‘दक्षिण एसियाकै ठूलो’ गाई फार्म फागुनदेखि

- दिलबहादुर केसी

यही फागुनदेखि दोलखाको बोचमा ‘दक्षिण एसियाकै ठूलो’ आधुनिक गाई फार्म सञ्चालन हुने भएको छ । अहिले कालिञ्चोक काउ फार्म एन्ड रिसर्च सेन्टर एकैपटक १ हजार गाई अटाउने गरी २५० मिटर लामो र १२० मिटर चौडा गोठ निर्माणमा जुटिरहेको छ । १५ हेक्टरमा फैलिएको यो फार्मको प्रारम्भिक लगानी २५ करोड रुपैयाँ छ भने पुँजी वृद्धि गरी १ अर्ब पु¥याउने योजना छ ।
फार्म सञ्चालक लालकुमार केसीका अनुसार फार्मको ५ सय रोपनी जग्गामा गोठ, आवास गृह, कार्यालय, गोदाम तयार भइरहेको छ । सार्वजनिक–निजी साझेदारीको मोडेलअनुसार निर्माणाधीन फार्ममा निजी क्षेत्रका साथै गाविस, सामुदायिक वन उपभोक्ता समूहको पनि सेयर लगानी हुनेछ ।
केसीका अनुसार दक्षिण एसियाअन्तर्गत भारत हरियाणाको ७ हेक्टर क्षेत्रफलमा फैलिएको फार्म नै अहिलेसम्मको ठूलो गाई फार्म हो । त्यहाँ गोठमात्रै भए पनि नेपालमा प्रयोगशाला, दाना र ब्रिडिङको समेत व्यवस्था हुने उनले बताए ।
दुई वर्षअघिबाट निर्माण सुरु भएको फार्मको काम अन्तिम चरणमा पुगेको छ । “फागुनदेखि गाई ल्याउनेछौं,” केसीले भने, “तत्काल सबै तयारी पूरा नहुने भएकाले पहिलो चरणमा २ सय माउ र २ सय बाच्छाबाच्छी ल्याउनेछौं ।” सबैभन्दा बढी दूध दिने होलस्टन फ्रिजन जातको गाई ल्याउने तयारी भइरहेको उनले बताए । “गाईका लागि चिनियाँ फार्महरूसँग सम्पर्क भइरहेको छ,” उनले भने ।
चीनका केही गाई फर्मको अध्ययनपछि नेपालमा यसको पहल थालिएको केसीले बताए । “पछिल्लो समय तिब्बततिर पनि यस्ता फार्म भएकाले यहाँको हावापानी सुहाउँदा गाई ल्याउने तयारी गर्दैछौं,” उनले भने । केसीका अनुसार भारतीय दूध प्रतिस्थापन गर्ने प्रमुख लक्ष्य राखेर फार्म निर्माण गरिएको हो । “नेपालका सहरी क्षेत्रमा दैनिक ५ लाख लिटर दूधको माग भए पनि स्वदेशको उत्पादनले पु¥याउन नसकेर दैनिक १ लाखभन्दा बढी लिटर दूध भारतबाट आयात गर्नु परिरहेको छ,” उनले भने, “हामीले त्यसलाई प्रतिस्थापन गर्नेछौं ।”

घाँसका लागि फार्मले बोच र लाँकुरीडाँडाका ६ वटा सामुदायिक वन उपभोक्ता समूहसँग १ हजार ५ सय १ हेक्टर जग्गा लिजमा लिइसकेको छ । जग्गाका खाली ठाउँमध्ये ५ सय रोपनीमा उन्नत जातका घाँस एक वर्षअघि नै रोपिसकिएको छ । आउँदो वर्ष त्यही घाँसको विरुवाबाट अन्यत्र विस्तार गरिने केसीले बताए । नेपालका विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्र र भुटानबाट समेत १९ जातका घाँसका विरुवा ल्याएर रोपिएको जानकारी उनले दिए ।
कारोबार दैनिक