वैज्ञानिकको सर्वमान्य परिभाषा छैन। नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन छ। तर विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (साइन्टिस्ट) भन्ने गरिन्छ। उदाहरणका लागि हिजोआज नेपालमा लाली गुँरासलगायत कतिपय वनस्पतिको फूल फुल्ने मौसममा परिवर्तन आएको विज्ञहरू बताउँछन्। यसो हुनुको कारण मौसम परिवर्तन भएको विश्वास गरिन्छ। तर यसको ठोस प्रमाण भने छैन। कुनै वनस्पतिको फूल फुल्ने मौसममा देखिएको परिवर्तन सामान्य व्यक्तिले पनि पत्ता लगाउनसक्छ। त्यसैले त्यस प्रकारको अवलोकन गर्दैमा सही अर्थमा कोही वैज्ञानिक बन्दैन। अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ। तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनिहाल्दैनन्। वैज्ञानिक बन्न निरन्तर अध्ययन–अनुसन्धान गर्नुपर्छ।
माथि उल्लेख गरिएका अन्तर्राष्ट्रिय परिभाषाअनुसार पनि नेपालमा उल्लेखनीय संख्यामा वैज्ञानिक छन्। यसको प्रमाण देशमा सम्पन्न हुने गरेका विभिन्न विज्ञान सम्मेलनमा ठूलो संख्यामा प्रस्तुत गरिने शोधपत्र हुन्। यस्ता शोधपत्र वैज्ञानिक अनुसन्धानका नतिजा हुन्। प्रत्येक राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत गरिने शोधपत्रको संख्या अघिल्लो सम्मेलनमा प्रस्तुत गरिएका शोधपत्रको संख्याभन्दा बढ्दो छ। यसले देशमा वैज्ञानिक संख्या बढ्दै गएको संकेत गर्दछ। तथापि, नेपालको कुुल वैज्ञानिक जनशक्तिको अनुपातमा अनुसन्धानमा संलग्न वैज्ञानिकको संख्या न्यून छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले सन् २००६मा गरेको एक सर्वेक्षणअनुसार विज्ञान तथा प्रविधि विषयमा विश्वविद्यालय तहको शिक्षाप्राप्त नेपालीको संख्या २८ हजार एक सय ३४ थियो। सन् २००८ सम्ममा यो संख्या अझ बढिसकेकेा हुुनुपर्छ। तर, सन् २००८ मा नास्टले आयोजना गरेको राष्ट्रिय विज्ञान सम्मेलनमा प्रस्तुत गरिएका शोधपत्रको संख्या छ सय ५० मात्र थियो। नेपालमा अनुसन्धानमा संलग्न वैज्ञानिकको वास्तविक संख्या कति छ यकिनका साथ भन्न सकिन्न। आजसम्म यसको सर्वेक्षण भएको छैन। युनेस्कोले नियमित प्रकाशित गर्ने गरेको विश्व विज्ञान प्रतिवेदनअनुसार विज्ञान प्रविधिसम्बन्धी विभिन्न सूचकको भरपर्दो तथ्याङ्क नभएका राष्ट्रमध्ये नेपाल पनि पर्छ।
नेपालका पहिलो वैज्ञानिक को हुन्? धेरै नेपाली जनताले गेहेन्द्रशमशेर राणा हुन् भन्ने ठानेका छन्। सामान्य ज्ञानका कतिपय पुस्तकमा पनि त्यही लेखिएको पाइन्छ। आफ्नो समयमा राणाले विभिन्न प्रकारका स्वदेशी पेस्तोल, बन्दुक एवं तोप बनाएका थिए। ती हतियार प्रदर्शनका लागि राष्ट्रिय संग्रहालयमा राखिएका छन् र आज पनि देख्न पाइन्छ। तर वास्तवमा केही घरेलु पेस्तोल र तोपजस्ता हतियार निर्माण गरेकै आधारमा कसैलाई …वैज्ञानिक' भन्न मिल्दैन। आज पनि गाउँघरमा घरेलु पेस्तोल र बन्दुक निर्माण गर्ने व्यक्ति धेरै छन् तर उनीहरू वैज्ञानिक होइनन्। गेहेन्द्रशमशेर निश्चय पनि एक कुशल प्राविधिक थिए। वैज्ञानिकले विज्ञानका नयाँ सिद्धान्त प्रतिपादन गर्छ, नयाँ तथ्यको खोज गर्छ त्यसैले ऊ मौलिक हुन्छ। प्राविधिज्ञले त्यस सिद्धान्त वा तथ्यका आधारमा प्रविधिको विकास गर्छ र नयाँ वस्तुको निर्माण गर्छ। तसर्थ वैज्ञानिक र प्राविधिकमा फरक हुन्छ। गेहेन्द्रशमशेरले पेस्तोल वा तोप सञ्चालन हुने वैज्ञानिक सिद्धान्त पत्ता लगाएका होइनन्। यसैगरी विश्वमा पेस्तोल वा तोप बनाउने पहिलो व्यक्ति पनि उनी होइनन्। अन्य देशमा आविष्कार भइसकेका वा विकसित प्रविधिलाई नेपाल अनुकूल बनाएर उनले पेस्तोल, तोप र अरू हतियार निर्माण गरेका मात्र हुन्। यो कुनै मौलिक खोज वा आविष्कार थिएन। यो पाङ्ग्राको आविष्कार एकजनाले गरिसकेपछि अरूहरूले फेरि केही फरक आकारको पाङ्ग्रा बनाएजस्तै मात्र हो। तसर्थ गेहेन्द्रशमशेरलाई नेपालको पहिलो वैज्ञानिक भन्न सकिन्न।
त्यसो भए नेपालको पहिलो वैज्ञानिक को हो त? औपचारिक रूपमा मौलिक वैज्ञानिक अनुसन्धानमा संलग्न हुने पहिलो पुस्ताका नेपाली हुन्- डा. परासरनारायण सुवाल, डा. बलराम जोशी, डा. ध्रुवमानसिंह अमात्य, डा. शंकरप्रसाद प्रधान र डा. दिव्यदेव भट्ट। पहिलोपल्ट विज्ञान विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने यी नेपालीहरू नै अन्तर्राष्ट्रिय परिभाषाअनुसार सही अर्थमा नेपालका प्रथम वैज्ञानिक हुन्।
नेपाली वैज्ञानिकले समाजको विकासमा कुनै उल्लेखनीय योगदान पुर्याउन सकेका छैनन् भन्ने जनगुनासो कहिलेकाहिँ सुनिन्छ। वास्तवमा हाम्रो समाजले नेपाली वैज्ञानिकले देश विकासमा पुर्याउँदै आएका योगदानलाई आत्मसात गर्न सकेको छैन। नेपाली वैज्ञानिकले कस्तो प्रतिकूल अवस्थामा काम गर्दै आएका छन्, त्यसबारे जनसाधारण र बुद्धिजीवी अनभिज्ञ छन्। नेपालमा विज्ञान र प्रविधि क्षेत्र आजसम्म राज्यको प्राथमिकता सूचीमा पर्न सकेको छैन। नेपाल अनुसन्धान र विकास कार्यमा विश्वकै सबैभन्दा थोरै लगानी गर्ने देशमध्ये गनिन्छ। देशकै सबैभन्दा ठूलो विश्वविद्यालय र अनुसन्धानको थलो मानिने त्रिभुवन विश्वविद्यालयलगायत अन्य अनुसन्धान केन्द्रमा अनुसन्धानकै लागि भने नगन्य रकममात्र उपलब्ध हुन्छ। यस्तो प्रतिकूल अवस्थामा प्रतिभासम्पन्न भएपनि नेपाली वैज्ञानिकले ठूल्ठूला खोज र आविष्कार गर्न सम्भव छैन। आजको युगको वैज्ञानिक अनुसन्धान निकै खर्चिलो हुन्छ। त्यसैले अनुसन्धानमा राज्यले उचित लगानी नगरेसम्म नेपालका वैज्ञानिकले नेपालमै बसेर समाजमा केही गरेर देखाउन त्यति सजिलो छैन। तथापि पछिल्लो समयमा नेपाली वैज्ञानिकले स्वास्थ्य, कृषि, सूचना प्रविधि, जैविक प्रविधि, औषधि विज्ञान, वैकल्पिक ऊर्जा, जैविक विविधता संरक्षणआदि क्षेत्रमा पुर्याएका योगदान उल्लेखनीय छन्।
नेपाली समाजले साहित्यकार, कलाकार वा अन्य सार्वजनिक पेसाका व्यक्तिलाई जति चिन्छ, त्यति वैज्ञानिकलाई चिन्दैन। समाजको कुनै पनि वर्गलाई देशका केही प्रतिष्ठित वैज्ञानिकको नाम सोध्दा उनीहरू भन्न सत्तैन्कन्। नेपाली समाजमा वैज्ञानिकहरू अदृश्य हुनुका विभिन्न कारण छन्। एकातिर नेपाली सञ्चार माध्यमले नै वैज्ञानिकको अनुसन्धानबारे रुचि लिएर खोजी गर्दैन भने अर्कोतिर वैज्ञानिकहरूले पनि आफ्नो कार्यबारे सर्वसाधारणलाई सुसूचित गर्न आवश्यक ठान्दैनन्। अनि वैज्ञानिक संस्थाले पनि आफ्नो संस्थाभित्र सञ्चालन भइरहेका अनुसन्धान र आफ्ना वैज्ञानिकले हासिल गरेका महत्वपूर्ण उपलब्धिबारे सञ्चार माध्यममार्फत् सार्वजनिक गर्ने परिपाटी बसाल्न सकेका छैनन्। नेपाली सन्दर्भमा दुवैले विज्ञानका क्षेत्रमा देश र विदेशमा भइरहेका विकासबारे समाजलाई जानकारी दिनुपर्ने जिम्मेवारी बोध गरेको पाइँदैन। अन्य मुलुकमा विगतका वैज्ञानिकहरू आफ्ना अनुसन्धानका नतिजा सर्वप्रथम प्राज्ञिक जर्नलमा प्रकाशित गर्ने गर्थे। हिजोआज आम मानिससँग सरोकार राख्ने प्रकारका वैज्ञानिक अनुसन्धानका नतिजा प्राज्ञिक जर्नलमा प्रकाशित हुनुअघि सञ्चार माध्यमबाट सर्वसाधारणलाई जानकारी दिने प्रचलन बढेको छ। यस प्रवृत्तिलाई नेपाली वैज्ञानिक र सञ्चार माध्यम दुवैले आत्मसात गर्न सकेको देखिँदैन। यी कारणलगायत वैज्ञानिक र सर्वसाधारणबीच सत्संगको अभाव भएकाले पनि नेपाली समाज र सञ्चार माध्यम मा विज्ञान र वैज्ञानिकका प्रशस्त चर्चा भएको पाइँदैन।
समाजमा चेतना फैलाउनेदेखि कसैलाई समाजमा चिनाउनेसम्ममा सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ। तर नेपाली सञ्चार माध्यमले वैज्ञानिकलाई कति कम महत्व दिँदो रहेछ भन्ने अनुभव मैले केही वर्षअघि गरेको थिएँ। नेपालका अति वरिष्ठ एवं सम्मानित वैज्ञानिक तथा नास्टका पूर्व उपकुलपति प्रा. डा. ध्रुवमानसिंह अमात्य र कास्कीका लोककवि अलि मियाँको केही वर्षअघि एक दुई दिनको अन्तरमा देहावसान भएको थियो। अलि मियाँको उल्लेखनीय योगदानबारे निकै दिनसम्म देशका विभिन्न पत्रपत्रिकामा व्यापक चर्चा भइरह्यो, तर बाइस वर्षकै उमेरमा बेलायतबाट विद्यावारिधि गरी मौलिक तथ्यको खोज गरेर नेपाल फर्केका ध्रुवमानसिंहको जीवनी र योगदानबारे कतै कुनै चर्चा भएन र सञ्चार जगतले उनीबारे सोधखोज गर्न चासो पनि देखाएन। ध्रुवमानसिंहबारे लेखिएका लेख काठमाडौंबाट प्रकाशित हुने नाम चलेका दैनिक पत्रिकाले प्रकाशित गर्नसमेत अस्वीकार गरे। समाजमा विद्यमान अज्ञानका कारण दशकौँदेखि गहन अनुसन्धानमार्फत मौलिक ज्ञानको सिर्जनामा संलग्न ध्रुवमानसिंहजस्ता वरिष्ठ वैज्ञानिकभन्दा वर्षौंवर्ष अघि विदेशी वैज्ञानिकले आविष्कार गरिसकेका पेस्तोल, कार र हेलिकप्टरजस्ता सर सामानका परिवर्तित प्रतिलिपि निर्माण गर्ने नेपालका प्राविधिकलाई आज बढी नेपाली जनताले 'वैज्ञानिक'का रूपमा चिन्छन्।
नेपाली सञ्चार माध्यमले देशका वैज्ञानिक संस्थामा भइरहेका महत्वपूर्ण वैज्ञानिक खोज र अनुसन्धानबारे सर्वसाधारणलाई सुसूचित गर्न चासो देखाएका छैनन्। देशका नाम चलेका र सर्वाधिक विक्री हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिकाले समेत विज्ञान बुझेका र गम्भीर संवादाताको आवश्यकता आजसम्म महसुस गरेका छैनन्। विदेशका स्तरीय पत्रपत्रिकाले यस्तो व्यवस्था गरेका हुन्छन्। नेपालका वैज्ञानिकलाई समाजमा चिनाउन र तिनका उपलब्धिबारे सर्वसाधारणलाई सुसूचित गर्न वैज्ञानिक, वैज्ञानिक संस्था तथा सञ्चारगृहबीच निकट सहकार्यको आवश्यकता छ। यस कार्यमा राष्ट्रिय वैज्ञानिक निकाय र सञ्चार माध्यमसँग सम्बन्धित संस्थाले समन्वयकारी भूमिका खेल्न सक्छन्।
दयानन्द बज्राचार्य
नागरिक न्यूज़