पहिलोः आत्म निर्भर हुने आम्दानीको स्रोत छैन भने सक्रिय राजनीति नगरौँ। कुनै दलप्रति सद्भाव राख्नु या समर्थन गर्नु बेग्लै हो तर सक्रिय राजनीति गर्नुको अर्थ सम्पूर्ण समय राजनीतिमा लगाउनु हो। त्यस्ता व्यक्तिसँग जीवन धान्न आवश्यक बचत या नियमित आम्दानीको स्रोत नभए तिनीहरू आर्थिक र नैतिकरूपमा भ्रष्ट हुनुको विकल्प हुनसक्तैन। आफ्नो र परिवारको पेट भोको राखेर कसैले पनि राजनीति गर्नसक्दैन। आम्दानीको वैकल्पिक स्रोत नभई पूर्णकालीन राजनीति गर्नेहरू चाहेर पनि इमानदार रहन सत्तै्कनन्। पद पाउने आशामा ती कुनै न कुनै नेताका दास हुन्छन्, चाकडीबाज हुन्छन् र व्यापारी या अन्य पेसाका कतिपय व्यक्तिको स्वार्थका वाहक हुन्छन्। काठमाडौंमा डेराको भाडा तिर्न, आफैँलाई खान, दिनभर राजनीतिक गतिविधिमा दौडन र अझ पत्नी र बालबच्चा भए तिनलाई खुवाउन तथाा पढाउन पैसा नहुँदा उत्पन्न हुने डरबाट ती सधैं ग्रस्त हुन्छन्। त्यसैले, तिनले मौका पाउनेबित्तिकै अलि डर भए सानो, डर नभए ठूलै प्रकृतिको भ्रष्टाचार गर्छन्। भनिन्छ, पीडा र लज्जाले मान्छेलाई एक पटकमात्र दुख्छ। व्यक्तिले एकपल्ट त्यसलाई पचाएपछि बारम्बार दोहोर्याउन हिचकिचाउँदैन।
अरूको त कुरै छोडिदिउँ्क, आदर्शको सबभन्दा ठूला ठेकेदार बनेका कतिपय माओवादी नेता भ्रष्ट हुन थालेका चर्चा हुन थालेका छन्। नहुन् पनि कसरी? राजनीतिको थलो काठमाडौं भइसक्यो। जिल्लामा भएको अलिकति सम्पत्तिले छेउटुप्पो लाग्दैन। पार्टीले दिएको खाएर कति बाँच्ने? भोलि पार्टीसँग विमति भयो, पार्टी छोड्नु पर्यो वा पार्टीले हेलाँ गर्यो भने कसरी बाँच्ने, परिवार कसरी पाल्ने? अन्य पार्टीमा कार्यकर्ता पाल्नैपर्ने स्थिति नभए पनि अधिकांश राजनीतिक कार्यकर्ताको आर्थिक पृष्टभूमि राम्रो छैन।
कतिपय युवा भेलामा यस्तो धारणा व्यक्त गर्दा 'के गरिबले राजनीति नै नगर्ने त?' भनेर कतिपय युवले प्रश्न उठाएका छन्। त्यसको स्पष्ट उत्तर हो — 'गरिबले सबभन्दा पहिले सकिन्छ भने पढ्ने। त्यसले आत्मनिर्भरताको आधार तयार पार्दछ। पढ्नसकिने अवस्था छैन भने पनि पहिले आत्मनिर्भरताको न्यूनतम बाटो पहिल्याउने।' पढ्न पनि नसक्ने, आत्म निर्भरताको बाटो पनि खोज्न नसक्नेले राजनीति नगर्नु नै बेस। 'लोकतन्त्र स्थापना गर्ने, त्यसको जर्गेना गर्ने, लोकतन्त्रका लागि ज्यान दिने, सामन्तवादलाई परास्त गर्ने, सर्वाहाराको शासन स्थापना गर्ने' जस्ता नेताले फलाकेका नारा बोकेर पढाइ बिगार्ने र जीविकोपार्जनमा ध्यान नदिने युवा भविष्यमा बेकम्मा हुन्छन्। तातो रगत छँदा त उनीहरूलाई आन्दोलन गरेर के के न उपलब्धि हासिल गर्र्यौं जस्तो लाग्ला तर बिस्तारै उमेर ढल्किँदै गएपछि विवाह गर्ने र परिवार पाल्ने बाध्यताले पेल्न थाल्छ। त्यतिबेला, विद्यार्थी छँदा सडकमा बालेको टायरले आफैँलाई पोल्न थाल्छ। यस स्तम्भकारले राजनीतिको नसा लागेर आफ्नै राजनीतिक आस्था स्थापित भएमात्र देश बन्छ भन्ने भ्रम बोकेर राम्ररी पढ्न पनि नसकेका, आजीविकाको कुनै बाटो समाउन नसकेका र छोराछोरी विरामी हुँदा साथीसँग सहयोग माग्दै हिँड्न बाध्य भएका धेरै युवा भेटेको छ। देश त्यस्ता युवाको राजनीतिले बन्दैन। आत्मनिर्भर हुनसक्नेले मात्र देश बनाउनसक्छ। युवाले राजनीतिमा होमिनुअगाडि यस्तो विषयलाई सोच्नैपर्ने हुन्छ, नत्र तिनबाट देशले थप राजनीतिक भ्रष्टताबाहेक केही पनि पाउनेछैन।
आत्मनिर्भरतासँग प्रत्यक्षरूपमा गाँसिएको र कुनै पनि युवाले उपेक्षा गर्नैनसक्ने अर्को पक्ष हो – शिक्षा। पैसा नहुनेले जस्तै राम्रो शिक्षा नहुनेले पनि सक्रिय राजनीति नगर्नु नै बेस। हामीकहाँ राम्रो शिक्षा पाएका युवा राजनीतिमा बिरलै गएका छन्। ती राजनीतिका कुरा गर्छन्, राजनीतिका बारे मैलेजस्तै टिप्पणी गर्छन्, विदेशमा राम्रो जागिर पाए त्यतै हराउँछन्, नभए पनि नेपालमैं अन्य आकर्षक ठानिएका पेसामैं भविष्यका सपना बुन्छन्। राम्रो शिक्षा पाएकाको त्यस प्रवृत्तिले सक्रिय राजनीतिमा कम पढेका या बल्लबल्ल बीएसम्म पास गरेकाको बाहुल्य छ। अथवा एमए नै पास गरेका रहेछन् भने पनि तिनको दक्षताको दायरा कति साँगुरो हुनेगरेको छ भने तिनले नेपाली शैलीको राजनीतिबाहेक अरू केही गर्नै जानेका हुँदैनन्। कम पढेकाले पनि स्वाध्ययनबाट आफ्नो क्षमता अभिवृद्धि गर्दैनन्। अलि सभ्य राजनीतिक संस्कार भएका देशमा क्षमतावान व्यक्ति राजनीतिमा लागेपछि तिनले एउटा विन्दुमा आफ्नो उपादेयता समाप्त भएको अनुभव गर्छन्। अनि ती पढाउने, लेखपढ वा अन्य सामाजिक गतिविधिमा सक्रिय हुन्छन् वा ठूला कम्पनीको नेतृत्व सम्हाल्छन् या सुखी र सन्तुष्ट जीवन बिताउने अन्य उपाय अवलम्बन गर्छन्। हामीकहाँ अधिकांशको हकमा त्यस्तो स्थिति छैन। उदाहरणका लागि माधवकुमार नेपाल प्रधानमन्त्रीबाट हटेको भोलिपल्टैदेखि दलभित्रको खुट्टा तानातानको राजनीतिमा सक्रिय भइसके। अरूले पनि त्यसै गरेका थिए। अरू केही गर्न जानेकै छैन। कहीँ अतिथिका रूपमा प्रवचन दिन जान अध्ययन र चिन्तनको दायरा फराकिलो छैन। केही गहकिलो लेख्ने क्षमता छैन। कुनै ठूलो कम्पनीको नेतृत्वमा या परामर्शदाताका रूपमा काम गर्ने दक्षता पनि छैन। राजनीतिमा पर्याप्त इमानदारी पनि छैन। हुँदो हो त तिनले राजनीतिबाट अवकाश लिएर अरूलाई ठाउँ खालि गरिदिने थिए। त्यसो गर्न उनीहरू गर्न चाहँदैनन्। किनभने त्यसो गर्दा सांसद हुने, मन्त्री हुने, पैसा कमाउने, सान देखाउने, संचार माध्यममा व्याप्त हुने संभावना हुँदैन।
त्यसैले, राजनीतिमा युवाको बढ्दो प्रवेशलाई सकारात्मकरूपमा लिए पनि तिनले आफ्नो आर्थिक र शैक्षिक आधार बनाउन ध्यान नदिने हो भने राजनीतिमा देशले केही पनि अपेक्षा गर्न नसक्ने अदक्ष र भ्रष्ट राजनीतिकर्मीको जमात जन्मिन्छ। यसो भनेर गरिब र अशिक्षीतको अवमूल्यन गर्न खोजेको होइन तर देशको मायाँ छ भने उनीहरूले आआफ्नो पृष्ठभूमिअनुरूप समाजको सेवा गर्ने अन्य विकल्प रोज्नु राम्रो।
अहिले माओवादी, कांग्रेस र एमालेभित्र नेतृत्व तहमा पुगेका भनिएका युवामा कति जना आर्थिकरूपमा आत्मनिर्भर छन्? कति जनाको समयैमा राजनीतिबाट अवकाश लिएर अन्य क्षेत्रमा काम गर्नसक्ने शैक्षिक पृष्ठभूमि होला? ती दुवै पक्षमा उनीहरू चुकेका छन् भने निश्चित छ तिनले सास रहुन्जेल राजनीति गर्नेछन्। पदका लागि मरिहत्ते गर्नेछन्। बाँच्न र परिवार पाल्न भ्रष्टाचार गर्नेछन् र राजनीतिक संस्कारलाई कहिले सुध्रन दिनेछैनन्। अहिले हामीले युवा भनेर जतिसुकै हाइहाइ गरे पनि केही समयपछि ती बूढा हुनेछन् र समयसँगै राजनीतिबाहिर आफ्नो भविष्य र अस्तित्व देख्नै छाड्नेछन्।
यसको अर्थ पैसा र राम्रो शिक्षा भएपछि राजनीति गरे सबै ठीक हुन्छ भन्ने चाहिँ होइन। हाम्रो राजनीतिमा पैसा भएका र राम्रो पढेलेखेका पनि महाभ्रष्ट नदेखिएका होइनन्। तर तिनलाई रोक्न र सक्षम युवालाई राजनीतिमा प्रवेश गर्न प्रोत्साहित गर्न खोज्ने हो भने त्यसका आधारभूत तत्वका बारे चर्चा गर्नैपर्ने हुन्छ। देश बनाउने ऊर्जाले जति नै जलिरहेको भएपनि युवाले पहिलेब राम्ररी पढ्न र आजीविकाको जोहो गर्न प्राथमिकता दिनुपर्छ। त्यसो नगर्दै देश बनाउने नाममा दलका पछाडि दौडिने हो भने देश बनाउने त कुरै छोडिदिउँ तिनले आफू र आफ्नो परिवारको हित पनि गर्नसक्ने छैनन्। र उमेर ढल्किँदै जाँदा ती परिवार, राजनीति र देशका लागि भारमात्र हुनेछन्।