भत्किएको काठमाडौं सप्रन्छ त ?

अब काठमाडौं फोहोर, दुर्गन्धित एवं जामयुक्त सहरका रूपमा चिनिनेछैन। कुरै पत्याउने हो भने काठमाडौं देशकै लागि गौरव बन्ने भएको छ।  फराकिला सडक, ओभरहेड ब्रिज एवं फुटपाथको उचित व्यवस्थाले काठमाडौं देशको राजधानी भनेर गर्व गर्न लायक बन्ने सुरमा देखिन्छ।  सहरमा राति झिलिमिली बत्ती बल्नेछ। प्रेमीहरूका लागि सहर नजिकै प्रेम पार्क बन्नेछ। सवारी साधनले मानिसको चाप थेग्न मेट्रो रेल हाजिर  हुनेछ। द्रुत गतिका मोनोरेल चल्नेछन्। रात विरात यात्राका लागि सवारी साधन हाजिर हुनेछन्। अस्पताल, कलेज एवं सिनेमाघरहरू काठमाडौं  नजिकैका पहाडका फेदीमा बन्नेछन्। बेस्सरी धूवाँ फाल्ने सवारी साधनलाई रिङ्रोडभित्र छिर्न दिइनेछैनन्। उपत्यकाका पुराना नेवार बस्तीमा  सवारी साधन लिएर जान पाइनेछैन। ती बस्तीहरूलाई पुरानै अवस्थामा सजाउन करिब एक अर्व रुपैयाँ खर्च गरिनेछ। सुन्दा कल्पना लाग्ने यो  अभियान वर्ष २०६९ देखि प्रारम्भ भैसकेको छ। अभियानको प्रथम चरणको काम प्रारम्भ भैइसकेको छ। पहिले नगर विकासले सुरु गरेको यो  कार्य काठमाडौं उपत्यका विकास प्राधिकरणमा पूर्वमेयर केशव स्थापित आएपछि द्रूत गतिमा अघि बढेको हो। यसले काठमाडौंभित्रका ४ सय  किलोमिटर सडकलाई झन्डै दोब्बर चौडा बनाउनेछ। 'योजनाअनुसार काम भयो भने अब काठमाडौं सहर आँखामा नबिझाउने बन्नेछ, यो  हाम्रो राजधानी हो भनेर गर्व गर्न सकिनेछ।' प्राधिकरण प्रमुख केश व स्थापित भन्छन्, 'बजेट, म्यानपावर एवं राजधानीवासीको सहयोग हेर्दा  यो लक्ष्य ५ वर्षभित्र पूरा हुने  देखिन्छ।' 


अघिल्लो वर्ष बाटो चौडा पार्ने कामबाट उक्त योजना प्रारम्भ भएको थियो। प्रधानमन्त्री, नगरविकास एवं ट्राफिक प्रहरीको सक्रियतामा सुरु  भएको यो अभियानले काठमाडौंका सबैजसो सडक चौडा पारिसकेको छ। राष्ट्रपति निवासबाट सुरु भएको सडक चौडा पार्ने अभियानअन्तर्गत  प्रधानमन्त्री निवास-चारखाल अड्डा, तीनकुने-बबरमहल हुँदै सबैजसा सडकमा डोजर चलिसकेको छ। यो अभियानअन्तर्गत महानगर क्षेत्रको  सबै मुख्य मार्ग फराकिला भैसकेका छन् भने साँगुरा सडकपेटी तथा अनधिकृत तवरमा बनाइएका घरटहरा र कुनाकाप्चाका संरचना भत्काउँदै नदीकिनारमा बसेका सुकुम्बासी बस्तीका छाप्रा-टहरा भत्काउनेसम्म पुगेको छ। अब फराकिलो भएका सडकमा पिच गर्ने, बिजुलीका पोल  एवं सडक फोहोर देखिने सबै वस्तु हटाइने योजना छ। 'हामी काठमाडौंभित्रका करिब ४ सय किलोमिटर सडक चौडा पार्दैछौं।' पूर्व  नगरविकास नियोजक भाइकाजी तिवारीले साप्ताहिकसँग भने, 'सडक व्यवस्थापनसँगै जनघनत्वअनुसार छहारीसहितका बस वे (बिसौनी), ट्याक्सी स्ट्यान्ड, ट्याक्सी तथा निजी गाडी पार्किङ क्षेत्र पनि निर्माण गर्ने लक्ष्य छ।' 

यसका लागि काठमाडौं महानगरपालिका र मुलुकका प्रतिष्ठित व्यवसायीबीच सहकार्य भएको छ। गएको चैतमा नेपाल चेम्बर्स एन्ड कमर्स  हलमा भएको एउटा भेलाले उकुस-मुकुस अवस्थामा रहेको काठमाडौंलाई नेपालकै गौरव बनाउने संयुक्त निर्णय भएको थियो। भेलामा भएको  सहमतिअनुसार काठमाडौं उपत्यकाभित्रको पार्किङ व्यवस्थापन, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, होर्डिङबोर्ड  व्यवस्थापनमा निजी क्षेत्रले अर्वौ लगानी गर्नेछ। 

'हामीलाई काम मात्र गर्न दिनुहोस्, सरकारले एक पैसा खर्च गर्नु पर्दैन भन्दै व्यवसायीहरु  आउनुभएको छ।' स्थापित भन्छन्, 'वल्र्ड बैंक, एसियाली विकास बैंकहरुको चासो त छँदैथियो, काठमाडौंबासीहरुले समेत काठमाडौं राम्रो  बनाउनु होस्, हामी जग्गा दिन्छौं भन्न थाल्नु भएको छ।'

फ्लाईओभर र आठ लेनको चक्रपथ 

सडक चौडा पारेर मात्र काठमाडौंमा हुने सडक जाम व्यवस्थित नहुने भएपछि चीनले काठमाडौंका मुख्य चौकमा फ्लाईओभर बनाइदिने  भएको छ। पहिलो चरणमा नारायणगोपाल चोक, चाबहिल र कलंकीमा फलाइओभर (आकाशे सडक) बनाउन चीन सरकारले अर्थमन्त्रालयलाई  खर्च उपलब्ध गराउने सहमति जनाएको हो। यही कार्यका लागि आएको सातसदस्यीय चिनियाँ प्रविधिक टोलीले वैशाखको पहिलो साता  अनुसन्धानको काम सकेको छ। उसले तयार गरेको प्रतिवेदनमा फ्लाइओभरको स्वरूप, लम्बाइ, चौडाइ र उचाइ, कति जग्गा आवश्यक हुन्छ,  कति लागत चाहिन्छ, कति लेनको बनाउने जस्ता पक्ष समेटेको छ। चीनले बनाइदिने ती फ्लाइओभरले मात्र समस्या समाधान नहुने देखेपछि  सरकार आफैंले थप नौ स्थानमा फ्लाइओभरको सम्भाव्यता अध्ययन गरी पाँँच स्थानमा फ्लाइओभर निर्माण गर्ने तयारी गरेको छ। सरकारले  बनाउने फ्लाइओभरचाहिँ बालाजु, गोंगबु, लैनचौर, केशरमहल, त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर आदि स्थानका छन्। नयाँ बानेश्वरमा  फ्लाईओभरका निम्ति काम थालिसकेको सडक विभागले जनाएको  छ। विभागले एक स्थानमा पैदलयात्रुले सडक पार गर्न र अर्को स्थानमा  सवारी नै ओहोरदोहोर गर्न मिल्ने मिल्ने हिसाबले दुईवटा सब वे (भूमिगत मार्ग) को तयारी पनि थालेको छ। 

कलंकीदेखि एयरपोर्टसम्म आउजाउ सहज तुल्याउने उद्देश्यले अघि बढाइएको तीनवटा फ्लाइओभरमध्ये एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म,  अर्को कालिमाटीमा र तेस्रो सहिदगेटदेखि त्रिपुरेश्वरको आँखा अस्पतालसम्म राखिनेछ। यसका निम्ति विभागले अध्ययन सुरु गरिसकेको छ।  विभागका अनुसार ती सबै फ्लाइओभरको काम अघि बढाउन 'स्माइल टेस्ट प्रालि' एवं 'अभियान कन्सल्टिङ कम्पनी' लाई जिम्मेवारी दिइएको  छ। माइतीघर-तीनकुने खण्डमा पर्ने फ्लाइओभरको डिजाइन तयार भैसकेको छ। 'नयाँ बानेश्वर चोकैमा ४० मिटरको पुलसहित दुवैतर्फ १  सय ७० मिटर भिरालो संरचनाको नमुना डिजाइन तयार पारिसकेका छौं,' विभागका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले  साप्ताहिकसँग भने, 'माटो परीक्षणको काम पनि सम्पन्न भैसकेको छ।' शाक्यका अनुसार ती फ्लाइओभर दुई टुक्रामा विभाजित गरेर एउटा  थापाथलीदेखि त्रिपुरेश्वरसम्म र अर्को कालिमाटी चोकमा निर्माण गरिनेछ। अब त्रिपुरेश्वरबाटै थापाथली पुग्ने फलाइओभर दुई लेन चौडा  बन्नेछ। माइतीघरतर्फ जानेले फ्लाइओभर प्रयोग गर्नुपर्नेछ भने कुपन्डोलतर्फ जानेले हालकै तलको बाटो प्रयोग गर्ने हिसाबले यसको डिजाइन  गरिएको छ। त्यसैगरी मैतीदेवीदेखि पुरानो बानेश्वर हुँदै सिनामंगलसम्म निस्कने अर्को भूमिगत मार्ग बनाइनेछ। योजनाअनुसार नयाँ बानेश्वरमा सडकको तल्लो भागमा प्यासेज बनाएर सडकको चारै कुनामा एक्जिट प्वाइन्ट राखिनेछ। त्यसबाहेक सडक विभागले मैतीदेवीदेखि  पुरानो बानेश्वरमा हाल भएको सडक मुन्तिर सुरुङ मार्गनिर्माण गर्ने तयारी पनि गरेको  छ। 

काठमाडौंलाई अझ सुविधा सम्पन्न बनाउन उपत्यकाभित्र आठ लेनको चक्रपथ बनाउने तयारी पनि सरकारको छ। हालको दुई लेनको  चक्रपथको क्षमता विस्तारका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रक्रिया अघि बढाएको हो। सवारी चापको अनुपातमा सडकको  चौडाइ सानो भएपछि डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव पठाएको थियो। उक्त  प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेको हो। २७ दशमलव ८ किलोमिटर लामो चक्रपथमा लेन थप गर्न साढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

सडक विभागका नाममा रहेको खाली जग्गाको अधिकतम उपयोग गर्न र राजधानीवासीलाई सवारी जामबाट मुक्त गराउन चक्रपथमा नयाँ  संरचना थप गर्नुपरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णबहादुर कडरियाले जानकारी दिए। विस्तारित चक्रपथ दुई चरणमा  निर्माण गर्ने योजना डिभिजन सडक कार्यालय काठमाडौंले बनाएको छ। पहिलो चरणमा ललितपुर र काठमाडौं छुट्याउने मनहरा नदीमा निमिर् त बालकुमारी पुलदेखि पशुपति नजिकको तिलगंगापुलसम्मको ४ दशमलव ३ किलोमिटर सडकका लागि ५१ करोड रुपैयाँ अनुमान गरिएको  छ। दोस्रो चरणको बाँकी ठाउँ २३ दशमलव ५ किलोमिटरका लागि ४ अर्व रुपैयाँ लाग्ने अनुमान छ। आठ लेन सडकमा चार लेन तीव्र गतिमा  गाडी गुड्ने सडक बन्नेछ। अन्यमा तीन मिटरको फुटपाथ, तीन मिटरको साइकल लेन, ६ मिटरको सर्भिस ट्रयाक, दुई मिटरको सडकको  पानी बग्ने नाली, सात मिटरको बगैंचा, एक मिटरको साइड नाली र सात मिटरको दुई-दुई लेनको स्पिड हाइवे बनाउने योजना छ। हाई  स्पिड एक लेनको चौडाइ ३ दशमलव ५ मिटर हुनेछ। चार लेनको बीचमा दुई-दुई मिटर फराकिलो फूलबारी बनाउने योजना छ। सडकको  पूरा चौडाइ ६२ मिटर हुने प्रस्तावमा उल्लेख छ।' सडकको दायाँबायाँको २५/२५ मिटर खाली छ,' कडरियाले साप्ताहिकसँग भने,' उक्त खाली  स्थान सदुपयोग गरेर काठमाडौंलाई साँच्चैको सुन्दर नगर बनाउने योजना मन्त्रालयको छ।'

काठमाडौं महानगरपालिकासँग जोडिएका ललितपुर र भक्तपुर पनि सुन्दर बन्नेछन्। भक्तपुर जोड्ने तीनकुने-सूर्यविनायक ६ लेन सडकमा १५  वटा आकाशेपुल बन्ने भएका छन्। नमुनाका लागि गठ्ठाघर चोक, जडिबुटी, लोकन्थली, कौशलटार र गठ्ठाघरमा पुल बनिसकेको छ।  अहिलेसम्मको नमुना सडकका रूपमा चिनिएको उक्त सडकका कारण त्यसै पनि काठमाडौंको शोभा बढिरहेको छ। 'पूरै सडक संरचना तयार  भएपछि उपत्यका नै सुन्दर देखिनेछ।' काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका इन्जिनियर कृष्णबहादुर थापा भन्छन्, 'यही सुन्दर यो जनामा दुर्घटना कम गर्न भक्तपुर खण्डमा ११ वटा ओभरहेड ब्रिज बनाइन लागेको हो।' चारवटा पुल बनाउने ठे्कका गोल्डेन गुड शेर्पा  कन्स्ट्रक्सनले पाएको छ। आयोजनाका अनुसार कोटेश्वर, गठ्ठाघर, टिबी अस्पताल, ठिमी, एसएस कलेज, राधेराधे, सिर्जनानगर, सल्लाघारी,  सुवर्णचोक, चुनदेवी र सूर्यविनायकमा पुल बन्न लागेका छन्। नयाँ बन्ने १५ वटा पुलमा व्यापारिक सटर बन्नेछैनन्। ट्राफिक र सडक कायार् लयको आवश्यक सामान राख्न दुईवटा साना कोठा बन्नेछन्। नयाँ बन्ने सबै पुलमा सिसिटिभी जडान गर्न योजना रहेको उनले बताए।  'सडकको गतिविधि अवलोकन गर्न क्यामेरा जडानका लागि जाइकासँग कुरा भैरहेको छ,' थापाले भने, 'जाइकाले हाम्रो योजनालाई सकारात्मक  लिएको छ। सूर्यविनायक र कोटेश्वरमा कन्ट्रोल रुम राखेर सडकको गतिविधि नियाल्ने योजना छ।'

त्यसपछि मेट्रो 

काठमाडौंका योजनाकारहरू यत्तिमा पनि चित्त बुझाइरहेका छैनन्। काठमाडौंलाई दीर्घकालीन रूपमा आकर्षक सहर बनाउन काठमाडौं मेट्रोको  योजना अघि ल्याइएको छ। सरकारले त्यसको प्रारम्भिक खाका तयार पारिसकेको छ। योजनाअनुसार रिङ रोडभित्र चार र रिङरोडको चक्कर  लगाउने एक गरी पाँचवटा लाइन प्रस्ताव गरिएको छ। रेल्वे सञ्जालले काठमाडौंका सबै मुख्य स्थानलाई जोड्ने छ। 

६६ दशमलव १ किलोमिटर लामो रेलसंञ्जालको मुख्य टर्मिनल रत्नपार्कलाई बनाउने प्रस्ताव गरिएको छ। कुल ३१ स्टेसन रहने काठमाडौं मेट्रो  रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र सहिदगेट, जमल र नारायणहिटी गरी कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्तन गर्न ट्रान्सफर स्टेसन  बनाउन प्रस्ताव गरिएको छ। अन्य २१ ठाउँमा यात्रु चढ्ने र ओर्लने स्टेसन बनाउने प्रस्ताव गरिएको छ। काठमाडौं मेट्रो बनाउन सम्भाव्यता  अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट रेल विभागलाई पेस गरेको हो। कोरियाको चुङसुङ इन्जिनियरिङ, कोरिया रेल्वे नेटवर्क अथोरिटी तथा नेपालका तर्फबाट इएमआइसी तथा बिडिए नेपालले मेट्रो रेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेका हुन् । 

सुन्दा कल्पनाजस्ता लाग्ने यी कार्य धमाधम सुरु भएको देख्दा भन्न करै लाग्छ, काठमाडौं सहर हेर्दा लाग्छ रहर...।



काठमाडौंमा पूरा हुन लागेका सपना

मेलाम्ची खानेपानी योजना (२०७२ सालसम्म) 

ओभरहेड ब्रिजहरू (२०७४ सालसम्म) 

भूमिगत बिजुली र टेलिफोन तार (२०७५ सालसम्म) 

आठ लेनको चक्रपथ (२०७६ सालसम्म) 

मेट्रो रेल (२०७८ सालसम्म)