– विदुर मल्ल
संस्कार र संस्कृतिको विकास मानव समाजमा लामो अभ्यासपछि निर्माण हुने कुरा हो। एक पटक निर्माण भएको संस्कार र संस्कृति बदलिन वा समाप्त हुन निकै गाह्रो हुन्छ। कुनै पनि संस्कार वा संस्कृतिको विकासमा मानव समाजमा व्याप्त चिन्तनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। चिन्तनलाई त्यो समयको वा स्थानको भौतिक परिस्थितिले निर्धारण गरेको हुन्छ। त्यसैले संसारका विभिन्न स्थानमा र विभिन्न कालखण्डमा मानव सभ्यतामा फरकफरक खालका संस्कार र संस्कृतिको निर्माण भएका छन्। मानव सभ्यताको सुरुका दिनहरूमा संसारमा घट्ने विभिन्न घट्नाहरू अत्यन्तै रहस्यमय मानिन्थे। उदाहरणका लागि आदिम कालमा आकाशबाट पानी खस्नु, आकाशमा गड्याङ्–गुडुङ् गर्दै बिजुली चम्कनु, एकछिन अघिसम्म बोल्ने मान्छे वा हिंड्ने जीव एकछिन पछि निर्जीव देखिनु, ठूलो हावाहुरी आउनु आदि त्यति बेलाका रहस्यमय र आश्चर्यलाग्दा घट्ना मानिन्थे। त्यसैले त्यति बेलाको चेतना अनुसार मानिसले अलौकिक शक्तिको कल्पना गर्यो र उसले प्रकृतिका ती डरलाग्दा र आश्चर्यलाग्दा सबै चीजको पूजा गर्न थाल्यो। नदी, आगो, सर्प, वायु, सूर्य, बाघ जस्ता शक्तिशाली चीजहरू पूजाका विषय बने। अनि मान्छे मरेपछि उसको आत्मा स्वर्ग वा नरकमा जाने, उसको आत्माले पुनर्जन्म पाउने जस्ता कल्पना गर्न थाल्यो। त्यसले विस्तारै संस्कार र संस्कृतिको रूप धारण गर्दै गयो। त्यसैले त्यतिबेला प्रकृतिको पूजा गर्ने, अलौकिक शक्तिमा विश्वास गर्ने संस्कृति विकसित हुन पुग्यो। आदिम कालमा परिवारको गठन भइसकेको थिएन। त्यतिबेला एकल विवाहको प्रचलन पनि थिएन। यौन स्वच्छन्दता थियो। त्यो नै त्यति बेलाको संस्कार र संस्कृति थियो। बिस्तारै व्यक्तिगत सम्पत्तिको सुरुवातसँगै परिवार, विवाह जस्ता संस्कृति र त्यससँग सम्बन्धित संस्कारहरूको विकास हुँदै गयो। हिन्दू धार्मिक संस्कारलाई हेर्दा मानव सभ्यताको पौराणिक कालमा आइपुग्दा समेत बहुपति प्रथा कायम रहेको पाइन्छ। उदाहरणका लागि सत्यवतीले कुमारी अवस्थामा नै पराशर ऋषिसँग यौन सम्बन्ध कायम राखी व्यासलाई जन्म दिएकी थिइन्। तर उनलाई कुमारी नै रहेको बताइन्छ। पछि उनको विवाह शान्तनुसँग भयो।
शान्तनुको अर्की श्रीमती गङ्गा थिइन्। गङ्गाको कोखबाट भीष्म जन्मिए भने सत्यवतीको कोखबाट चित्राङ्गद र विचित्रविर्य जन्मिए। यसरी व्यास, भीष्म, चित्राङ्गद र विचित्रविर्य आमा तथा बाबुको नाताबाट भाइभाइ भएको पुष्टि हुन्छ। चित्राङ्गदको विवाह नहुँदै मृत्यु भयो भने विचित्रविर्यका दुई वटी श्रीमती हुँदा हुँदै पनि सन्तान नहुँदै जवानीमा नै मृत्यु भयो। त्यो अवस्थामा आमा सतीदेवीले भीष्मलाई बोलाएर भाइ बुहारीहरूसँग संसर्ग गरी सन्तान उत्पादन गर्न अनुरोध गरिन्। तर भीष्म सन्तान उत्पादन गर्न असमर्थ भएपछि व्यासलाई बोलाएर भाइबुहारीहरूसँग संसर्ग गर्न लगाइयो। व्यासको संसर्गबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो (महाभारत आदिपर्व)। त्यति मात्र कहाँ हो र? पाण्डुकी श्रीमती कुन्तीले पनि विवाह नगर्दै सूर्यसँग संसर्ग गरी कर्णलाई जन्म दिएकी थिइन् भने पाण्डुसँग विवाह भइसकेपछि पनि परपुरुष धर्मराजसँग संसर्ग गरि युधिष्ठिरलाई, वायुसँग संसर्ग गरी भीमलाई र इन्द्रसँग संसर्ग गरि अर्जुनलाई जन्म दिएको कुरा महाभारतमा उल्लेख छ। यसले के देखाउँछ भने त्यतिबेला महिलाहरू बढी स्वतन्त्र थिए वा पर पुरुषसँग संसर्ग गरि सन्तान उत्पादन गर्नु त्यति बेलाको संस्कृति र संस्कार अनुसार ठीकै मानिन्थ्यो। पछिल्ला कालखण्डमा आइपुग्दा महिलाहरूलाई बढी नियन्त्रण गर्न थालियो। त्यो नियन्त्रण यहाँसम्म वृद्धि भयो कि कुनै महिलाको श्रीमान मर्यो भने श्रीमती ज्युँदै आगोमा जलेर सती जानु पर्ने संस्कारको विकास भयो। आजको युगमा आइपुग्दा सती प्रथा इतिहासको विषय बनेको छ। तर हाम्रो जस्ता मुलुकमा यस्ता कैयौ संस्कार छन्, जसले समाजको गतिलाई रोक्न सघाइरहेका छन्। जस्तो कि कुनै महिलाको श्रीमान मरेपछि श्रीमतीले राता कपडा लगाउन नहुने, चुरा पोते लगाउन नहुने, अर्को पुरुषसँग विवाह गर्न नहुने जस्ता संस्कारगत मान्यताहरू कायमै छन्। यद्यपि देशका कैयौँ स्थानहरूमा यस्ता संस्कार र प्रथाका विरुद्ध आन्दोलनहरू पनि भएका छन् र केही हदसम्म सफल पनि भएका छन्।
विज्ञान र प्रविधिको विकाससँगै कालान्तरमा पुराना कैयौँ मान्यताहरू गलत सावित हुँदै गए। अलौकिक शक्तिमाथिको विश्वासलाई विज्ञान र प्रविधिमा भएको उच्च स्तरको विकासले गलत सावित गर्दै गयो र संसारमा आत्मा अर्थात् विचार नै सबैथोक हो, त्यसले नै वस्तुगत जगतको निर्माण गरेको हो भन्ने मान्यताका विरुद्ध वस्तुले विचार वा आत्माको निर्माण गरेको हो भन्ने मान्यता स्थापित हुँदै गयो। यसरी विश्व दार्शनिक रूपमा नै भौतिकवादी र अध्यात्मवादी दुई परस्परविरोधी शक्तिबीचको टकरावका बीच अघि बढ्दै गयो। अध्यात्मवादले निर्माण गरेको स्वर्ग, नरक, भाग्य, भूत, प्रेत, पिशाच, देवता, राक्षस, धर्म जस्ता काल्पनिक संसारका विरुद्ध द्वन्द्वात्मक भौतिकवादको विकासले जेहाद छेड्दै गयो। अध्यात्मवादको पाखण्डी संस्कारमा अडेका सामन्ती तथा पुँजीवादी सत्ताहरू समेत द्वन्द्वात्मक भौतिकवादको विकाससँगै डग्मगाउन थाले। शोषकहरूको धर्मको आडमा हुने सबै प्रकारका शोषणहरूको पर्दाफास हुन थाल्यो। शोषित पीडित वर्गले आफ्नो पक्षमा रहेको भौतिकवादी दर्शनको आधारमा सङ्घर्षलाई तेज पार्दै गयो। उक्त सङ्घर्षले विश्वका कैयौं भूभागहरूमा समाजवादी सत्ताहरू निर्माण गर्न सफल पनि भयो। समाजवादको निर्माणसँगै विश्वव्यापी रूपमा भौतिकवादी दर्शन र त्यसको आधारमा नयाँ संस्कारहरूको विकास हुँदै गए।
भौतिकवादी दर्शन र त्यसको आधारमा नयाँ संस्कारहरूको निर्माण र विकासमा कम्युनिष्टहरूको नै अग्रगामी भूमिका रहँदै आएको छ। अध्यात्मवादको जगमा अडेका पुराना संस्कारहरू, जस्तैत्र जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कार लगायतका चीजमा आमूल परिवर्तन गर्नु कम्यूनिष्टहरूको परम कर्तव्य पनि हो। विवाह गरेको महिलाले परपुरुषसँग आफ्नो अनुहार देखाउन नपाउने मुस्लिमहरूको गलत संस्कार होस् वा सबैथोक परमेश्वरकै हातमा छ भनेर बहकिने क्रिश्चियनहरूकै संस्कार होस्, सबैमा रहेका गलत संस्कारमा रूपान्तरण हुनु जरुरी छ। त्यसको नेतृत्व कम्युनिष्टहरूले गर्नु पर्दछत्र किनकि कम्युनिष्टहरू नै समाज बदल्ने अग्रगामी शक्ति हुन्।
तर विडम्वना, हामीले कतिपय यस्ता “कम्युनिष्ट” पनि देखेका छौँ, जसले परम्परादेखि चल्दै आएका कुसंस्कारहरूको संरक्षणमा जोड दिइरहेका हुन्छन्। यहाँसम्म कि कोही बिरामी पर्दा धामी–झाँक्रीको सहारा लिन पुग्छन् त कोही आफैं धामी–झाँक्री बन्न पुग्छन्। जन्म, विवाह, मृत्यु लगायतका संस्कारमा ब्राह्मण बोलाएर परम्परालाई बचाउने प्रयत्न गर्दछन्। दुई/चार वटा संस्कृतका शब्द कानमा फुकिदिएर जनै लगाइदिएको भरमा त्यसलाई पक्का गुरु मान्दै जीवनभर खुट्टामा ढोग गदर्ैै हिँड्ने, तर वर्षौंसम्म पढाइरहेका गुरुलाई नमस्ते समेत भन्न हिच्किचाउने समूह पनि कम छैन।
विवाहमा जग्गे (यज्ञ) लगाउने वा मन्दिर धाउनेको जमात पनि ठूलैै छ। बाँच्दासम्म हेला गर्ने, तर मरेपछि पितृलाई अर्थात बाबुआमालाई “स्वर्ग” पठाउन कपाल खौरेर, सेता कपडा बेरेर, एक छाक घिउ र भात खाँदै, अरूसँग नछोइकन तेह्र दिनसम्म कोरा बारेर बस्ने साथै गरुड पुराण सुन्दै दान दक्षिणा गर्ने “क्रान्तिकारी” पनि कम छैनन्।
अध्यात्मवाद शोषक वर्गको दर्शन हो। मानिसलाई धर्म, पाप, स्वर्ग, नरक जस्ता अलौकिकताको भुमरीमा डुबाएर आफ्ना निहित स्वार्थपूर्ति गर्नु शोषक वर्गको अभिष्ट हो। सुरुका दिनहरूमा अज्ञानतावश यसलाई जीवन दर्शनका रूपमा अपनाइएता पनि पछिल्ला दिनमा यसलाई अलौकिकताको जालमा फसाएर अर्काको श्रम र पसिना लुट्ने साधनको रूपमा प्रयोग हुँदै आयो। तर वास्तविकताको ज्ञान नभएर अज्ञानतावश यसको पछि लाग्नेको धेरै ठूलो पङ्क्ति छ। अझ साँच्चै भन्नु पर्दा अध्यात्मिक परम्परा र संस्कारलाई बलियो पार्नमा अर्थात् त्यसको रक्षा गर्नमा त्यही अज्ञानतावश लागेको शक्तिकै ठूलो हात रहँदै आएको छ। हामीले हाम्रो समाजमा हेर्यौँ भने देख्छौँ कि अपवादको रूपमा मात्र जन्म, विवाह, मृत्यु लगायतका संस्कारलाई इन्कार गर्ने मान्छेहरू पाउँछौँ। ती संस्कारका विरुद्ध औँला खडा गर्ने वा मान्न इन्कार गर्नेका विरुद्ध सबैभन्दा पहिले त्यही अज्ञानतावश अध्यात्मवादलाई अङ्गिकार गरेको शक्ति खडा हुन्छ। पुराना रुढीग्रस्त गलत संस्कारलाई अपनाउन इन्कार गर्नेलाई समाजबाट एक्लो पार्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने प्रयत्न गरिन्छ। त्यसको अर्थ समाजलाई बदल्न चाहनेहरू त्यस प्रकारका दबाबका अगाडि झुक्नु पर्छ भन्ने होइन, बरु त्यस प्रकारका चुनौतीको सामना गर्न तयार हुनु पर्दछ। सती प्रथाको जगजगी रहेको समयमा सती प्रथाको विरोध गर्नु समाजको कुलङ्गार ठहरिनु हुन्थ्यो। तर अन्ततः त्यो प्रथाको अन्त भयो। अब कसैले सती जानु पर्छ भन्यो भने त्यो कुलङ्गार सावित हुन्छ। त्यसैले सही कार्यका लागि समाजका कैयौँ चुनौतीहरूको सामना गर्न तयार हुनै पर्दछ। हाम्रो समाज हिन्दू धार्मिक संस्कारबाट अध्याधिक ग्रसित छ। यो संस्कारले गहिरोसँग जरा गाडेको छ। जन्मदा होस् वा विवाह हुँदा होस, मृत्यु हुँदा होस् वा पूजाआजामा होस्, यसले लगातार जनतालाई अध्यात्मिक दर्शनद्वारा प्रशिक्षित गर्दछ। अझ महत्वपूर्ण कुरा त के छ भने आफ्ना मृत पितृहरूको तिथि–श्राद्ध संस्कार त वर्षमा दुई पटक अनिवार्य गर्नु पर्ने नियम छ। यसरी हरेक परिवारमा वर्षमा दुई पटक आध्यात्मिक प्रशिक्षण चल्ने गर्दछ। त्यसका साथै गाउँमा रुद्री, सप्ताह महायज्ञ जस्ता पूजाआजा त लगातार चलिरहन्छन्। त्यसले समाजका कलिला बालबालिकादेखि युवा तथा वृद्धसम्म सबैलाई आध्यात्मिक भावनाबाट ओतप्रोत हुन सघाउ पुर्याउँदै आएको छ। तर भौतिकवादीहरूले समाजमा त्यसरी आफ्ना प्रशिक्षणहरू लैजान सकिरहेका छैनन्। लगे पनि धेरै कम मात्रमा र सीमित जनताका बीचमा त्यो पुग्ने गरेको छ। त्यसैले समाजको आमूल परिवर्तनको लागि भौतिकवादीहरूले निर्मम ढङ्गबाट आफ्नो भौतिकवादी दर्शन र त्यही अनुसारको संस्कारलाई स्थापित गर्न सङ्घर्ष गर्नु जरुरी छ।
- हाँक साप्ताहिक