-अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक लिमिटेड
अहिले हरेक दिनजसो एक हजारभन्दा बढी नेपालीहरु त्रिभुवन विमानस्थल हुँदै रोजगारीको खोजीमा खाडी मुलुकतिर लागिरहनुभएको छ । कुनै पनि सिक्काको दुई भाग हुन्छ । यो प्रकृयाको पहिलो भाग के देख्छु भने नेपालको राजनीतिक नेतृत्वले जति निकम्मापन देखाए पनि आफ्नो पेट पाल्नका लागि नेपाली दाजुभाइहरु विश्वको कुना-कुना पुगेर पसीना बगाइरहनुभएको छ । पौरखी र कर्मठ नेपालीको पहिचान उहाँहरुले दिनुभएको छ । त्यति पनि हुन नसकेको भए नेपालमै बस्ने, सके खाने, नभए भोकै मर्ने वा त्यसको जगमा द्वन्द्व बढ्ने खतरा हुन्थ्यो । उहाँहरुले सावित गरेर देखाइदिनुभएको छ, नेपाली नेताहरु असक्षम होलान् तर नेपाली जनता असक्षम छैनन्, कर्मबीर छन् ।
यसको अर्को पाटो पनि छ- आखिर उहाँहरु किन यसरी बिदेशी भूमिमा गएर पसीना बगाउनुपर्यो ? उच्च जोखिम भएका काममा न्यून पारिश्रमिकमा किन जानुपर्यो ? नेपालमा धार्मिक दंगा भएर, सामाजिक सद्भाव बिग्रेर वा ज्यानै बचाउन नसक्ने भएर त पक्कै हैन । मुख्य कारण हो- पेटको आगो । यहाँ राजनीतिक प्रणालीका, संबिधानका र अग्रगमनका जतिसुकै चर्का नारा लगाए पनि जबसम्म आर्थिक विकाश र सम्वृद्धिमा ध्यान दिन सकिन्न, यो प्रकृया घट्न सक्दैन, झन् झन् बढिरहन्छ ।
विदेश जानेका दुःख
दुःखको कुरा के हो भने एउटा नेपाली पहिलोपटक मलेसिया पुग्छ, त्यहाँ ३-५ बर्ष बस्छ, नेपाल आउँछ । केही गर्न सकिन्छ कि भनेर दुईचार दिन भौतारिन्छ र फेरि दुबई वा साउदीको भिसा खोज्दै म्यानपावर धाउन थाल्छ र अर्को ३ बर्षका लागि अर्को मुलुकतिर हानिन्छ । यसै गरी नेपाली युवाहरुले आफ्नो उर्जाशील उमेरका १०-१५ बर्षसम्म विदेशी भूमि चाहार्दै बसिरहेको देख्छु । विदेशै जान नपर्ने वातावारण त बनाउन सकेनौं नै, कम्तिमा केही वर्ष बसेर सीप र पूँजी लिएर आएको नेपाली युवालाई नेपालमै बस्ने वातावरण हामीले किन दिन सकेनौं त ? किनकि फर्किने युवालाई यहाँ म र मेरो परिवार आर्थिकरुपले सुरक्षित छ भन्ने विश्वास हुन सकेन । हाम्रो गन्तव्य आर्थिक रुपान्तरण नै हो, बाटोमात्रै हो राजनीतिक र सामाजिक रुपान्तरण । आज हाम्रा नेपाली दाजुभाइहरु यस्ता मुलुकमा गएर काम गरिरहनुभएको छ, जहाँ राजनीतिक स्वतन्त्रता पटक्कै छैन, त्यहाँ आर्थिक सम्वृद्धिलाई प्राथमिकता दिइएको छ । यसमा राज्यलाई दोष दिने ठाउँ धेरै होलान् । तर, हामीले ब्यक्तिगत रुपमा केही गर्न खोज्यौं भने सधैंभरि राज्यको मुख ताकिरहनु पर्दैन ।
खाडी मुलुकमा ३ बर्ष बसेको एक नेपालीले तीन चार लाख रुपैयाँ कमाएको हुन्छ । विदेश जाँदाको ऋण तिरेर पनि दुई अढाई लाख रुपैयाँ बचत हुन्छ । त्यही सानो रकमको लगानीबाट पनि नेपालमा केही गर्न सकिन्छ । पूँजी नपुग भए पूँजी थपिदिने, सीप नपुग भए सीप सिकाउने र प्रोजेक्ट प्लान बनाइदिने संस्थाहरु छन् नेपालमा । तर, अधिकांश बिदेशमा काम गरिरहेका नेपालीहरु नेपाल आउनुहुन्छ, कमाएको दुई चार पैसा, बिलासी बस्तुहरुमा खर्च गर्नुहुन्छ । गाउँघर हेर्यो, कोही पनि आफ्नो उमेरका मान्छे भेट्नुहुन्न । अनि फेरि बिदेशतिरै लाग्नुहुन्छ ।
नेपालमै छ सम्भावना
नेपालमा अहिले पनि प्रशस्त सम्भावना भएका क्षेत्रहरु छन् । त्यस्ता क्षेत्रमा काम गर्दा आफु उद्यमी बन्ने र अन्य दर्जनौंलाई रोजगारी दिने सम्भावना रहन्छ । मेरो लामो बैंकिङ करियरको अनुभवमा धेरै त्यस्ता नेपालीहरु देखेको छु, जसले विदेशमा पसीना बगाएर केही पूँजी ल्याउनुभएको छ, त्यहाँ काम गर्दा केही सीप सिक्नुभएको छ र नेपालमा आएर त्यसको लगानी गर्नुभएको छ । उहाँहरु केही बर्षको अन्तरालमै लखपति भएको देखेको छु ।
हाम्रै बैंकले लगानी गरेको एक परियोजनाको कुरा गर्न चाहान्छु । रामबहादुर चौधरी नामक एक सुकुम्बासीले अहिले केरा खेती गरेर बाषिर्क करिव १० लाख रुपैयाँ कमाउनुहुन्छ । लामो समयसम्म बिदेशमा गाडी चलाउनुभएका चौधरीसँग सम्पत्तिको नाममा केही पनि थिएन । मेगा बैंकले केही रकम लगानी गरिदियो, उहाँले केरा खेती थाल्नुभयो । ८ बिघा जमीनमा केरा खेती गरिरहनुभएको छ, १८- २० जनालाई रोजगारी पनि दिनुभएको छ । केराकै थामबाट कागज उत्पादन गर्ने फ्याक्ट्री पनि उहाँले स्थापना गर्दै हुनुुहुन्छ । यो एउटा उदाहरण मात्र हो, यस्ता दशौं लाख उदाहरण नेपालमा बनाउन सकिन्छ ।
अहिले पनि करिव १५ लाखभन्दा बढी नेपालीहरु खाडी मुलुकमा काम गरिरहनुभएको छ । उहाँहरु नेपाल फर्किएर काम गर्नुभयो भने रामबहादुर चौधरी बन्ने सम्भावना प्रवल छ । केवल त्यसका लागि योजना र इच्छाशक्तिमात्र चाहिन्छ । नेपालमा अहिले पनि बाषिर्क १५ अर्ब रुपैयाँको मासु विदेशबाट आयात हुन्छ । त्यति नै रकम तरकारीका लागि विदेशिइरहेको छ । पर्यटनेको क्षेत्रमा त्यतिकै सम्भावना छ । यी क्षेत्रमा लगानी गर्नुभयो भने तपाईले पक्कै पनि नेपालमै सुन फलाउन सक्नुहुन्छ ।
देशमै केही गर्नेहरुलाई टिप्स
नेपालमै केही गर्ने अठोट लिएर तपाई स्वदेश र्फकदै हुनुहुन्छ भने म तपाईहरुलाई केही टिप्स दिन चाहान्छु ।
पहिलो, तपाई कस्तो ठाउँमा बस्नुहुन्छ ? तपाई बस्ने गाउँघरमा के खेती हुन्छ, के सम्भावना छ ? तपाईको सुन्तला खेती हुन्छ कि, स्याउ खेती हुन्छ कि, च्याउ खेती हुन्छ कि, तराईमा हो भने केरा खेती हुन्छ कि ? त्यस बारे सोच्नुहोस् ।
दोस्रो, उद्यम गर्नका लागि आफ्नो गाउँघरका मन मिल्ने साथीभाइको समूह बनाउने प्रयत्न गर्नुहोस् । विदेशमा रहँदै यस्तो योजना बनाउनुभयो भने तपाईलाई नेपालमा आएर पूँजी र समूह बनाउन धेरै भौंतारिइरहनु पर्दैन ।
तेस्रो, नेपाल फर्किएपछि आफुले काम गर्न चाहेको क्षेत्रमा सम्भाब्यता अध्ययन गर्दै पूँजी र प्रविधिबारे तयारी थाल्नुहोस् । यदि समूह बनाउँदा पनि पूँजी पुग्दैन भने लघु वित्त क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थासम्म पुग्नुहोस् । मेगा बैंकजस्ता ठूला बैंकहरुले पनि अहिले साना तथा मझौला उद्योग र फार्महरुमा लगानी बढाइरहेका छन् । उनीहरुसमक्ष पुगेर आफ्नो योजना सुनाउनुहोस् र नपुग रकम ऋण लिनुहोस् ।
चौथो, तपाईले सुरु गर्न लागेको व्यवसायका लागि प्राविधिक सीप जरुरी हुन्छ । यदि तपाई व्यवसायिक खेती, पशुपालनलगायतका काम गर्न थाल्दै हुनुहुन्छ भने तपाईलाई तालिम दिने संस्थाहरु छन् । हेल्भेटास लगायतका संस्थाले तपाईलाई कसरी खेती गर्ने, नोक्सान हुन नदिन कसरी संविधान अपनाउने लगायतका बिषयमा तालिम दिनेछन् ।
मुनाफा कमाउन सकिने पाँच क्षेत्र
तपाईले के काम गर्ने ? केमा लगानी गर्दा मुनाफा कमाउन सकिन्छ ? खासगरी तपाईले नेपालमा पाँचवटा क्षेत्रमा लगानी गर्नुभयो राम्रो मुनाफा कमाउन सकिन्छ ।नम्बर एक, पशुपालन ः नेपालमा बाषिर्क १५ वर्षको मासु आयात हुन्छ । तपाईले व्यवसायिक ढंगले बाख्रा तथा खसीपालन, बंगुर पालन वा कुखुरा पालन गर्नुभयो भने नेपालमा राम्रो सम्भावना छ । गाउँघरमा काम गर्ने जनशक्ति नहुँदा धेरै उर्बरभूमि बाँझो हुँदै गएको छ, त्यस्ता ठाउँमा बाख्रापालनको काम थाल्नुभयो भने कम पैसामा जग्गा पाउनुहुनेछ र नाफा कमाउने सम्भावना पनि उच्च हुनेछ ।
दोस्रो, नगदे बालीः अब परम्परागत ढंगले धान, मकै, कोदो वा फापर खेती गरेर नाफा कमाउन सकिन्न । तपाईहरुले विदेशमा पनि नगदेबालीको क्षेत्रमा काम गर्नुभएको होला वा देख्नुभएको होला । अब तपाईहरुले व्यवसायीक खेतीलाई प्राथमिकता दिनुपर्छ । जस्तो तरकारी, जडिबुटी, सुन्तला, चिया, केरा तथा कफीलगायतका नगदे बालीमा लगानी गर्नुभयो भने तपाईले नाफा कमाउने प्रसस्त सम्भावना रहन्छ । अहिले पनि बिदेशबाट फर्किने धेरैले पशुपालन र व्यवसायिक खेती गरिरहनुभएको छ ।
तेस्रो दूधजन्य उद्योगः नेपालमा अहिले पनि दूधको अभाव छ । उन्नत जातका गाई तथा भंैसी पालन गरेर दूध उत्पादन गर्ने आफैंले सहकारीमार्फत् त्यसलाई बजारमा पुर्याउने गर्न सकियो भने सबैभन्दा राम्रो मुनाफा कमाउन सकिन्छ ।
चौथो, मर्मतसम्भार तथा निर्माण क्षेत्रः जस्तो नेपालमा अहिले पनि मर्मतजन्य प्राविधिक जनशक्ति छिमेकी मुलुक भारतबाटै आइरहेको छ । पलम्बर, इलेक्टि्रसियन, कपाल काट्नेलगायतका साना भनिएका काममा तपाईले लगानी गर्नुभयो भने धेरै मुनाफा कमाउन सकिन्छ । किनकि तपाईलाई थाहा भइसक्यो कि संसारमा कुनै पनि काम सानो छैन । विदेशमा तिनै साना भनिएका काम गरेको वा अरुले गरेको देखेको हुनाले पनि तपाई नै यस्ता साना भनिएका काममा लगानी गरेर उच्च मुनाफा कमाउन सक्ने सम्भावित व्यक्ति हुनुहुन्छ ।
पाँचौ, पर्यटन क्षेत्रः पर्यटन भन्नासाथ ठूला ठूला होटल र रिसोर्ट सम्झनु पर्दैन । तपाईले दुई लाख कमाउनुभएको छ र बैंकबाट अर्को दुई लाख ऋण लिएर ट्रेकिङ रुटमा चिया पसल खोल्नुभयो भने पनि राम्रो मुनाफा कमाउन सकिन्छ । अहिले त होम स्टेको राम्रो बजार छ, अलिक धेरै पैसा छ भने साना लज तथा रेष्टुरेण्टहरु पनि खोल्न सक्नुहुन्छ । पर्यटन क्षेत्रमा अहिले साँच्चिकै राम्रो सम्भावना छ ।
जुनसुकै परियोजना सुरु गर्नुअघि मैले के गर्दै छु, त्यो ठाउँमा आफुले गर्न खोजेको काम सफल हुन्छ हुँदैन, उत्पादन भइसकेपछि बजारमा खपत हुनसक्छ वा सक्दैन र अन्तिममा त्यसबारे आफ्नो सीप छ कि छैन भन्ने कुरामा हेक्का राख्नुपर्छ ।
सानो हुँदैन काम
विदेशमा तपाईले सीप सिकेर फर्किनुभएको छ र नेपालमा पनि त्यही रोजगार पाउँछु कि भन्ने ठान्नुहुन्छ त्यो चाहिँ त्यति सुरक्षित देख्दिँन । नेपालमा उत्पादन क्षेत्र चौपट भइसकेको छ । पर्यटन र निर्माण क्षेत्रमा काम गरेकाहरुले नेपालमा पनि रोजगारी पाउने सम्भावना अलिअलि देखिन्छ । तर, बिदेशबाट फर्किनेले नेपालमा रोजगारीभन्दा पनि स्वउद्यमलाई प्राथमिकता दिनुपर्छ । आफैंले केही गर्नुपर्छ ।
नेपालीले बाहिर गएर काम के हो भन्ने सिक्छ । मैले पनि अमेरिकामा भुईं पुछ्ने काम गरेँ, त्यसपछि थाहा पाएँ मैले कामको सम्मान भनेको के हो ? कामको सम्मान गर्ने संस्कार हरेक विदेश गएको नेपालीले सिक्छ । त्यो नै नेपालको आर्थिक सम्वृद्धिका लागि सबैभन्दा ठूलो उपलब्धि हो । नेपालमा अझै पनि छि भन्ने शीर्षकमा धेरैथरि कामहरु छन् । त्यही काम विदेशमा गर्दा सानो नहुने, नेपालमा गर्दा किन सानो हुने ?
तपाईले विदेशमा जे सिक्नुहुन्छ, त्यो सँगसँगै बोकेर आउनुस्, प्लेन चढ्नुअघि एयरपोर्टमै नछाड्नुस् । यदि कामको सम्मानको संस्कार र सीपसहित तपाई नेपाल फर्किएर काम गर्नुहुन्न, तबसम्म तपाईको परिवार पनि खुसी हुन सक्दैन र समाजले पनि केही पाउन सक्दैन । चाहे रेमिट्यान्समा जतिसुकै वृद्धि होस् । नेपाल बन्ने ठूलो कुराले हैन, सानो कामले हो । नेपाली दाजुभाइहरुमाथि मेरो पूर्ण विश्वास छ । नेपाली अल्छि छैनन्, खाली अवसर नपाएको मात्र हो ।
कमाएर मात्रै हुँदैन, बचाउनु पर्छ
म एउटा महत्वपूर्ण कुरा सेयर गर्न चाहान्छु । तपाईले जबसम्म बचत गर्ने संस्कार बसाउनुहुन्न, आफंै र आफ्नो परिवारलाई आर्थिक अनुशासनमा राख्नुुहन्न, तबसम्म तपाईले जति पैसा कमाए पनि त्यसले सुख दिन सक्दैन । त्यसैले तपाई विदेश जाँदै हुनुहुन्छ वा अहिले विदेशमा हुनुहुन्छ भने नेपालका बैंकहरुमा बचत खाता खोल्नुहोस् । विदेशबाट पठाएको रकम त्यही बैंकमा जम्मा गर्नुहोस् र आफ्नो परिवारलाई चाहिने रकम अडकलेर मात्र दिनुहोस् । साथमा पैसा भयो भने तपाईको परिवारको पनि मन ठूलो हुन्छ, सापटी दिन थाल्छन्, विलासी वस्तुहरुको चाहना बढ्दै जान्छ, नेपाल फर्किदा तपाई आर्थिक हिसाबले उस्तै रहनुहुन्छ, जस्तो विदेश जानु पहिले हुनुहुन्थ्यो ।
कतिपय अवस्थामा आफ्नै श्रीमतीले पैसा दुरुपयोग गरेर अर्कैसँग भागेका समाचारहरु पनि मिडियामा आइरहेको देख्छु । बैंकमा खाता खोलेर पैसा राख्नुभयो भने सुरक्षित त हुन्छ नै, भोलि फर्केर आउँदा त्यही बैंकले तपाईलाई बिना झण्झट तपाईले सुरु गर्न लागेको परियोजनामा लगानी पनि गरिदिन्छ ।
हामीले थालेको प्रयास
हालै हामीले प्रवासी नेपाली संगठनसँग सहकार्य गरेका छौं । मुख्य कुरा हामीले तालिमकै लागि सहकार्य गरेका हौँ । मेगा माइक्रो र मेगा एसएमईले तपाईका लागि लगानी गरिदिन सक्छ, यदि तपाईसँग कुनै धितो छ भने धेरै ऋण पाउनुहुन्छ, हामी लिदैनौं भन्दैनौं । अलि कम ब्याज पर्छ होला । तर, धितो नभए पनि हामी ऋण दिदैनौं भन्दैनौं । उहाँहरुले जे गर्नुहुन्छ त्यही परियोजना धितो हुन्छ । काम उहाँहरुले गर्ने हो, हामीले लगानी गरिदिने हो । मेगाले अहिले त्यस्तो क्षेत्रमा झण्डै ४० करोड रुपैयाँ लगानी गरिसकेको छौं एक बर्षभित्र । ५ हजारभन्दा बढी ग्राहक वा प्रोजेक्टमा लगानी गरेका छौं ।
Butwalonline