ग्रार्हस्थ उत्पादन ५८ अर्ब डलर रहेको छ, जसको १ दशमलब ५ प्रतिशत कृषि, २२ दशमलब आठ प्रतिशत उद्योग र ७५ दशमलब ७ प्रतिशत सेवाले ओगटेको छ। यो राष्ट्र अटोमोबाइल्स निर्माण गर्ने संसारकै दोस्रो तथा विद्युतीय सामान उत्पादन गर्ने पहिलो राष्ट्र हो। चीन तथा उत्तरकोरियासँग प्रतिस्पर्धा बढ्दै गएपछि जापानले हाइब्रिड कार, हाइटेक प्रविधि तथा रोर्बोटको उत्पादनलाई तीव्रता दिएको छ। जसका कारण जापानको अर्थतन्त्र अझ सुदृढ हुँदै जाने देखिन्छ। संसारका पाँच सय ठूला कम्पनीमध्ये ६८ वटा जापानमा रहेका छन्। जापानको राजधानी टोकियो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मेट्रोपोलिटिएन सिटी हो। यसले आफ्नो आर्थिक विकास कायम राख्नका लागि ऊर्जा, यातायात, सञ्चार र प्रविधिगत सामानहरूको उत्पादन तथा निर्यातलाई मुख्य रणनीति बनाएको छ। आईएमएफले यो राष्ट्रको अर्थतन्त्र सन् २०१५ सम्म तेस्रो कायम रहने प्रतिवेदनामा जनाएको छ। 


जर्मनी 
जर्मनी युरोपको सबैभन्दा ठूलो तथा संसारको चौथो अर्थतन्त्र भएको राष्ट्र हो। यसको कुल ग्रार्हस्थ उत्पादन ३५ अर्ब डलर रहेको छ, जसमध्ये उद्योगले २८ दशमलब १ प्रतिशत, सेवाले ७१ प्रतिशत तथा कृषिले लभगक एक प्रतिशत भाग ओगटेको छ। जर्मनीको आर्थिक विकास दर ३ प्रतिशत रहेको छ भने प्रतिव्यक्ति आय ४४ हजार ७ सय २९ डलर रहेको छ। यो संसारको दोस्रो निर्यातकर्ता राष्ट्र हो। यसले वर्षेनी १ दशमलव ४ टि्रलियन डलर बराबरको उत्पादन निर्यात गर्छ भने १ दशमलब ५ टि्रलियन डलर बराबरको सामान आयात गर्छ। जर्मनीले अटोमोबाइल्स, मेसिनरी सामान, मेटल, रासायिनिक पदार्थजस्ता सामानहरू निर्यात गर्छ भने तेल, प्राकृतिक ग्यासहरू आयात गर्छ। जर्मनीको अर्थतन्त्र सवल बनाउने अर्को उत्पादनमा सौर्य शक्ति तथा हवाई इन्धन पनि हो। संसारका पाँच सय ठूला कम्पनीमध्ये ३७ वटा जर्मनीमा रहेका छन्। आईएमएफले जर्मनी सन् २०१५ सम्म पनि चौथो ठूलो अर्थतन्त्र हुने जनाएको छ। 


फ्रान्स 
फ्रान्स संसारकै पाँचै तथा युरोपको जर्मनीपछिको दोस्रो ठूला अर्थतन्त्र भएको राष्ट्र हो। सन् २००९ को मध्यतिरबाट फ्रान्सले आफ्नो आर्थिक विकासलाई चामत्कारिक ढङ्गबाट अगाडि बढाइरहेको छ। यो संसारका धनी तथा विकसित मुलुकहरूमध्ये अग्रपङ्तिमा पर्दछ। यसको कुल ग्रार्हस्थ उत्पादन पनि सोचेकोभन्दा राम्रो छ। अहिले फ्रान्सको जीडीपी २८ अर्ब डलर रहेको रहेको छ, जसको २ दशमलब १ प्रतिशत कृषि, १९ प्रतिशत उद्योग तथा ७८ दशमलब ९ प्रतिशत सेवाले ओगटेको छ। यसले १८ प्रतिशतका दरले जीडीपीमा विकास गरिरहेको छ। त्यसैगरी, यसको प्रतिव्यक्ति आय ४० हजार ५ सय ९१ रहेको छ। तर, आईएमएफले सन् २०१५ सम्म ब्राजिलले फ्रान्सलाई उछिन्ने जनाएको छ। 


ब्राजिल 
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले बेलायतलाई पछि पार्दै संसारकै छैटो ठूलो अर्थतन्त्र भएको राष्ट्रको रूपमा उभ्याएको छ। गत वर्ष ब्राजिलको अर्थतन्त्र २ दशमलब ७ प्रतिशतले बढेको थियो। यो राष्ट्रको कुल ग्रार्हस्थ उत्पादन २५ खर्ब अमेरिकी डलर रहेको छ, जसमध्ये कृषिले ५ दशमलव ८ प्रतिशत, उद्योगले २६ दशमलव ८ प्रतिशत तथा सेवाले ६७ दशमलव ४ प्रतिशत भाग ओगटेको छ। त्यसैगरी, यसको प्रतिव्यक्ति आय ११ हजार २ सय ७३ डलर रहेको  छ। ब्राजिललेे विश्वको छैटौं ठूलो अर्थतन्त्र बन्नुभन्दा पनि दिगो तथा गतिशील आर्थिक विकासलाई महत्वपूर्ण मानेको छ। खाद्यान्न तथा पेट्रोलियम पर्दाथमा भारी मूल्यबृद्धि भएकाले नै ब्राजिलको तीव्र आर्थिक विकास गरिरहेको छ। केही वर्ष अघि समुन्द्री तटमा ठूलो तेल खानी फेला पारेपछि ब्राजिल विश्वकै नवौं तेल उत्पादक राष्ट्र बनेको थियो। त्यसयता यसले तेल उत्पादनमा पाँचौं स्थानभित्र प्रवेश गर्ने लक्ष्य राखेको छ। आईएमएफले सन् २०१५ सम्म ब्राजिल पाँचौं ठूलो अर्थतन्त्र भएको राष्ट्र हुने जनाएको छ। 


बेलायत 
केही अघिसम्म छैटौं ठूलो अर्थतन्त्र भएको बेलायत अहिले सातौंमा झरेको छ। बेलायतको आर्थिक विकास जिरो दशमलब आठ प्रतिशतमात्र रहेको छ। यद्यपी यो औद्योगिक विकास उच्च भएको राष्ट्रमा पर्छ। यसले भारी मात्रामा टेक्सटाइल र रासायनिक पदार्थको उत्पादन गरिरहेको छ। त्यसैगरी, अटोमोवाइल्स, ट्रेन तथा एयरक्र्याफ्टको उत्पादनमा पनि बेलायत अगाडि रहेको छ। बेलायतको राजधानी लण्डन संसारकै ठूलो आर्थिक गतिविधिको केन्द्र मानिन्छ। यहाँ संसारमै ख्याती कमाएका बैक, विमा कम्पनी तथा स्टक एक्सचेन्चहरू रहेका छन्। जसले लण्डनको वित्तीय कारोबारलाई महत्वपूर्ण योगदान पुर्यााएको छ। त्यसैगरी, कृषि तथा माछापालनले पनि बेलायतको अर्थतन्त्रमा ठूलो भाग ओगटेको छ। यहाँ संसारकै सबैभन्दा उन्नत तथा वैज्ञानिक ढङ्गको कृषि प्रणाली अपनाइएको छ। बेलायतले युरोपियन युनियनको साझा कृषि नीति अवलम्बन गरेको छ। यहाँको गहुँ, चामल, आलु, उखुको माग संसारभरी नै रहेको छ। त्यसैगरी, बेलायतले पर्यटन तथा भौतिक निर्माणका सामानहरूबाट पनि निकै आर्थिक मुनाफा गरिरहेको छ।