व्याप्त बेरोजगारीबाट घरेलु दक्ष जनशक्ति पलायन हुन नदिन र आईटी क्षेत्रबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत केन्द्रीय आईटी विभागका विद्यार्थीहरूले ‘स्वरोजगारका निम्ति आईटी क्रान्ति’ नामक अभियान छेडेका हुन् । उनीहरूले आईटीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी विज्ञ, सरोकारवाला तथा विद्यार्थीहरूलाई सो अभियानमा जोड दिन आग्रह गरेका छन् ।
“बेरोजगारी समस्याको विकल्प आईटी क्षेत्र पनि हो, त्यसैले स्वरोजगारका लागि आईटी क्रान्तिको अभियान भनेका हौं,” त्रिभुवन विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका अध्यक्ष सुशान्त पौडेलले बताए । उनका अनुसार, नेपालको अर्थतन्त्रका प्रमुख स्रोत कृषि र पर्यटनमा सूचना प्रविधिको विकास गर्न सकियो भने स्वरोजगारीको सिर्जना हुन्छ । यसबाहेक बेरोजगारी समस्या न्यूनीकरण गर्न, दैनिक जीवनलाई सहज बनाउन र उच्च अर्थतन्त्र वृद्धिका लागि पनि आईटी क्रान्ति हुनु आवश्यक मानिन्छ ।
सहरी क्षेत्र र दुर्गम गाउँमा बस्ने मानिसहरूबीच रहेको सूचना प्रविधिमाथिको पहुँच दूरीलाई कम गर्नुनै छोटो शब्दमा आईटी क्रान्ति भनिन्छ । जसले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएको दूरीलाई कम गर्नसमेत आईटी क्रान्तिबाट सम्भव देखिन्छ ।
१७ औँ शताब्दीको कृषि अर्थतन्त्रलाई औद्योगिक क्रान्तिले जसरी औद्योगिक अर्थतन्त्रका रूपमा स्थापित ग¥यो त्यसरी नै आईटी क्रान्तिले अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै समाजलाई आर्थिक सशक्तीकरणको गोरेटोमा डो¥याउन सक्छ । उच्चस्तरीय सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईका विचारमा नेपाल आईटी विकासका लागि उर्बर भूमि हो । “भारतको तुलनामा विदेशी आईटी कम्पनीको काम (आउट सोर्सिङ) कार्य नेपालबाट गरे सूचना प्रविधि सामग्री ३५ प्रतिशत सस्तो हुन्छ,” उनले भने ।
अध्यक्ष सुशान्त पौडेलका अनुसार आईटी क्रान्तिलाई सशक्त पार्न संविधानमा नै सूचना प्रविधि शिक्षालाई मौलिक शिक्षा बनाइनुपर्छ । विद्यालय तथा १० जोड २ सम्मका शैक्षिक संस्थामा कम्प्युटर शिक्षा अनिवार्य गर्ने भनिए तापनि समग्र रूपमा कार्यान्वयन हुन सकेको छैन ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनद्वारा १ सय ५९ मुलुकमा गरिएको सूचना प्रविधिसम्बन्धी सर्वेक्षणमा नेपाल १४२ औँ स्थानमा छ । ‘मेजरिङ दी इन्फरमेसन सोसाइटी २०१०’ ले सार्वजनिक गरेको तथ्यांकमा सूचना प्रविधि सूचकांक १.०४ बाट बढेर १.३४ पुगेको देखाएको छ । कछुवा गतिमा भइरहेको आईटी विकास भए पनि सकारात्मक छ ।
सहर केन्द्रित आईटी
सहरी क्षेत्रमा बस्ने मानिसहरूमा सूचना प्रविधिको धेरथोर पहुँच भए तापनि ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच हुन सकेको छैन । नेपालमा हाल ३ सय ६८ लाइसेन्स प्राप्त एफएम रेडियो स्टेसन छन्, जसमध्ये २ सय ९६ सञ्चालनमा छन् । अधिकांश काठमाडौं, पोखरा, विराटनगर, बुटवललगायतका ठूला सहरभित्र सीमित छन् । त्यस्तै पत्रपत्रिका र टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक सहर केन्द्रित छन् । सयभन्दा बढी आईटी कम्पनीमध्ये उच्च आईटी क्षमताका २० वटा कम्पनी राजधानीमै सीमित छन् । जसमा करिब १ हजार २ सय ५० कर्मचारी मात्र कार्यरत रहेको अनुमान गरिएको छ । सहरी क्षेत्रमा बस्ने मानिसहरूमा सूचना प्रविधिको धेरथोर पहुँच भए तापनि ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच र प्रयोग हुन सकेको छैन । मुलुकको आर्थिक, सामाजिक र समग्र विकासका लागि यो विषय बाधक हुने सरोकारवाला बताउँछन् ।
अमेरिका, कोरिया, भारत र चीनको अर्थतन्त्रमा उल्लेख्य मात्रामा प्रगति हुनुको कारक तत्वका रूपमा आईटी क्षेत्रलाई लिइन्छ । सन् १९९० मा युरोपेली क्षेत्रको प्रगति उत्पादकत्व वृद्धिमा करिब ५० प्रतिशत र यही दशकको अन्त्यसम्म आउँदा अमेरिकाको उत्पादकत्व वृद्धिमा ७४ प्रतिशत योगदान सूचना प्रविधि क्षेत्रले पु¥याएको देखिन्छ । छिमेकी मुलुक भारतको कुरा गर्दा १९९८ मा भारतको कुल ग्राहस्थ आयमा एक दशमलव दुई प्रतिशत आईटी सेक्टरको भूमिका रहेकामा २००७ सम्म आउँदा कुल ग्राहस्थ आयको पाँच दशमलव दुई प्रतिशतले आईटी सेक्टरले भूमिका खेलेको छ ।
कारोबार राष्ट्रिय आर्थिक दैनिक