‘एनिमेसन’ भन्ने शब्द आजकाल अलि धेरै नै प्रचलनमा आउन थालेको छ । कुनै पनि
वस्तु तथा घटना जसलाई अन्य कुनै पनि तरिका वा नाटकीय रूपान्तरअनुसार
चलदृश्यमा प्रस्तुत गर्न सकिँदैन त्यस्तो अवस्थामा नयाँ प्रविधिको तरिका अर्थात् ‘एनिमेसन’ को प्रयोग आजकाल गर्ने गरिएको पाइन्छ । एनिमेसन भनेको निर्जीव वस्तुलाई चाल अर्थात् गति प्रदान गर्ने नयाँ प्रयोग हो ।
कुनै पनि ‘भर्चुअल’, अवास्तविक वा निर्जीव काल्पनिक दुई वा त्योभन्दा धेरै आयामका वस्तुहरूको तीव्र रूपमा प्रदर्शन गरी एक प्रकारको भ्रमपूर्ण गति पैदा गर्नु भनेको ‘एनिमेसन’ हो । सूचनाको प्रचार–प्रसार गर्न, उत्पादनको बजारीकरण गर्न, बहुआयामिक चित्रमार्फत विभिन्न विषयमा जानकारी प्रदान गर्न, शैक्षिक औजार र अन्य विभिन्न प्रयोजनमा ‘एनिमेसन’ को प्रयोग गरिने भए पनि चलचित्र र टेलिभिजन जस्ता आमसञ्चारको माध्यममा प्रयोग गर्नका लागि यो ‘एनिमेसन’ विधि ज्यादा प्रयोग र प्रभावकारी हुने गरेको छ । यो विधिले अन्य कुनै पनि तरिकाबाट असम्भव हुने प्रस्तुतिलाई पनि सम्भव र जस्ताको तस्तै प्रस्तुत पनि गर्न सक्छ ।
नेपालमा ‘एनिमेसन’ विधि र प्रविधिको सुरुवात भएको करिब दुई दसक हुन लागिसकेको भए पनि यस सम्बन्धमा कुनै पनि ध्यान दिन योग्य विकास भने भएको छैन । ‘एनिमेसन’ सम्बन्धी आवश्यक ज्ञानको अभाव, यसको फाइदाका बारेमा अनभिज्ञाता, अध्ययन पनि महँगो र दक्ष जनशक्तिको अभाव ‘एनिमेसन’ जस्तो वर्तमानको अतिआवश्यक विधाले उचित विकास लिन नसकेको बताउँछन् नीरज थपलिया । उनले एनिमेसनको क्षेत्रमा काम गरेको करिब १८ वर्षभन्दा धेरै भयो । यही समयको अनुभवबाट उनलाई नेपालमा ‘एनिमेसन’ मा काम गर्ने दक्ष जनशक्तिको अभाव महसुस भएर नै उनीलगायत अन्य सहकर्मीको समेत संलग्नतामा संभवत नेपालमा नै पहिलो एनिमेसन एकाडेमी ‘इक्लिप्स’ सञ्चालनमा ल्याएका छन् । करिब दुई महिना अघिमात्रै सञ्चालनमा आएको यो एकाडेमीले एनिमेसनका हालसम्म उपलब्ध सबै ज्ञान हस्तान्तरणमा प्रशिक्षार्थीहरूलाई सहयोग गर्ने उनको दाबी छ । नीरजले यस क्षेत्रमा काम गरेबापत विज्ञापनको क्षेत्रमा नेपालमा नै सम्मानित कृति आवर्डमा आधा दर्जनभन्दा धेरै उत्कृष्टका सम्मान पनि पाइसकेका छन् । उनले हालसम्म करिब ७ सयभन्दा धेरै प्रकारका टेलिभिजन र अन्य माध्यमका लागि विज्ञापन तयार गरिसकेका छन् ।
“नेपालमा एनिमेसनमा काम गर्ने दक्ष जनशक्तिको ज्यादै अभाव छ,” उनी भन्छन्, “तर यससम्बन्धी उचित जानकारी, यसको बजार र यसबाट प्राप्त हुने करिअरको सफलताका बारेका धेरैलाई ज्ञान नभएकाले यसतर्फ सबैको आकर्षण पुग्न सकेको छैन ।”उनको एकाडेमीले २० महिनाको एनिमेसन प्याकेजका लागि करिब २ लाख ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ । महँगो भएर सबैले यसतर्फ चासो नदिएका हुन् कि भन्ने प्रश्नमा इक्लिप्स दिवेशमान मास्केले भने, “एनिमेसन आफैंमा महँगो विधा हो । यसमा प्रयोग हुने प्रविधि, यसलाई खर्चनुपर्ने समय र एनिमेसनका विभिन्न चरणमा खर्चनुपर्ने सफ्टवेरका लागि धेरै मूल्य पर्ने हुन्छ । विदेशमा एनिमेसन सिक्दा लाग्ने खर्चको तुलनामा नेपालमा त्यो ज्यादै थोरै हो । तर नेपालमा पनि विदेशीस्तरकै एनिमेसनको पढाइ सम्भव छ ।”
अन्तर्राष्ट्रियस्तरमा एनिमेसन सहितका चलचित्रहरू दिन दिनै निर्माण हुने क्रम बढेको र त्यस्ता चलचित्रहरू अन्यको तुलनामा लोकप्रिय समेत बन्ने गरेका छन् । यस्तोमा नेपालमा पनि एनिमेसनको भविष्य राम्रो रहेको दिवेश र नीरजको दाबी छ । केटाकेटीहरूबीच ज्यादै लोकप्रिय हुने टेलिभिजन कार्टुनहरू पनि एनिमेसनकै उपज हुन् । एनिमेसनको माध्यमबाट कुनै पनि आकृति तयार गर्न, त्यसलाई कुनै पनि तरिकाले चलाउन, तोड्न, मोड्न, रंग्याउन, प्रकाश र आवाज भर्न संभव हुन्छ । यसमा कुनै पनि सजीव प्राणीको प्रयोग अनिवार्य भने हुँदैन । तर, चाहेअनुसारका मानव, प्राणी र जीवजन्तुका आकृति, अनुहार आवाज भनेजस्तै र दुरुस्त रूपमा प्रयोग गर्न भने सकिन्छ ।
कुनै पनि कथाअनुसार एउटा एनिमेसन तयार गर्नका लागि कथा लेख्ने, कथाका लागि आवश्यक चरित्र, स्थानको चित्र उतार्ने, उत्पादनको चरणमा गरिने मोडेलिङ रिगिङ, प्रकाशको प्रयोग गरिने लाइटनिङ विधि, रेन्डरिङ, कम्पोजिटिङदेखि सम्पादन तथा इडिटिङसम्मका चारणमा खर्चनुपर्ने प्रविधि, सफ्टवेर, समय र अन्य विभिन्न पक्षका कारण यो विधि अन्यभन्दा केही महँगो भने हुने गरेको छ । तर पनि यसको प्रयोग अपरिहार्य हुँदा अर्को विकल्प भने छैन ।
एनिमेसनको प्रायोग हिजोआज केही विज्ञापनमा फाट्ट–फुट्ट देखिन थालेको भए पनि यसको धेरै प्रयोग हाउजिङ कम्पनीहरूले ज्यादा गर्न थालेका छन् । हाउजिङ कम्पनीहरूले आफ्ना भविष्यमा तयार गरी उपभोक्तालाई हस्तान्तरण गर्ने घर र अपार्टमेन्टको जस्ताको तस्तै बाहिरी संरचना र आन्तरिक सजावट देखाउनका लागि एनिमेसन सबैभन्दा प्रभावकारी तरिका हुने गरेको छ । त्यसैगरी विभिन्न उत्पादन उत्पादक कम्पनी र आयता निर्यातकार्ताहरूले पनि आफ्ना उत्पादनको बजारीकरणका लागि थ्री–डी एनिमेसनमा तयार गरिने टेलिभिजन कमर्सियलहरूको संख्यामा भएको वृद्धिले पनि एनिमेसनको सम्भावनालाई बढाएको छ । ज्यादाभन्दा ज्यादा प्रयोगात्मक बन्दै गएको शैक्षिक शिक्षण पद्धतिको विकासले पनि एनिमेसनमार्फत विभिन्न प्रकारका सूचना, ज्ञान र जानकारी प्रदान गर्ने चलनलाई दिएको बढवाले पनि एनिमेसनको महत्व आउँदा दिनमा अझ बढ्ने देखिएको छ । विज्ञानको सबैभन्दा पछिल्लो आविष्कार एनिमेसन र थ्री–डी एनिमेसन नेपालका कुनै पनि शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश नभएकाले यससम्बन्धी ज्ञान लिने एकमात्रै माध्यम भनेको जमलमा अवस्थित इक्लिप्स जस्तै अन्य तालिम प्रदान गर्ने संस्था नै हुन् ।
कारोबार दैनिक